१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ११ शुक्रबार
  • Saturday, 07 September, 2024
२o८१ श्रावण ११ शुक्रबार ११:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमतीमा कांग्रेस–एमाले विवाद : एमालेको असहमतिले रोकियो शपथग्रहण

मुख्यमन्त्रीले मन्त्रालय टुक्र्याउने गरी बनाए १४ सदस्यीय मन्त्रिपरिषद्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ११ शुक्रबार ११:५३:oo

साना दलले च्याँखेदाउ थाप्दा प्रदेशमा मन्त्रिपरिषद् जम्बो बन्न पुगेको दाबी गर्दै गठबन्धन गरेका कांग्रेस–एमालेले बागमतीमा दुईदलीय सरकार बनाएका छन् । तर, दुईदलीय सरकार हुँदा पनि मन्त्रिपरिषद्को आकार घटाउन त परै जाओस् अझै बढाएर १४ पुर्‍याइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रालय टुक्य्राउने गरी १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित सात र एमालेबाट ६ गरी १३ सदस्यीय मन्त्रिपरिषदमा सहमति भए पनि आफ्नो पार्टी कांग्रेसलाई भागबन्डा पुर्‍याउन मुख्यमन्त्री लामाले एक मन्त्री थप गरेका हुन् । 

पूर्ववर्ती सरकारले मन्त्रालय टुक्य्राएर १३ पुर्‍याएकामा झनै बढाएर १४ कायम गर्न थालिएपछि सत्तासाझेदार एमालेले भने असहमति जनाएको छ । एमालेको असहमतिका कारण बिहीबार कांग्रेसबाट नियुक्त भएका प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरीको शपथ नै रोकिएको छ ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रालयको संख्या बढाउने विषयमा एमालेको असहमति रहेको बताए । प्रदेशमा दुुवैै दलले मुख्यमन्त्रीबाहेक ६–६ मन्त्रालय लिने सहमतिभन्दा बाहिर जान नसकिने उनले बताए । ‘मन्त्रालयको संख्या बढाउने विषयमा हाम्रो सहमति छैन । आफ्नो दल (कांग्रेस)भित्रको समस्या मिलाएर आउन सुझाव दिएका छौँ,’ थपलियाले भने, ‘दलभित्रको समस्यालाई लिएर मन्त्रालयको संख्या बढाउन मिल्दैन ।’

मुख्मयन्त्री लामाले दलभित्र (कांग्रेस) र सत्तासाझेदार (एमाले) सँग छलफलपछि मन्त्री र मन्त्रालयको संख्या टुंगो लगाएर बाँकी मन्त्रीहरूको शपथ गराइने बताए । मन्त्रीको स्वागतका लागि विभागीय मन्त्रालयका सचिवहरू गाडीसहित प्रदेश प्रमुख कार्यालय पुगेका थिए । तर, उनीहरू पनि मन्त्रीविनै फर्किएका थिए । झन्डा हालेर मन्त्री लिन पुगेका गाडी झन्डामा कभर हालेर फर्किएका थिए । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री लामाले बुधबार शपथग्रहण गर्दा एमालेबाट ६ र कांग्रेसबाट तीन गरी नौ मन्त्री चयन गरेका थिए ।  

कांग्रेसभित्र किचलो
मन्त्री नियुक्तिका विषयमा कांग्रेसभित्र किचलो बढेको छ  । त्यही भएर कांग्रेसबाट बुधबार नियुक्त भएका तीनजनाले विनाविभागीय जिम्मेवारी पाएका थिए । जब कि एमालेबाट मन्त्री बनेका ६ जनाले बुधबार नै जिम्मेवारी पाएका थिए । संस्थापन इतर समूहलाई भागबन्डा पुर्‍याउन मुख्यमन्त्री लामाले बिहीबार कांग्रेसबाट मन्त्रालयको संख्याभन्दा बाहिर रहने गरी थप एक मन्त्री नियुक्ति गरेका थिए । 

कांग्रेसबाट विनाविभागीयमन्त्री रहेका मदुकुमार श्रेष्ठले तत्कालै मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अडान राखेका छन् । त्यस्तै, कांग्रेसकै सामाजिक विकासमन्त्री कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् ।