मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ ३० सोमबार १८:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

टिचिङ हस्पिटलको बाल शल्य चिकित्सा विभागलाई स्वास्थ्य उपकरण सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १८:o९:oo

रोटरी न्यातपोलको संयोजनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), काठमाडौँको बाल शल्य चिकित्सा विभागलाई एक थान भिडियो एक्स–रे मेसिन र दुई थान भेनोमिटर सहयोग गरिएको छ।

बाल शल्य चिकित्सा वार्डमा आपतकालिन उपचारको समयमा सहजता सुनिश्चित गर्न पोर्टेबल भिडियो एक्स–रे मेसिन प्रदान गरिएको हो। यसका साथै, अस्पतालमा नशा पत्ता लगाउने उपकरण (भेनोमिटर) को अभावले गर्दा विरामी बालबालिकाको उपचारमा असहजता भइरहेकाले यस समस्या समाधान गर्न सहयोग गरिएको हो। उक्त सहयोग अस्ट्रेलियामा शैक्षिक व्यवसाय गर्दै आएका रोटरी न्यातपोलका सदस्य तथा चर्चहिल कलेजका निर्देशक सागर लोहनीको आर्थिक सहयोगमा सम्भव भएको हो।

क्याप्टेन विजय लामाको हातबाट उपकरण अस्पताललाई हस्तान्तरण गरिएको थियो। परदेशमा रहँदा पनि घरदेशमा सेवा गर्ने धेरैले सहयोग गरेको हुँदा नेपालमा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुगेको क्याप्टेन लामाले बताए।

टिचिङ हस्पिटलका उपप्राध्यापक एवं वरिष्ठ बाल शल्यचिकित्सक डाक्टर दिनेश कोइरालाले अस्पतालमा हुने यस्तो सहयोगले विरामीको उपचार सहज हुने र अन्य रोगको छिटो तथा स्तरिय उपचारमा मद्दत पुग्ने बताए।

सागर लोहनीले भने, “अस्पतालमा आधुनिक प्रविधिसहितको भेनोमिटर र भिडियो एक्स–रे उपकरण भएमा बालबालिकाको उपचारमा धेरै सजिलो हुने भएकाले मैले अस्पताललाई सहयोग गर्ने निर्णय गरेको हुँ। अरुको लागि काम गर्न पाउँदा मलाई खुसी लाग्छ।”

लामो समयदेखि सामाजिक काममा आवद्ध लोहनी पछिल्लो १७ वर्षदेखि अस्ट्रेलियामा छन्। रोटरी न्यातपोल र लोहनीले अस्पतालको वार्डमा उपचारका लागि आवश्यक विभिन्न सामग्री र आर्थिक सहयोग गर्दै आएका छन्। आगामी रोटा वर्ष २०२५/२६ मा शल्य चिकित्सा वार्डमा थप आवश्यक सहयोग गर्ने योजना रोटरी न्यातपोलको रहेको छ।

उपकरण हस्तान्तरणको क्रममा अस्ट्रेलियाको न्यूक्यासल विश्वविद्यालयका एसोसियट प्रोफेसर ब्रेन्डन बोयल, चर्चहिल कलेजका प्रमुख कार्यकारी अधिकृत डेभिड नाइट, तथा चर्चहिल कलेजका प्रतिनिधि सिबोन लाबिनाले अस्पतालको बाल शल्य वार्ड अवलोकन गरे। अवलोकन पछि उनीहरूले भविष्यमा सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्।