१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ६ आइतबार
  • Saturday, 07 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ श्रावण ६ आइतबार o६:१५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पहाडका मान्छे बसाइँ सर्दा त्रिविका पाँच आंगिक क्याम्पस बन्द हुने स्थितिमा

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ६ आइतबार o६:१५:oo

पहाडका सरकारी शैक्षिक संस्थामा भौतिक संरचना भव्य बन्दै छन् । तर, त्यहाँका बस्ती तराई र सहरी इलाकातिर बसाइँ सर्दा ती संरचना व्यर्थ हुने अवस्थामा पुगेका छन् । बसाइँसराइकै कारण त्रिभुवन विश्वविद्यालयका विभिन्न पाँच आंगिक क्याम्पस बन्द हुने स्थितिमा पुगेका छन् । 

बसाइँसराइका कारण विद्यार्थी संख्या कम भएपछि डोटी क्याम्पस, डडेल्धुरा क्याम्प्स, तेह्रथुम क्याम्पस, जुम्ला क्याम्पस र भोजपुर क्याम्पस बन्द हुने हालतमा पुगेका हुन् । यी क्याम्पसमा सात सयभन्दा कम विद्यार्थी छन्, डोटीमा त प्रथम वर्षमा जम्मा दुई सय मात्रै छन् । विद्यार्थी संख्या नबढे निकट भविष्यमा ती क्याम्पस बन्द हुने त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको नेतृत्वमा गरिएको अनुगमनले निष्कर्ष निकालेको हो । बरालको नेतृत्वमा देशभर रहेका त्रिविअन्तर्गतका क्याम्पसको स्थलगत अवलोकन भएको थियो । भर्ना भएकामध्ये अधिकांश विद्यार्थी क्याम्पस नआउने भएकाले अधिकांश शैक्षिक कार्यक्रम बन्द हुने अवस्थामा पुग्ने अनुगमनमा देखिएको छ । 

त्यसै त कम विद्यार्थी, त्यसमा पनि कक्षाकोठामा विद्यार्थी उपस्थित नभएपछि यी क्याम्पसको भविष्य अन्योल रहेको उपकुलपति प्रा.डा. बरालले जानकारी दिए । ‘मुख्य त पहाडी जिल्लाका क्याम्पसमा विद्यार्थी संख्या घट्दो देखिन्छ । बसाइँसराइको असरले यस्तो भएको हो,’ उनले भने, ‘भव्य भवनसहित राम्रो पूर्वाधार भए पनि विद्यार्थी संख्या कम हुने भएपछि ती क्याम्सप कसरी चलाउने भन्ने छलफलमा छु ।’ उनले पहाडी जिल्लाबाट तराई तथा सहरी क्षेत्रमा बसाइँसराइ भइरहेका कारण तराई तथा सहरी क्षेत्रका क्याम्पसमा भने विद्यार्थी संख्या बढिरहेको बताए । 

उपकुलपति बराल वैशाख र जेठ महिनामा सबै प्रदेशका आंज्ञिक क्याम्पसको अवलोकन तथा अनुगमनमा निस्किएका थिए । पछिल्लोपटक २२ देखि २९ जेठसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका क्याम्पसको अनुगमन भएको थियो । विद्यार्थी कम भएका र बन्द हुने स्थितिमा पुगेका क्याम्पसको भवन तथा संरचना भने व्यवस्थित रहेको उपकुलपति प्रा.डा. बरालको भनाइ छ । उनले विद्यार्थी संख्या कम भएका क्याम्पसको शिक्षक–कर्मचारी जनशक्ति कसरी व्यवस्थापन गर्ने, बजेट कति छुट्याउने र धेरै विद्यार्थी भएका क्याम्पसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए । 

राष्ट्रिय जनगणनाले पनि देखायो ती जिल्लामा जनसंख्या घटेको तथ्यांक
विद्यार्थी कम भएर बन्द हुने अवस्थामा पुगेका क्याम्पस रहेका जिल्लामा जनसंख्या घटेको राष्ट्रिय जनगणनाले पनि देखाउँछ । देशको जनसंख्या बढिरहेका वेला पहाडी जिल्लामा जनसंख्या घट्नुको प्रमुख कारण बसाइँसराइ हो । केन्द्रीय तथ्यांक विभागका अनुसार ०६८ को जनगणनामा तेह्रथुममा एक लाख एक हजार ५७७ जनसंख्या रहेकोमा ०७८ मा गरिएको जनगणनामा घटेर ८९ हजार १२५ रहेका छन् । १० वर्षमा उक्त जिल्लामा झन्डै ११ हजार जनसंख्या घटेको छ । भोजपुरमा पनि ०६८ को तुलनामा ०७८ मा जनसंख्या २३ हजार ४६८ ले घटेको छ । ०६८ मा एक लाख ८२ हजार ४५९ रहेकोमा ०७८ मा एक लाख ५८ हजार ९९१ मा झरेको हो । 

त्यस्तै, विद्यार्थी कम भएर त्रिविको आंगिक क्याम्पस बन्द हुने अवस्थामा पुगेको अर्को जिल्ला डोटीमा पनि १० वर्षमा जनसंख्या ६ हजार ६३ ले घटेको तथ्यांकले देखाउँछ । ०६८ को जनगणनामा दुई लाख ११ हजार ७४६ जनसंख्या देखिएको डोटीमा ०७८ मा दुई लाख पाँच हजार ६८३ मा झरेको छ । त्यस्तै, डडेल्धुरमा ०६८ मा एक लाख ४२ हजार ९४ जनसंख्या रहेकामा अहिले एक लाख ३९ हजार ४२० छ । जुम्लामा भने ०६८ को तुलनामा ०७८ को जनसंख्या बढेको छ । ०८६ मा एक लाख आठ हजार ९२१ रहेकोमा ०७८ मा १० हजार ४५६ ले बढेर एक लाख १९ हजार ३७७ पुगेको छ । अन्य जिल्लामा बसाइँसराइका कारण विद्यार्थी घटेकामा जुम्लामा भने बेरोजगारी र स्कुलको पढाइ सक्दानसक्दै वैदेशिक रोजगारीमा जाने धेरै भएका कारण विद्यार्थी संख्या घटेको त्रिवि उपकुलपति प्रा.डा. बरालको दाबी छ ।