मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २६ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ पौष २६ आइतबार o९:o५:oo
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

विभाजन र ध्रुवीकरणले ल्याउने जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ पौष २६ आइतबार o९:o५:oo

प्रतिनिधिसभा विघटन गरेर आफ्नो दल पनि विभाजन गरेका प्रधानमन्त्री ओलीका कारण यतिवेला नेपाली समाज तीव्र ध्रुवीकरणको चपेटामा परेको छ । प्रतिनिधिसभाको विघटन संवैधानिक र राजनीतिक दुवै दृष्टिले नेपाललाई गन्जागोल र अस्थिरतातिर धकेल्ने पछिल्लो कदम हो भन्ने व्याख्या, विश्वास गरेर नागरिक समाज, राजनीतिक दलले विरोध गरेका छन् । यस्तो विरोध वक्तव्यबाजी, कोठेबैठक हुँदै सडकसम्म पुगेको छ । अचम्म के छ भने ०६० को वरपर राजा ज्ञानेन्द्रको ‘कु’ का विरुद्ध सडकमा निस्केको नागरिक समाजको मुख्य हिस्सा यतिवेला फेरि सडकमा निस्केको छ । ओलीको असंवैधानिक कदमको समर्थन गर्ने र विरोध गर्नेबीच समाज ध्रुवीकृत हुन पुगेको छ ।

समाजलाई एकताको सूत्रमा बाँधेर राख्ने संविधान च्यातेर आरम्भ भएको यो ध्रुवीकरणमुखी राजनीतिलाई वेलैमा परास्त गर्नु जरुरी छ 

उनी जहाँ जान्छन्, त्यहीँको समाजमा विभाजनको बिउ रोप्छन् । जस्तो कि कालो टोपी लगाउने या कालो मास्क लगाउने अथवा ‘निर्मलाको बालात्कारी खोइ’ भनेर प्रश्न गर्नेहरू ओलीको विपरीत खेमाका बनाइए र तिनलाई सभामा सहभागी हुन दिइएन । केहीलाई गिरफ्तार नै गरियो । उनले यो तीन वर्षमा बिग्रेको आफ्नो विकासे छवि र भर्खरै फाटेको राष्ट्रवादको टालो फेरि सिउने र कस्मेटिक लगाएर उजिल्याउने प्रयास गर्दै अर्को पक्षलाई राष्ट्रघाती भन्दै आरोपित गरे । स्वाभाविक रूपमा प्रधानमन्त्री ओलीको त्यस्तो अभिव्यक्तिले उनका पक्षकालाई उत्तेजित पार्छ र समाजमा विभाजनको रेखा कोर्छ । गण्डकीका मुख्यमन्त्रीले त बिग्रेको छवि उजिल्याउन प्रचण्ड–नेपाललाई राष्ट्रघाती घोषणा गर्दै नारा लगाउनसमेत लगाए । 

प्रधानमन्त्रीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला आउँछ भन्दै चर्को आवाज निकालेर अदालतलाई धम्काउने प्रयाससमेत गर्न भ्याए । यो समाजलाई ध्रुवीकरण गर्ने प्रयासकै पछिल्लो उदाहरण हो । प्रधानमन्त्रीको कदमलाई समर्थन गर्ने र नगर्नेबीच, आफू र पराईबीच, आफ्नो पक्ष र शत्रुपक्षबीचको भाष्य झिकेर विभाजनको रेखा कोर्नु भनेको अधिनायकवादी फासिस्ट नेताको आफूलाई सान्दर्भिक बनाइरहने एउटा राजनीतिक हतियार हो । अमेरिकालाई फेरि महान् बनाऊँ भन्ने राष्ट्रपति ट्रम्पको फासीवादी विचारले शक्ति आर्जन गर्दै जाँदा संसद्माथि आक्रमण गर्ने र नयाँ राष्ट्रपतिको शपथ कार्यक्रम बहिष्कार गर्नेसम्मको चरम अवस्थातिर अमेरिकी समाज पुग्यो । 

हिन्दू र मुस्लिमबीच, विजेपी समर्थक र विरोधीबीच शत्रुतापूर्ण विभाजनको राजनीतिको रेखा कोरेर सत्तारुढ भएका नरेन्द्र मोदीको शासनकाल भारतमा लोकतन्त्रको हुर्मत लिने र अल्पसंख्यकमाथि चरम दमन गर्ने कालखण्डमा परिणत भएको छ । यसले समाजलाई जे छ, त्यस रूपमा स्वीकार गर्दैन, आफू र अरूमा विभाजित गर्छ । यो विचारधाराले अरूलाई या त आफूमा समाहित हुन वा बिलाएर जान हाँक दिन्छ । यो मूलतः हिटलरका विचारको विस्तारित रूप नै हो । नेपालमा पनि पछिल्लो समय राज्यशक्तिको दुरुपयोग गर्दै ओलीले जे–जस्तो राजनीतिक अवस्थातिर देशलाई धकेल्दै लगेका छन्, त्यसले बहुलवाद, लोकतन्त्र, प्रतिस्पर्धा र सहअस्तित्वलाई अस्वीकार गर्छ । यो ध्रुवीकरण फासीवादकै उदयको एउटा पूर्वाभासजस्तो देखापर्छ । समाजलाई एकताको सूत्रमा बाँधेर राख्ने संविधान च्यातेर आरम्भ भएको यो ध्रुवीकरणमुखी राजनीतिलाई वेलैमा परास्त गर्नु जरुरी छ ।