१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ११ शुक्रबार
  • Saturday, 07 September, 2024
रासस काठमाडौं
२o८१ श्रावण ११ शुक्रबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गँगटे–समुद्रटार–गोल्फुभञ्ज्याङ सडक कालोपत्रे प्रक्रिया अघि बढाउन माग

ठेक्का प्रक्रिया अघि बढेको सडकको काम पूर्वाग्रहका आधारमा रोकेको आरोप

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ११ शुक्रबार १८:२o:oo

नुवाकोटका जनप्रतिनिधिले गँगटे–लब्दु–समुद्रटार–गोल्फुभञ्ज्याङ सडक कालोपत्रेको प्रक्रिया अघि बढाउन माग गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई शुक्रबार उनकै कार्यकक्ष सिंहदरबारमा भेटी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नेतृत्वको जनप्रतिनिधिको समूहले स्रोत सुनिश्चित भएर ठेक्का प्रक्रियामा अघि बढेको सडक यसअघिको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा रोकेको अवगत गराए।

प्रतिनिधिमण्डलको कुरा सुनिसकेपछि मन्त्री दाहालले अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने गरी फाइल तयार पार्न मन्त्रालयका सचिव गोपाल सिग्देललाई निर्देशन दिए।

मन्त्रीलाई ध्यानाकर्षण गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले आफू अर्थमन्त्री हुँदा स्रोत सुनिश्चित भएको उक्त सडकको काम सरकार परिवर्तन हुनेबित्तिकै राजनीतिक पूर्वाग्रहका आधारमा ठेक्का प्रक्रिया रोकिँदा स्थानीयवासी निराश भएको बताए। ६७ किलाेमिटर सडकको कालोपत्रेका लागि रु. एक अर्ब ३३ करोड स्रोत सुनिश्चित भइसकेको उनले जानकारी दिए।

यो सडक कालोपत्रे भएपछि नुवाकोटका चार पालिकासँगै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका सर्वसाधारणसमेत लाभान्वित हुनेछन्। नुवाकोटको सूर्यगढी, लिखु, दुप्चेश्वर र तादी गाउँपालिकाका स्थानीयवासी सडकबाट लाभान्वित हुनेछन्। दुप्चेश्वर मन्दिर जाने धार्मिक पर्यटकलाई सडकले सहज हुनेछ।

तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ समुद्रटारबाट गोल्फु भञ्ज्याङसम्मको करिब २१ किलाेमिटर सडक निकै अप्ठ्यारो रहेको बताउँछन्। गँगटेबाट लब्दु हुँदै समुद्रटारसम्मको सडक यसअघि कालोपत्रे भइसकेकाले सहज रहेको उनले बताए। यो सडकको समुद्रटारसम्म मध्यपहाडी लोकमार्ग जोडिन्छ। सडकको चौडाइ विस्तार गरी नौ मिटरबाट १५ मिटर बनाउने तयारी गरिएको छ।