Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १५ सोमबार ०६:३१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्णालीमा खुल्न थाले विद्यालय

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १५ सोमबार ०६:३१:००

कोरोना संक्रमणको जोखिम कायमै रहे पनि कर्णाली प्रदेशका केही जिल्लामा धमाधम विद्यालय सञ्चालन गर्न थालिएको छ । जुम्ला, डोल्पालगायतका जिल्लामा विद्यालयहरू खुल्न थालेका छन् ।  बन्द भएको झन्डै आठ महिनापछि जुम्लामा विद्यालय खुलेका छन् । कर्णालीको नयाँ शैक्षिक सत्रको चैतमा वार्षिक परीक्षा लिने गरी विद्यालयहरूले पठनपाठन सुरु गरेका हुन् । 

तिला गाउँपालिकाले २३ कात्तिकदेखि सामुदायिक विद्यालय सञ्चालनमा ल्याएको छ । त्यसैगरी, पातारासी गाउँपालिकाले पनि २३ कात्तिकदेखि विद्यालय खुलाएकोे छ । तिला गाउँपालिकाले २९ असोजमा बसेको शिक्षा समितिको बैठकले गरेको निर्णयअनुसार आइतबारबाट विद्यालय सञ्चालनमा ल्याएको हो ।

लामो समयदेखि बन्द रहेका विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, ‘अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड अनपाएर विद्यालय सञ्चालन गरिएको हो । विद्यार्थी भएका कक्षाको सेक्सन विभाजन गरेर सञ्चालनमा ल्याएका छौँ । कोरोना जोखिमबाट विद्यार्थीलाई बचाउन हाफटाइम नगर्ने, विद्यार्थीलाई एक–अर्काेबीच भिडभाड नगर्न दिने र मास्क अनिवार्य प्रयोग गरिएको छ ।’ 

प्रत्येक दिन ५० प्रतिशत मात्र विद्यार्थी
पठनपाठन सञ्चालन गर्दा आधारभूत तहले नियमित रूपमा कक्षा सञ्चालन गर्ने निर्णय भएकोे सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताए । उनका अनुसार माध्यमिक तहले विद्यार्थी संख्याका आधारमा सेक्सन विभाजन गरेर प्रत्येक दिन ५० प्रतिशत मात्र कक्षामा सहभागी गराउने गरी पठनपाठन सञ्चालन भएको छ । कक्षा सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको बैठक बसालेर आवश्यक सहजीकरण गर्नेसमेत निर्णय भएको शिक्षा समितिले जनाएको छ । 

चन्दननाथ तयारीमा, हिमा अनुमति कुर्दै
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सामुदायिक विद्यालय सञ्चालनमा ल्याउने तयारी छ । तर, प्रशासनले अनुमति दिएको छैन । हिमा गाउँपालिका–४ का वडाध्यक्ष तथा शिक्षा समितिका सभापति मुनबहादुर बुढाका अनुसार कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले अनुमति नदिएपछि विद्यालय सञ्चालनमा आएका छैनन् ।

गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउन पहल गरिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याउने विषयमा प्रशासनलाई औपचारिक जानकारी छैन । स्थानीय तह र प्रशासनको यस विषय कुनै छलफल तथा समन्वय भएको छैन ।

९० प्रतिशत विद्यार्थी अनलाइन पहुँचबाहिर
संघीय सरकारले गएको ११ चैतदेखि विद्यालय बन्द गर्ने घोषणा गरे पनि यहाँको स्थानीय प्रशाासनले एक दिनअगावै १० चैतमै विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । त्यसैले झन्डै आठ महिनादेखि यहाँका विद्यार्थीले विद्यालय र किताबको समेत मुहार देख्न पाएका छैनन् । शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्ने भने पनि यहाँका झन्डै ९० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । त्यसैले यहाँ अनलाइन कक्षा प्रभावकारी छैन । 

साबिकको कर्णाली (कालिकोट, जुम्ला, डोल्पा, हुम्ला र मुगु)मा नयाँ शैक्षिक सत्र फागुनदेखि सुरु भएर मंसिरमा सम्पन्न हुने गर्दछ । पुस र माघ यहाँ अत्यधिक जाडो हुने हुनाले विद्यालय बन्द हुन्छन् । तर, यो चालू शैक्षिक सत्रमा विद्यालय सञ्चालन आएको महिना दिनपछि कोरोना संक्रमणका कारण विद्यालय बन्द भए ।