
जेन–जी आन्दोलनले गर्दा गत मंगलबारदेखि बन्द भएको विराटनगर–जोगवनी नाकामा आवतजावत सहज बन्दै गएको छ। तर, आवतजावत गर्नेहरूले भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई नागरिकता परिचयपत्र अनिवार्य देखाउनुपर्दछ।
नाकामा नेपालतर्फका सुरक्षाकर्मीहरूले नागरिकता देखाएर नेपाली र भारतीय नागरिकहरूलाई आवतजावत गर्न दिन थालेका छन्। एसएसबीले भने नेपाली नागरिकलाई आउजाउ गर्न नागरिकता परिचयत्र देखाउनुपर्ने अनिवार्य नियम लागू गरेको हो।
जेन–जी आन्दोलनअघि विराटनगर–जोगवनी नाकामा आवतजावत गर्न कुनै परिचयपत्र आवश्यक पर्दैन थियो। इलाका प्रहरी रानीका अनुसार दुवैतर्फका सुरक्षाकर्मीहरूले आ–आफनो नाकाको ढाट भने अझै पूर्ण रूपले खुला गरेका छैनन्।
शरणार्थी र अपराधीहरूको घुसपैठ हुन सक्ने भन्दै गत २४ भदौदेखि नेपालतर्फको विराटनगर र भारत बिहार राज्यको जोगवनीतर्फको नाका नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीले बन्द गरेका थिए।
विभिन्न समूह र पक्षबाट जेन–जीको नाममा अराजक हिंसात्मक गतिविधि हुन सक्ने भन्दै प्रशासनले कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङमा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु शनिबारदेखि हटाएको छ। मोरङ प्रशासनले २४ भदौदेखि २८ भदौ बिहान ५ बजेसम्म दिउँसो निषेधाज्ञा र राति कर्फ्यु आदेशलाई निरन्तरता दिइरहेको थियो।