लिज अवधि सकिएको करिब ११ महिनापछि नेपाल ट्रस्टको कार्यालयको स्वामित्वमा रहेको पुतलीसडकस्थित काठमाडौं प्लाजा खाली हुने भएको छ । जग्गा लिजमा लिएको कम्पनी कन्सेप्ट डेभलपर्सले ३५ दिनभित्र भवन खाली गराउने पत्र नेपाल ट्रस्टलाई बुधबार पठाएको छ ।
ट्रस्टको कार्यालयले बल प्रयोग गरी भवन खाली गराउने र कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेपछि भवन गाली गराउन ऊ तयार भएको हो । गत २ असारमा सो कम्पनीसँग लिज अवधि सकिएको थियो ।
ट्रस्टको कार्यालयले सो भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने तयारी गरेको छ । मासिक करिब ६० लाख भाडामा भवन दिन लागिएको छ । त्यसविरुद्ध अदालतमा मुद्दा परेकाले सम्झौता हुन सकेको छैन । असारदेखि नेपाल ट्रस्टले भाडासमेत पाउन सकेको छैन । ‘अबका ३५ दिनभित्र भवन खाली गराउने कम्पनीले जानकारी गराएको छ,’ ट्रस्ट कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले भने, ‘खाली भए पनि नयाँ लिज प्रक्रियाबारे निर्णय हुनेछ ।’
सो भवनमा ट्रस्टले हाल वार्षिक ७५ लाख रुपैयाँ मात्र पाउँदै आएको छ । ट्रस्टले गराएको मूल्यांकनमा मासिक नै करिब ६० लाख भाडा आउने प्रतिवेदन आएको छ ।