१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २० मंगलबार
  • Sunday, 29 September, 2024
रमेश रावल वीरेन्द्रनगर
२o७७ माघ २० मंगलबार १६:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्पष्ट नभएको संविधानमा मात्र विदेशी अनुभव लिने अदालतको चलन छ : न्यायाधीश कार्की 

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ माघ २० मंगलबार १६:३७:oo

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले सामाजिक सञ्जाल र मिडियामा भाइरल भएका समाचारका कारणले अदालतप्रति विश्वास घट्दै गएको बताएका छन् । न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका विषयमा विस्तृत अध्यायन गर्न बनेको समितिले सुर्खेतका पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा न्यायाधीश कार्कीले सामाजिक सञ्जाल र मिडियामा भाइरल भएका समाचारका कारणले अदालती प्रक्रियामा प्रभाव पर्ने गरेको बताएका हुन् ।

कतै आफ्नोबारेमा गलत समाचार आउने हो कि भन्ने डर न्यायाधीशलाई लाग्न थालेका कारणले पनि न्यायाधीशहरूले असुरक्षित भएको महसुस गर्न थालेको कार्कीले बताए । ‘न्यायमूर्तिहरूमा त्रासको वातावरण सिर्जना भएको छ,’ उनले भने, ‘न्यायाधीश तर्सित भए उनीहरूले कसरी सही न्याय दिन सक्छन् ।’

कुनै विषयमा अदालतमा मुद्दा दायर हुँदा पक्ष र विपक्षमा सडकमा नारा लाग्ने गरेको कार्कीले बताए । ‘अदालतमा कुनै मुद्दा आउँदा त्यसको पक्ष र विपक्षमा जुलुस र प्रदर्शन हुन्छ,’ उनले भने, ‘न्यायाधीशले मिसिल हेर्ने कि, कानुन हेर्ने कि जुलुस हेर्ने ? कसरी न्याय दिने ?’

सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धीका मुद्दाका विषयमा अहिले कुनै प्रतिक्रिया नदिने उनले बताए । ‘अदालत संविधानको व्याख्याता मात्र हो । हाम्रो संविधानमा सबै विषय क्लियर गरेको छ । सबै विषयमा क्लियर व्याख्या गरेको र सबैभन्दा ठूलो पानाको संविधान हो,’ उनले भने, ‘स्पष्ट नभएको संविधानमा मात्र विदेशी अनुभव लिने अदालतको चलन रहेको छ ।’

राजनीतिक दलहरूको दबाबका कारणले पनि न्यायालय प्रभावका पार्ने काम भएको न्यायाधीश कार्कीले बताए । ‘कुन कुनाका कुन न्यायाधीशसँग राजनीतिक दलले दबाब दिन्छ,’ उनले भने, ‘त्यसले पनि न्यायालयलाई कहीँ न कहीँ प्रभाव पार्ने काम गर्छ । यसमा न्यायाधीश सचेत हुन जरुरी देखिएको छ ।’

पीडितले न्याय नपाउनुमा सुरुदेखिको अनुसन्धानले केही न केही प्रभाव पार्ने गरेको उनले बताए । ‘सुरुमा अभियोजन गर्ने पक्षले एउटा भनेर अभियोजन दर्ता गरेको हुन्छ,’ उनले भने, ‘अदालतमा जाँदा त्यो विषयमा नै अन्यन्त्र मोडिएर प्रस्तुत हुन्छ । त्यसले पनि वास्तविक पीडितले न्याय पाउँदैन् । अबका दिनमा वैज्ञानिक न्याय प्रणाली आवश्यक रहेको छ ।’