जापानको सरकारले ग्रेटर (बृहत्तर) टोकियो क्षेत्रबाट अन्य क्षेत्रमा जान चाहने परिवारलाई प्रतिबालबालिका एक लाख येन (७५०० डलर) दिने योजना प्रस्ताव गरेको छ । सरकारले ग्रामीण क्षेत्रको जनसंख्याको कमीलाई उल्टाउने प्रयासमा यो कदम चालेको बताएको छ ।
सरकारले यसअघिदेखि नै टोकियोबाट बाहिर स्थानान्तरण हुनेलाई तीन लाख येन दिँदै आएको छ । अहिले बढेको रकम अप्रिलबाट लागू हुने जापानी मिडियाले बताएका छन् । हुन त कोरोना भाइरसका क्रममा बाह्य भेगका मानिस आफ्नो मूल स्थान फर्किंदा यो वर्ष टोकियोको जनसंख्या पहिलोपटक घटेको देखिएको थियो । तथापि नीति–निर्माताले टोकियोको जनघनत्व थप घटाउन आवश्यक भएकोमा जोड दिएका छन् ।
जापानका कैयौँ साना नगर तथा सहरमा हिजोआज बुढाबुढी मात्र देखिन्छन् । निरन्तरको जनसंख्या ह्रास र युवाहरूको टोकियो तथा ओसाकाजस्ता ठूला सहरमा बसाइँसराइ यसमा जिम्मेवार रहेको छ । स्थानान्तरणका लागि बढेको प्रोत्साहन रकम टोकियोको २३ ‘कोर’ वार्ड, अन्य महानगरीय भागलगायत साइतामा, चिवा, कानागावा वस्तीमा बसोवास गर्नेहरू लक्षित छ । रकम हासिल गर्नका लागि बृहत्तर टोकियो क्षेत्र बाहिर जानुपर्छ । तर, सहरको सिमानाभित्र पर्ने पहाडी क्षेत्रमा बसाइँ सर्नेले पनि नगद प्राप्त गर्न सक्ने क्योडो समाचार एजेन्सीले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । अधिकारीहरूले महामारीको समयमा धेरैले रिमोट वर्किङबाट(टाढाबाट काम गर्ने) देखेका फाइदालाई मध्यनजर गर्दै टोकियो बाहिरिने बढ्ने आशा गरेका छन् ।
सरकारी रकम लिएर केही समय बाहिर बसेर राजधानी फर्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कडा सर्त राखिएको छ । टोकियो छाडेर गएका नयाँ स्थानमा परिवारले कम्तीमा पाँच वर्षसम्म बस्नुपर्नेछ । पाँच वर्ष नपुग्दै टोकियो फर्किनेहरूले भने सरकारले दिएको नगद फिर्ता गर्नुपर्नेछ । अधिकारीहरूले नयाँ प्रोत्साहन रकमले १८ वर्ष उमेरसम्मका बालबालिका भएका परिवारहरू टोकियोबाट बाहिरिन प्रोत्साहित हुने बताइरहेका छन् । यस स्थानान्तरण कार्यक्रमले ग्रामीण भेगलाई नयाँ जीवन दिनुका अतिरिक्त घना टोकियोमा सार्वजनिक सेवामाथिको दबाब पनि कम हुने सरकारको प्रक्षेपण छ । विश्वको सबैभन्दा ठूलो महानगर ग्रेटर टोकियोमा झन्डै ३.५ करोड मानिस बसोवास गर्छन् ।
सैद्धान्तिक रूपमा स्थानान्तरण हुने परिवारले औसतमा १० देखि ३० लाख येन पाउँन सक्छन् । तर, त्यसका लागि परिवारले तीनमध्ये एउटा मापदण्ड पूरा गर्नुपर्छ : नयाँ सरेर गएको ठाउँमा परिवारको कम्तीमा एकजना सानो वा मध्यम आकारको कम्पनीमा रोजगार हुनुपर्ने वा रिमोट वर्किङ (टाढैबाट काम गने सुविधा) अवलम्बन गरेर आफ्नो पुरानो कामलाई निरन्तरता दिनुपर्ने वा नयाँ स्थानमा व्यापार सुरु गनुपर्ने निक्केई बिजनेस अखबारले लेखेको छ । प्रोत्साहन रकमको आधा हिस्सा केन्द्रीय सरकारले योगदान गर्नेछ भने बाँकी आधा स्थानीय नगरपालिकाले दिने बताइएको छ । आर्थिक प्रोत्साहन दिएर टोकियोबाट बाहिर सार्ने योजना थोरै रकमसहित तीन वर्षअघि सुरु भएको थियो ।
नयाँ बासिन्दालाई आकर्षित गर्न, जापानका खाली हुँदै गएका नगर तथा गाउँहरूले आफ्ना आकर्षक पक्षलाई प्रकाश पार्न थालेका छन् । नागानो प्रिफेक्चरको ओटारी गाउँले त आफूहरूकोमा विवाहका लागि योग्य पुरुष भेटिने कुरालाई जोड दिएको छ ।
सन् २०२१ मा ११ सयभन्दा बढी परिवार यो योजनामा समावेश भएका थिए । रिमोट वर्किङ सामान्य हुँदा यो वृद्धि भएको विश्लेषकको ठम्याइ छ । त्यसअघिका वर्ष सन् २०१९ मा जम्मा २१ र सन् २०२० मा दुई सय ९० यो योजनामा सामेल भएको निक्केईले लेखेको छ । सरकारले यो योजनाअन्तर्गत सन् २०२७ सम्ममा १० हजार परिवार टोकियोबाट ग्रामीण क्षेत्रमा सर्ने आशा राखेको छ । नयाँ बासिन्दालाई आकर्षित गर्न, जापानका खाली हुँदै गएका नगर तथा गाउँहरूले आफ्ना आकर्षक पक्षलाई प्रकाश पार्न थालेका छन् । नागानो प्रिफेक्चरको ओटारी गाउँले त आफूहरूकोमा विवाहका लागि योग्य पुरुष भेटिनेसम्मको कुरालाई जोड दिएको छ । जापानको निरन्तरको गिर्दो जनसंख्यालाई सम्बोधन गर्न सरकारले गरेका विभिन्न प्रयासमध्ये ग्रामीण भेगमा स्थानान्तरण कार्यक्रम पनि एक हो ।
विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानले सन् २०२०–२१ मा कीर्तिमानी गिरावट भोगेको थियो । यो एक वर्षको अवधिमा जनसंख्या ६ लाख ४४ हजारले घटेको थियो । जापानको जनसंख्या अहिलेकै अवस्थामा घटिरह्यो भने ४५ वर्षमा अर्थात् सन् २०६५ सम्ममा ३० प्रतिशतले घटेर आठ करोड ८० लाखमा झर्ने प्रक्षेपण गरिएको छ । जापानमा औसत आयु बढ्दा एकातर्फ वयोवृद्ध जनसंख्या बढ्दै गइरहेको छ । अर्कोतर्फ औसतमा एक जोडीले १.३ बालबच्चा जन्माइरेका छन्, जुन वर्तमान जनसंख्याको आकारलाई कायम राख्न आवश्यक पर्ने २.१ बालबच्चाभन्दा निकै कम हो । सन् २०२१ मा जापानभर कुल आठ लाख ११ हजार ६०४ बालबच्चा जन्मिएका थिए, जुन सन् १८९९ यताकै सबैभन्दा कम हो । अर्कोतर्फ जापानमा सय वर्ष कटेका मानिसको संख्या ९० हजार नाघेको छ । सन् १९६३ सम्म यो संख्या केवल एक सय ५३ थियो ।