
महान् चाड दसैँ–तिहार नजिकिन थालेपछि जुम्लामा पनि सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. शाखा कार्यालय जुम्लाले सोमबारदेखि सहुलियत मूल्य पसल सञ्चालन गरेको हो ।
सहुलियत मूल्य पसलमा चिनीसहित ६ प्ररकारका चामल बिक्री गरिनेछ । प्रतिकेजीमा पाँच रुपैयाँ छुट दिएर बिक्री गरिनेछ । सोमबारदेखि सुरु भएको सहुलियत मूल्य पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि. शाखा प्रमुख मनोज जोशीले बताए । उनका अनुसार सहुलियत मुल्य पसलका लागि कुल ११ सय क्विन्टल चामल र दुई सय क्वन्टल चिनी छुटाइएको छ । जसमा अरुवा मोटा चामल प्रतिबोरा २५ किलोको एक हजार ४२५, एफआर अरुवा मोटा एक हजार ४२५, अरुवा मध्यम चामल एक हजनर पाँच सय, एफआर अरुवा सोना मन्सुली एक हजार पाँच सय, स्टिम जिरा मसिनो चामल दुई हजार १२५ र एफआर स्टिम जिरा मसिनो चामल दुई हजार १२५ रुपैयाँमा बिक्री हुने उल्लेख गरिएको छ ।
सबै चामल २५ किलोको हुने र प्रतिकेजी पाँच रुपैयाँ छुट दिएर बिक्री हुने शाखा प्रमख जोशीको भनाइ छ । सहुलियत मूल्य पसलबाट उपभोक्ताले प्रतिबोरामा १२५ रुपैयाँ छुट पाउनेछन् । चिनी प्रतिकेजी एक सय रुपैयाँमा बिक्री गरिनेछ ।
बजारमा सामान्य चामल पनि दुई हजारदेखि दुई हजार पाँच सय पर्ने अवस्थामा विपन्न नागरिकलाई मार पर्ने र त्यही रुपैयाँले सहुलियत मूल्य पसलबाट चामल लिँदा राहत हुने अपेक्षा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हरेक वर्षजस्तै जुम्लामा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन भएकाामा सबै नागरिकलाई सेवा लिन आग्रह गरिएको बताए । बजारको भन्दा चिनी र चामल निकै सस्तो पाइने भएकाले विपन्न नागरिकलाई राहत पुग्ने उनको भनाइ छ ।
पहिलो दिन त्यति भिड नरहेको र दोस्रो दिनबाट सहुलियत मूल्यको चामल लिन नागरिकको अत्यधिक भिड लाग्ने अनुमान गरिएको छ । गत वर्ष एकै दिन डेढ सय क्विन्टलसम्म सहुलियत मूल्यको चामल बिक्री भएको थियो ।
चालू आर्थिक वर्षका लागि जुम्लामा कुल ६ हजार क्विन्टल चामल स्वीकृति भएको छ । आवश्यकताअनुसार चामल ढुवानी भइरहेको खाद्य संस्थानले जनाएको छ । हाल खाद्य संस्थानको गोदाममा कुल मौज्दात दुई हजार दुई सय क्विन्टल चामल मौज्दात रहेको छ । त्यसमध्ये ५७.५० क्विन्टल चामल कारागार, एक हजार एक सय क्विन्टल सहुलियत मूल्य पसल, चार हजार क्विन्टल कारागारका लागि छुट्याइएको छ ।