
जेन–जी आन्दोलनपछि बन्द रहेका कपिलवस्तुका सबै सरकारी कार्यालय पूर्ण रूपमा सञ्चालनमा आएका छन् । २९ भदौदेखि आंशिक सञ्चालन भए पनि आजदेखि सबै खुलेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सबै कार्यालय सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार कार्यालयहरू खुलेका हुन् ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सम्पूर्ण सेवा पुनः सुरु भएको बताए । उनका अनुसार आन्दोलनका कारण केही दिन स्थगित सेवा सोमबारदेखि नियमित भएको छ ।
यसैबिच, जिल्ला समन्वय समिति कपिलवस्तुको अगुवाइमा स्थानीय तहका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीबिच सेवा निरन्तरता र शान्ति–सुरक्षा व्यवस्थापनबारे महत्वपूर्ण छलफल भएको बताए । छलफलमा सुरक्षा निकायले शान्ति–सुरक्षा कायम गर्ने र स्थानीय तहले जनतालाई सेवा प्रवाह सहज बनाउन कदम चाल्ने सहमति भएको समन्वय समिति प्रमुख बाबुराम आचार्यले बताए ।
समन्वय समितिले सबै स्थानीय तहलाई पत्राचार गर्दै देशको परिस्थिति सामान्य बन्दै गएकाले पालिकाहरू तथा मातहतका कार्यालयहरूले अवरुद्ध सेवा पुनः नियमित सञ्चालन गर्नुपर्ने निर्देश गरेको छ ।