मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३ शनिबार १५:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार कामचलाउ भइसक्यो, अब बजेट बाँड्न पाउँदैन : डा. महत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३ शनिबार १५:२०:००

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले सरकार काम चलाउ भइसकेको बताएका छन् ।

‘यो सरकार कामचलाउ भइसक्यो, अब यो सरकारले जथाभावी नियुक्ति र बजेट बाँड्न पाउँदैन, यसले कामचलाउकै हैसियतमा काम गर्नुपर्छ,’ सहमहामन्त्री डा.महतले भने । 

प्रतिनिधिसभा विघटनको विरोधमा ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शनको कार्यक्रमअन्तर्गत शनिबार ललितपुर महानगरपालिकामा कांग्रेसले गरेको विरोधसभामा बोल्दै सहमहामन्त्री डा. महतले यदि सर्वोच्च अदालतले ओलीको निर्णयलाई सदर गर्‍याे भने कांग्रेसले सबै ध्यान चुनावमा लगाउने बताए । 

‘अहिले संसद् पुनर्स्थापना नभए, चुनाव पनि हुँदैन कि ? भन्ने शंका छ । वैशाखमा निर्वाचन हुनैपर्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनैपर्छ । यदि वैशाखमा चुनाव भएन भने देशभरि आन्दोलनको आँधीबेहरी आउँछ,’ उनले भने, ‘त्यसपछि यो सरकार ढल्छ ।’ 

सहमहामन्त्री डा.महतले ओलीले देशलाई अराजकताको बाटोमा लान खोजेमा वा निर्वाचन सुनिश्चित हुने अवस्था भएमा कांग्रेसले आन्दोलनको नेतृत्व गर्ने बताए । 

उनले देशमा कम्युनिस्ट नेतृत्वको सरकार आएपछि एकपछि अर्को भ्रष्टाचारका काण्डहरू घटेको बताए । 

‘कोरोनाको महामारी छ, जनताले उपचार नपाएर मर्नुपर्ने अवस्था छ । तर, सरकारको ध्यान भ्रष्टाचारमा छ, स्वास्थ्यसामग्री खरिद प्रकरणमा व्यापक भ्रष्टाचार भएको छ, उपप्रधानमन्त्रीको नेतृत्वमा बनेको समितिले नै भ्रष्टाचारको अगुवाइ गर्‍याे, एकपछि अर्को भ्रष्टाचारको काण्ड घटेका छन्,’ डा.महतले भने, ‘अहिले लाख करोडको होइन, अर्बको दरमा भ्रष्टाचार हुन थालेको छ ।’ 

सहमहामन्त्री डा. महतले कांग्रेसले विज्ञापन गर्न नजानेका कारण चुनावमा पराजित भएको बताए । 

‘ओलीले गफ गर्न जान्दछन्, जनतालाई झुक्याउन जान्दछन् । तर, यो देशमा नेपाली कांग्रेसको काम विकेन, कम्युनिस्टकाे कुरो बिक्यो,’ उनले भने, ‘कांग्रेसले गाउँ–गाउँमा स्कुल पुर्‍याे, सडक पुर्‍याे, विद्युत् पुर्‍यायो, संविधान बनायो, कांग्रेसका नेताहरू काम गर्छन्, अहिले हामीलाई लाग्न थालेको छ, काम गरेर मात्रै नहुने रहेछ, विज्ञापन गर्नुपर्ने रहेछ ।’ 

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतले नेपाल शक्ति राष्ट्रहरूको चलखेलको अखडा भएको बताए । 

‘संसारभर दुई सयभन्दा देशहरू छन्, ९० प्रतिशत देशहरूमा निर्वाचनबाट सरकार बन्छ, कहीँ पनि कम्युनिस्टहरू बिक्दैनन्, सरकारमा छैनन् । तर, नेपालमा कम्युनिस्टले जितिराखेका छन्, हामी कम्युनिस्टकाे गफमा विश्वास गरिरहेका छौँ,’ डा.महतले भने, ‘गफ गरेर त पानीजहाज आउँदैन नि, गफ गरेर त सुखी नेपाली संमृद्ध नेपाल बन्दैन नि । साँचो अर्थमा सुखी नेपाली संमृद्ध नेपाल बनाउनका लागि कांग्रेस तपाईंहरूको अगाडि छ, कांग्रेसलाई साथ दिनुस् ।’