मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २७ सोमबार
  • Thursday, 19 December, 2024
नाभहो नेसनको एरिजोना खण्डमा पर्ने एक सामुदायिक बारीमा ३९ वर्षीया आर्टी याजी । तस्बिर : जोन बरचम/द न्युयोर्क टाइम्स
ओसे आन्द्रे
२o७७ पौष २७ सोमबार o७:४९:oo
Read Time : > 4 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२१ प्रिन्ट संस्करण

खाद्य मन्त्रालय किन आवश्यक छ ?

सबैका लागि खाद्य सुरक्षाविना अमेरिका महामारीको प्रभावबाट कहिले पनि बाहिरिने छैन

Read Time : > 4 मिनेट
ओसे आन्द्रे
नयाँ पत्रिका
२o७७ पौष २७ सोमबार o७:४९:oo
आन्द्रे वर्ल्ड सेन्ट्रल किचनका  संस्थापक तथा सेफ हुन्

म  सेफ हुँ र म धेरैभन्दा धेरै मानिसलाई खाना पुर्‍याउने कुरामा विश्वास गर्छु । त्यसैले वर्षको सुरुमा जब अमेरिकामा पहिलो लकडाउन लागू भयो, तब वर्ल्ड सेन्ट्रल किचनका मेरो टिमले धेरै मानिसलाई खुवाउने स्थल खोज्न थाल्यौँ । 
यो खोज्न अत्यन्त प्रतिभाशाली हुनुपर्दैन ।

कोभिड– १९ को प्रभावबाट सबैभन्दा प्रभावित समुदाय पहिलेदेखि गरिबी तथा आर्थिक अन्यायबाट पीडितहरू हुन् । अमेरिकाको पश्चिमी क्षेत्रमा रहेको नाभहो नेसन यसैको उदाहरण हो । तिनको भूभाग हाम्रा दश राज्यभन्दा ठूलो क्षेत्रमा फैलिएको भए पनि अमेरिकी कथामा उनीहरू सधैँ बिर्सिइन्छन् । 

नाभहोहरूले जमिनलाई डिनेता भन्ने गर्छन् । यसको शाब्दिक अर्थ ‘मानिसमाझ’ भन्ने हुन्छ । मध्य–मेबाट महमारीले उनीहरूलाई नराम्ररी प्रभावित गर्न थाल्यो । सो क्षेत्र अमेरिकाको सबैभन्दा बढी संक्रमण दर भएको क्षेत्र थियो । अन्य कोरोना भाइरस प्रभावित क्षेत्रजस्तै यो अवस्था कुनै दुर्भाग्यले मात्र निम्तिएको थियो । नाभहो क्षेत्रका एकतिहाइ घरमा नियमित पानी आउँदैन । झन्डै आधा परिवार गरिबीको रेखामुनि जीविकोपार्जन गर्छन् । 

एरिजोनास्थित फोर्ट डिफेन्समा हाम्रो सहायता समूहले सातामा १५ सय परिवारका लागि दैनिक खानाका बस्क बनाउन सहयोग गथ्र्यो । समूहमा सोफिया एन्जुन्जाजस्ता स्थानीय विद्यार्थी पनि सहभागी थिए । काम गर्ने क्रममा उनलाई यो सामान्य ज्याला आउने काम मात्र लागेन । ‘यो मेरो समुदायका मानिसको समस्या कम गर्न गरिएको सहयोग हो,’ उनले बताइन्, ‘खाना हाम्रो समुदायका मनिसको लागि प्रकृति हो । हामीहरू गहुँ उब्जाउँछौँ । खाना माया हो । जीवित रहनका लागि हामीले खानैपर्छ ।’

तयार खानाले त्यसको बनाउने परिकार मात्र बताउँदैन । संकटको समयमा यो कसैको जीवन हुन्छ । सामान्य समयमा खानाले परिवार र साथीभाइलाई एकजुट गराउँछ । खानामा हालिएका मरमसलाले हामीलाई स्वास्थ्य वा बिरामी बनाउन सक्ने क्षमता हुन्छ । थालमा दिइएको पाकेको खानालाई कुकले मात्र होइन, राजनीति र व्यवसायले पनि आकार दिएको हुन्छ । 

यो महामारीको वर्षले हामीलाई धेरै बिर्सिसकेका वा बेवास्ता गरिएका चिजको सम्झना गराएको छ । तर, यसले अगाडिको मार्ग पनि देखाउँछ । यस्तो दिन पनि आउला जब सबै अमेरिकीलाई समान रूपमा खुवाउन सकियोस् । मेरो विचारमा हाम्रो मूलमा फर्किएर हामीले आफू र हाम्रो समुदायका लागि सुन्दर भविष्य निर्माण गर्न सक्छौँ । 

क्वारेन्टिनले हाम्रो जीवनशैलीमा अवरोध पुर्‍याएपछि हाम्रो खाद्य अर्थतन्त्र धराशयी बन्यो । रेस्टुरेन्ट र होटेलहरू बन्द भए । खाद्य सप्लाई चेन टुट्यो । सुपरमार्केटले होम डेलिभरी प्रदान सक्न संघर्ष गर्नुपर्‍यो । किसानहरूले आफूले फलाएका अन्न र पालेको जनावर मार्नुपर्ने स्थिति आयो । लाखौँको संख्यामा अन्डा, करोडौँ ग्यालन दूध, करोडौँ पाउन्ड आलु सबै खेर गए । 

कोभिड– १९ अघि नै विज्ञलाई हाम्रो राष्ट्रिय खाद्य नीतिको कमजोरीबारे जानकारी थियो । महामारीपछि यो कुरा सबैको नजरमा आयो । अमेरिकी सरकारको सबैभन्दा उच्च तहमा प्रकोपको समयमा काम गर्नका लागि विभिन्न निकाय छन् । राष्ट्रिय सुरक्षा, आर्थिक नीति, जनस्वास्थ्य तथा कृषि क्षेत्रमा उच्च निकाय हुँदा खाद्य नीतिको बृहत्तर हिसाबमा समन्वय गर्ने कुनै अधिकारी छैनन् । यसले हाम्रो खाना हाम्रो राष्ट्रिय नीतिको प्राथमिकतामै नरहेको देखाउँछ । जब कि हामीहरू सबै आफ्ना सवारीसाधन चलाउने ऊर्जामा भन्दा हाम्रो शरीरलाई ऊर्जा दिने ऊर्जामा बढी लगानी गरिरहेको हुन्छौँ । 

म्यारिल्यान्डको सिल्भर स्प्रिङस्थित किङडम फेलोसिप एएमई चर्चअघिको खानाको लाइन  तस्बिर : चेरिस मे/न्युयोर्क टाइम्स

जब महामारी आयो, तब अमेरिकी कृषि मन्त्रालयको जिम्मेवारी हेर्ने डिपार्टमेन्ट अफ एग्रिकल्चरले किसानहरूको आपत्कालीन सहयोगका लागि १६ अर्ब डलर छुट्यायो । किसानहरू त्यो समय आफ्ना कुहिँदै गएका अन्न नष्ट गरिरहेका थिए । तर, सरकारले कृषि उत्पादन, डेरी उत्पादन तथा मासु किनेर गरिबमा वितरण गर्न जम्मा तीन अर्ब डलर मात्र खर्च गर्‍यो । भाइरसको विस्तार रोक्न रेस्टुरेन्टहरू बन्द गरिँदा तिनमा रोजगार रहेका झन्डै १.२ करोड अमेरिकी बेरोजगार भए । तर, यो क्षेत्रलाई आर्थिक उत्थानका लागि अनुदान दिइएन । सात लाख मानिसलाई रोजगार दिएको हवाईसेवा क्षेत्रले भने २५ अर्ब डलर अनुदान मात्र पाएन, महामारीमाझ पनि उडाउन अनुमति पाएको थियो । 

कोरोना भाइरस महामारीले पहिलेदेखि संकटग्रस्त खाद्य उद्योगमा समस्या थपिदिएको छ, यसले विकराल भोकमरी तथा खाद्य संकट निम्तिँदै छ

अमेरिकी सेन्सस ब्युरोका अनुसार जुलाई अन्तिममा तीन करोड अमेरिकी वयस्कले पुग्ने खाना नपाइरहेका थिएनन् । खाद्य बैंक तथा हाम्रो किचेनबाहिर घन्टौँ लामो लाइन देखिन्छ । तर, संघर्षरत कंग्रेसले खानाका स्ट्याम्प अनुदानमा १५ प्रतिशत बढाउन पनि सहमति जनाउन सकेन ।

त्यसो गरिएको भए चारजनाको परिवारलाई खुवाउन छुट्याइएको ५.४८ डलरमा ८० सेन्ट मात्र बढाउने थियो । यी सबै कुराले हाम्रो झारा टार्ने खालको खाद्य नीतितर्फ मात्र इंगित गर्छ । हामीहरू मकै, सोयाबिन, गहुँ, धान, सरगम, दूध र मासुका कच्चा पदार्थ उब्जाउने किसानलाई अर्बौँ डलर अनुदानका रूपमा दिने गर्छौँ । तर, राष्ट्रिय विद्यालय खाजा कार्यक्रमले प्रतिविद्यार्थी प्रतिखाजा ३.६८ डलर दिने गर्छ । 

यथार्थमा भोक र हाम्रो स्वास्थ्य चिकित्सकीयभन्दा पनि राजनीतिक विषय बनेको छ । हामीलाई हाम्रो स्वास्थ्य मुद्दा कसरी समाधान गर्ने भन्ने थाहा छ । मुख्य समस्या नेतृत्वमा देखिन्छ । आगामी वर्ष हाम्रा काँधमा अमेरिकी नेतृत्वलाई पकाउने र खुवाउने जिम्मेवारी आइपर्छ । अहिलेको यो संगीन मोडमा हामीले स्वस्थ्य भविष्य निर्माण गर्न सक्छौँ, जुन विश्वव्यापी धक्कालाई सहने गरी बलियो हुन्छ । 

कुनै एक उद्योगको उद्धारमा दिइने अनुदानको एक अंशमा हामीले अमेरिकाभर सार्वजनिक विद्यालयका भान्छामा सुधार गर्न सक्छौं । विपत्को समयमा हाम्रा विद्यालय सामुदायिक भान्छा बन्न सक्छन् । हामीले विद्यालयका कक्षा तथा चोकका पसलहरूमा खाद्य पूर्ति सुधार गरेर हाम्रा सबैभन्दा कमजोर परिवारको स्वास्थ्य उलेख्य सुधार गर्न सक्छौँ ।

नीजि दाता तथा गैरनाफामूलकहरूमा भरपर्नुभन्दा हाम्रा क्याफे तथा रेस्टुरेन्टलाई पुनः उठाउनका लागि हामी संघीय कोष खर्च गर्न सक्छौँ । संघीय आपत्कालीन व्यवस्थापन एजेन्सीले सोही समयमा वास्तविक खाद्य कार्यक्रमको खर्च बेहोर्न सक्छ ।

हामीले अनुदानलाई स्थानीय बजारमा स्वास्थ्य खाना बेचिरहेका साना फर्म तथा साना किसानलाई लक्षित गर्न सक्छौँ । युप्टोन सिंकलेयरले सिकागोको मासु प्याक गर्ने स्थानको फोहोर अवस्थाबारे खुलासा गरेको एक शताब्दीपछि हामीहरू हाम्रा अत्यावश्यक क्षेत्रका श्रमिकको जीवनस्तर सुधार्न सक्छौँ । 

सबैभन्दा मुख्य कुरा, हामीहरू नयाँ, क्याबिनेटस्तरको खाद्य तथा कृषि मन्त्रालयअन्तर्गत खाद्य नीतिलाई प्राथमिकता दिन सकिन्छ । यसलाई राष्ट्रिय सुरक्षा कोषमा एउटा सिट दिन सकिन्छ र जसलाई देशको आहारा सुधार गर्ने लक्ष्य दिन सकिन्छ ।

खराब खानाले स्वास्थ्य बिगार्छ भन्ने सबैलाई थाहा भएको हुँदा हाम्रो स्वास्थ्य सुधारको उत्कृष्ट मार्ग खानाको गुणस्तर सुधार हो भन्ने थाहा हुुनुपर्छ । हामीहरूले अहिलेको महामारीबाट उठ्ने मात्र होइन, अर्को महामारीका लागि तयारी पनि गर्नुपर्ने हुन्छ । जलवायु परिवर्तनले निम्त्याउने जोखिम छुट्टै छ । तिनलाई सम्बोधन गर्न सकियो भने हामीले भोक र अन्य धेरै कुरामा हस्तक्षेप गर्न सक्छौँ । 

महामारीमाझ मध्ये–क्यालिफोर्नियामा मेरो टिमले अमेरिकी अन्न उठाउने समूह युनाइटेड फार्म वर्कसका केही सदस्यलाई खाना तयार पारिरहेको थियो । ‘हामीहरू मानिसको भान्छामा खाना पु¥याउनका लागि धेरै मिहिनेत गर्छौँ । तर, हामीले नै खाना पाइरहेका छैनौँ,’ ब्लुबेरिज उठाउने क्यारोलिना एल्सटनले भनिन् । ‘खाना समुदायको भावना पुनर्विकास गर्ने सबैभन्दा छिटो मार्ग हो । हामीहरूले खानामार्फत मानिसलाई पुनः काममा फर्काउन सक्छौं । त्यस्तै हामीले भोकविरुद्ध लडेर जीवनलाई पुनर्बहाली तीव्र गराउन सक्छौं । हामीले सन् २०२१ मा संसार थप सुन्दर हुने आशा गर्न सक्छौँ र खाना बाँड्ने र देशलाई खुवाउनेभन्दा आशा केमा गर्न सकिन्छ ?