१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टोकियो एजेन्सी
२०७७ पौष २५ शनिबार ०९:४७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलाडीलाई भ्याक्सिन पहिलो प्राथमिकतामा

Read Time : > 1 मिनेट
टोकियो एजेन्सी
२०७७ पौष २५ शनिबार ०९:४७:००

यसै वर्षको जुलाई महिनामा गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता टोकियोमा हुँदै छ । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि गत वर्ष नै आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष पछाडि धकेलिएको हो । नयाँ तालिका अनुसार २३ जुलाईदेखि ८ अगस्टसम्म टोकियो ओलम्पिक हुनेछ । 

यद्यपि यस वर्ष पनि निर्धारित समयमा ओलम्पिक हुने वा नहुने शंकाकै घेरामा छ । जापानमा दोस्रो चरणको कोरोना भित्रिसकेको छ । यससँगै जापान सरकारले विभिन्न सहरमा आपत्कालीन अवस्था जनाउँदै  लकडाउनको घोषणा एक महिनाअघि नै गरेको थियो । यसैबीच ओलम्पिकमा सहभागी हुने खेलाडीलाई पहिलो प्राथमिकतामा राखी कोभिड–१९ विरुद्धको भ्याक्सिन दिनुपर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का उपाध्यक्ष डिक पाउन्डले बताएका छन् । 

क्यानडाका नागरिक पाउन्ड लामो समयदेखि आइओसीमा कार्यरत छन् । बेलायतबाट प्रसारित हुने स्काई समाचार संस्थासँग कुराकानी गर्दै पाउन्डले ओलम्पिक आउन धेरै समय बाँकी रहेको र यसअघि खेलाडीलाई सुरक्षित बनाउन सम्बन्धित निकायले भ्याक्सिनको खोप पहिलो प्राथमिकतामा राखी वितरण गर्नुपर्ने धारणा राखेका हुन् । भन्छन्, ‘क्यानडाबाट तीन सय वा चार सय एथलेटिक्स सहभागी हुन सक्छन्, सरकारले दश लाख भ्याक्सिन अर्डर गरेको छ, हामीले खेलाडीलाई पहिलो प्राथमिकतामा राखी भ्याक्सिन दिने योजना बनाएका छौँ ।’ 

प्रत्येक राष्ट्रले फ्रन्टलाइनमा खटिनेहरूलाई भ्याक्सिन दिएजस्तै खेलाडीहरूलाई पनि त्यही वर्गमा राख्नुपर्ने माग पाउन्डले राखेका छन् । ‘खेलाडीको स्वास्थ्य सुरक्षाको दृष्टिकोण ध्यानमा राखी खोप दिनुपर्र्छ, मेरो विचारमा राष्ट्रलाई प्रतिनिधित्व गर्ने खेलाडीलाई नै पहिलो वर्गमा राख्नुपर्छ,’ आइओसीका पदाधिकारी पाउन्डले भने । गत वर्षको नोभेम्बरमा पाउन्डले आइओसीका अध्यक्ष थोमास बाचसँगै टोकियो भ्रमण गरेका थिए ।

ओलम्पिक सुरक्षित

बिहीबार मात्र जापानमा २ हजार चार सय ४७ जना व्यक्ति संक्रमित भएका छन् । यो दुई महिनाभित्र जापानमा कोभिड–१९ बाट तीन हजार सात सय व्यक्तिले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनको डाटाअनुसार जापान पनि कोभिड–१९ को दोस्रो लहर फैलिएको राष्ट्रमा पर्छ । अझ ओलम्पिक आयोजक सहर टोकियोमा एक महिनादेखि संकटकाल लागू छ । यस्तो अवस्थामा टोकियो ओलम्पिक सञ्चालन हुँदा खेलाडी तथा समर्थक कत्तिको सुरक्षित हुन्छन् भन्ने प्रश्न छ । 

तर, आयोजक कमिटीले टोकियो सहर ‘कोरोनाबाट सुरक्षित र भयरहित’ रहेको दाबी गरेको छ । सरकारले गत वर्षको अप्रिलयता एक दिनमा सर्वाधिक संक्रमित देखिएको बताए पनि टोकियो सहर सुरक्षित नै रहेको जनाएको छ । सरकारले टोकियो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । यसका साथै रेस्टुरेन्ट तथा बार रातिको ८ बजेपछि बन्द गर्नुपर्छ । 

खेलमैदानमा धेरैमा पाँच हजार समर्थक मात्र उपस्थित हुन पाउँछन् । कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा पनि टोकियोका सपिङ मल तथा स्कुल खुला नै छन् । बिहीबार टोकियो सहरमा ओलम्पिक टर्च प्रदर्शनमा राखिने कार्यक्रम थियो । तर,  यो स्थगित भयो । जापानका प्रधानमन्त्री योसिहिडे सुगाले ओलम्पिक प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । आइओसीका उपाध्यक्ष पाउन्डले विनाखोप खेलाडीलाई प्रतिस्पर्धामा उर्तानु दुर्घटना निम्त्याउनु बताएका छन् ।