मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार ००:२६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

झडपमा गाउँलेको मृत्युपछि बनियागाउँ सुनसान

युवाले गाउँ छोडे, तीन दिनदेखि महिला, वृद्धवृद्धा र बालबालिका घरभित्रै, वस्तुभाउ गोठमै

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार ००:२६:००

दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएपछि बाँकेको जानकी गाउँपालिका– ५ स्थित बनियागाउँ तीन दिनदेखि सुनसान छ । पक्राउ पर्ने डरले युवाले गाउँ छोडेका छन् भने बालबालिका र वृद्धवृद्धा घरबाहिर निस्केका छैनन् । गाउँमा सुरक्षाकर्मी मात्रै देखिन्छन् । 

बनियागाउँनजिकै गुरुवागाउँ छ । हरेक वर्ष १५ मंसिरमा मेला लाग्छ । यस वर्ष पनि मेला सुरु भएकै साँझ ५ बजेतिर बनियागाउँका दुई पक्षका युवाबीच झडप भयो । झडपमा एउटा पक्षका नरेश काँदु घाइते भए । उनलाई सामान्य चोट लागेको भए पनि मृत्यु भएको हल्ला फैलियो । मेलामा भएको युवाबीचको झगडा घरसम्म पुग्यो । 

स्थानीय बासिन्दाका अनुसार नरेश पक्षको युवाको समूहले आक्रमणमा संलग्न रहेको भनिएका सियाराम यादवको घरमा आक्रमण ग¥यो । ढुंगामुढासँगै मोटरसाइकल तोडफोड भयो । त्यतिवेला बेलुकीको साढे ५ बजेको थियो । सियारामलाई खोज्दै आएको समूहले उनलाई नभेटेपछि भैँसी चराएर फर्किँदै गरेका उनका बुबा धनीरामलाई देख्यो । उनी भागे पनि युवाको समूहले लखेट्यो । घरदेखि पाँच सय मिटर पूर्व तोरीबारीमा उनलाई कुटपिट गरियो । अचेत अवस्थामा रहेका उनलाई स्थानीयले नेपालगन्ज मेडिकल कलेज त पु¥याए, तर उनको उपचार गर्न नपाउँदै मृत्यु भयो । 

धनीरामलाई जोगाउन खोज्दा स्थानीय ५० वर्षीया कुन्ना खटिक घाइते भएकी छिन् । कुन्नाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनका पति कन्ढई खटिकले बताए । ‘अप्रेसनमा मात्र एक लाख ५० हजार रुपैयाँ लाग्ने अस्पतालले भनेको छ । २० हजार रुपैयाँ नपुगेर बुधबार अप्रेसन हुन सकेन,’ कन्ढईले नयाँ पत्रिकासँग भने । 

मेलामा भएको झडपमा अन्य युवा पनि घाइते भएका थिए । उनीहरूको अवस्था सामान्य रहेको छ । झडपपछि तीनदिने मेला सोमबार नै भताभुंग भएको छ । झन् धनीरामको मृत्युपछि गाउँमा सन्नाटा छाएको छ । हत्यामा संलग्नलाई पक्राउ गर्न र थप झडप हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । 

तीन दिनयता गाउँ सुनसान छ । युवा गाउँ छोडेर भागेका छन् भने घरमा महिला, वृद्धवृद्धा र बालबालिका मात्रै छन् । उनीहरू पनि फेरि झडप हुने हो कि भन्ने डरले एकआपसमा बोलचाल गर्न सकेका छैनन् । अधिकांश परिवारको चुलोमा आगो नबलेको स्थानीय कन्है चमारले बताए । ‘पशुचौपाया गोठमै छन् । कोही बाहिर निस्केका छैनन्,’ उनले भने । 

एक सय ५० परिवार रहेको बनियागाउँका सर्वसाधारण निराश छन् । गाउँलेबीचको झडपमा एकजनाको मृत्यु भएपछि पाकेको खानासमेत खान मन नलाग्ने गरेको कन्हैले सुनाए । पक्राउ पर्ने डरले गाउँका सबै युवा भागेको उनले बताए । ‘गाउँ उराठलाग्दो भएको छ । कसैको अनुहार चम्किलो छैन । गाईभैँसीले दानापानी पाएका छैनन् । गाउँमा भएकाहरू दुई दिनदेखि भोकै छौँ,’ उनले भने । 

फेरि झडप हुने हो कि भन्ने त्रास स्थानीय बासिन्दामा छ । रातभर निदाउन पनि नसकेको उनले बताए । ‘प्रहरीले सुरक्षा दिँदासम्म त केही नहोला । प्रहरीले सधैँभरि सुरक्षा दिन त सक्दैन । त्यसपछि गाउँको अवस्था के होला,’ उनको चिन्ता छ । 

गाउँमा हुने सम्भावित झडपलाई मध्यनजर गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गाउँलाई चारैतर्फबाट सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाले बताए । अहिले ५० जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी गाउँमा खटिएका छन् । 

धनीराम पक्षबाट १७ जनाविरुद्ध किटानी जाहेरी परेको छ । उनीहरूमध्ये दुईजनालाई पक्राउ गरिएको एसपी रानाले बताए । अरूलाई पनि छिटै पक्राउ गरिने उनको भनाइ छ ।