१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार १९:४५:oo
Read Time : > 6 मिनेट
सप्तरंग डिजिटल संस्करण

तिजका गीतले गुमाउँदै मौलिकता, कहिले रोकिएला विकृतिको बाढी?

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १९:४५:oo

पछ्यौरी धुनलाई पानी मैले पाइन बरिलै झरेँ म त दोभान
नपढेका केटालाई दिनुभयो बाबाले बरिलै गयो मेरो जोवन

२०४४ सालमा ६५ जना महिलाहरू जम्मा गरेर बमबहादुर कार्कीले रेडियो नेपालमा रेकर्ड गरेको यो गीत नै तिजको पहिलो हो। ३८ वर्ष पहिलाको महिलाको पछ्यौरीको कथा अहिले बाँकी छैन। नयाँ पुस्ताले त्यस्ता कथा बोक्ने पछ्यौरी बिस्तारामा ओछ्याएका छन्, जसले उनीहरूलाई भतभती पोलेको छ।

सानो सानो सुन्तलीको बिरुवा बगेर खोलीमा हो निर जाले 
आमा रुँदै बेँसीको मेलामा म रुँदै डोलीमा हो निर जाले

तिजको गीत यसरी सुरु भएको थियो। आमालाई छोरी अन्माएपछि बियोगमा रुने पनि समय थिएन, आँसुका धारासँगै मेलामा जानुपर्थ्यो। तर, अहिले आमालाई के थाहा छोरी कोही पुरुषसँग बिहेअघि नै मायाको पोको फुकाउने सवालमा बार्गेनिङ गरिरहेकी छिन्। 

भृकुटी र सीताजस्ता नारीको यो देशमा 
यो देशका चेलीबेटी बेचे विदेशमा

२०४५ सालमा म्युजिक नेपालबाट गायिका हरिदेवी कोइरालाले रेकर्ड गराएको यो गीत तिजको दोस्रो गीत हो। उनले त्यसपछि निरन्तर तिजका गीत रेकर्ड मात्रै गरिनन्, तिज गीत र कविताका संग्रहहरूसमेत प्रकाशन गरेकी छिन्।

तिज गीतको व्यावसायिक रेकर्ड गायिका लक्ष्मी न्यौपानेले २०५१ सालबाट गरेकी हुन्। सांगीतिक करियरको सुरुवात नै तिज गीतबाट गरेकी उनले रिमा रेकर्डिङ स्टुडियोबाट तिजको रमझम गाएकी थिइन्। आधा आकाश हुँदै उनले जब २०५७ सालमा दुर्गा गुरुङसँगको सहकार्यमा हन्त सम्धिनी तिज गीत बजारमा ल्याइन्, यो एल्बम राम्रो बिकेपछि कलाकारहरूलाई तिज एल्बम बेच्न सकिन्छ भन्ने लाग्यो।  

‘आजकलका बुहारीलाई केही भन्नै नहुनी, कस्तो आयो जमाना हन्त सम्धिनी’ यो गीतपछि तिजका गीत लेखेर चौपारीमा किताब बेच्दै हिँड्ने सर्जक प्रजापति पराजुलीले २०५८ सालमा फेवा डिजिटल पोखराबाट बेदनाको पोको एल्बम निकाले। प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने र हरिदेवी कोइरालाको स्वरले तिजको सांगीतिक बजार फराकिलो बनाउँदै लग्यो। 

२०५४ सालमा गायक रामप्रसाद खनालले तिज भाकामा दोहोरी रेकर्ड गराएका थिए। खनाल र चन्द्रा गुरुङसहितको समूहले गाएको यो गीत पहिलो तिज दोहोरी हो। जसमा श्रीमानले माइत नजान र घर स्याहार्न अनुरोध गरेका छन् भने श्रीमती आफ्नी दिदीसरह सम्झिएर आफूलाई माइत पठाउन अनुरोध गरेकी छिन्। 

गायक तथा सर्जक खनालले २०८१ सालमा आउँदा पनि त्यही शैलीलाई निरन्तरता दिँदै कलाकारले तिज बिगारेकोसम्म गीतबाटै भनेका छन्। विषयको खडेरी देख्ने र आधुनिकताको बन्धन भन्ने सर्जकलाई खनालले सबक सिकाएका छन्।

बिमाकुमारी दुरा, शर्मिला गुरुङ, शिवा कार्की, तारा देवी, राजु परियारका गीत पनि बजारमा आएका थिए। २०५८ सालमा शर्मिला गुरुङको पहिलो तिज गीत धौलागिरि क्यासेट सेन्टरबाट बजारमा आएको थियो।

सुन्दरमणि अधिकारीले विष्णु माझीको आवाजमा पुतलीको भट्टी २० वर्षअघिबाट निरन्तर ल्याइरहेका छन्। उनले केही हल्ला गर्नुपर्दैन। गीतको गुणस्तर र मर्मले आफैँ झ्याली पिट्छ, जस्तो यसपटक ‘आइन् आमा ओइ’ गीतले तिज भनेर ल्याइएका सबै गीतलाई ज्वरो निकालिदियो।

२०६६ सालसम्म पनि तिज गीत ठिकठाक आएका थिए। कलाकार जब तिजमा आर्जनका नियतले आए त्यसपछि तिजले बाटो बिराउन सुरु गर्यो। त्यस छेक अलि-अलि लरबराएको तिजले माइती, दाजुभाइ दिदीबहिनीलाई मात्र विषय बनाएन, बिस्तारै गर्लफ्रेन्ड र बोइफ्रेन्ड भन्नतिर लाग्यो। 

शृंगारिकता र अश्लीताको सुरुवात
समस्या जुन तत्कालीन समयमा थिए ती टरेका छन्। महिलाका सवाल पनि फेरिएका छन्। के महिलाका समस्या टरे भनेर तिज पर्व र यसको गरिमालाई नांगेझार पार्न पाइन्छ? आममानिसले अहिले यो प्रश्न गरिरहेका छन्।

खोज्दै जाँदा सर्जक रमेश बिजीले लेखेको तिज गीत ‘भन् त मोरी उही सितको पहिलो दिनको कुरा’बाट तिजले बाटो बिगार्न सुरु गरेको पाइन्छ। उनले लेखेको यो गीत टीका पुनले गायकी छन्। २०६४ सालमा शीला क्यासेट सेन्टरबाट बजारमा आएको यो गीतले तिजमा उच्छृंखलतालाई स्थान दिन सुरु गरेको देखिन्छ।

तिज गायककै परिचय बनाएका पशुपति शर्माले पनि २०६४ सालबाटै तिजको गीत सुरु गरेका हुन्। लोकदोहोरीभन्दा तिजका भनिएका गीत बढी गाएका शर्माले आशिष म्युजिक कम्पनीबाट ‘टलक्कै ऐना टल्कियो’ गीत आफ्नै शब्द तथा लय सिर्जनामा बजारमा ल्याएका थिए। बोय फ्रेन्ड र गर्लफ्रेन्डबिचको संवादलाई यो गीतमा विषय बनाइएको छ। यसले तिजलाई बिस्तारै दोहोरीको रङ दिन थाल्यो।

शर्माले केही तिजका भाकाबाहेक रतेउली र दोहोरीलाई फ्युजन गरेर तिज भन्ने गरेको एक पुराना सर्जक बताउँछन्। ‘उहाँले आँखा जुधाएर तिज भन्न सक्ने तिज गीत कति गाउनुभएको छ? जुन गीतलाई तिज भनेर निकाल्नुभएको छ,’ परिचय उल्लेख नगर्ने सर्तमा उनले भने, ‘पुरुष सर्जक र गायकले तिजलाई यसरी बिगारिदए कि अब तिज भनेको नै हिजोआजका रत्याउली वाला गीत हुन्।’ 

९ वर्षअघि सार्वजनिक गरिएको तिज गीत भनिएको ढाडे बिरालोमा, ‘उखरमाउलो बैँस छोप्ने चिजै भएन’ भनिएको छ, त्यसको म्युजिक भिडियोको सुरुवातमै सागर लम्साल बलेले मुख मिठ्याउँदै भनेका छन् ,‘साङ्लो ब्रो त्यो केटीका कति राम्रा पिँडुला।’ र, ज्योति मगरको पिँडुला भिडियोमा देखाइएको छ। सागर लम्साल भर्खरै विवाहित भएका छन्। अब उनले आफ्नी श्रीमतीसहित सासुआमासँगै बसेर यो गीत हेर्न सक्लान्?

विनोद ढकालले लेखेको यो मात्रै हैन, श्रीदेवीकै तिजको भनिएको अर्को गीत पनि छ, ‘मेरो त पिठ्युँमा बेस्सरी चिलायो, आहोइ कन्याई देउन बाई’। कलाकार दुर्गेश थापाले पनि तिजलाई अन्याय गरेका छन्। ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ भन्ने गीतमा उनले पुरुषत्व देखाएका छन्। खुला चौरमा गितारको तालमा केही मोडलहरू ज्यान हल्लाएका छन्। उनीहरूलाई संस्कृति बिगारेकोमा कुनै पछुतो छैन, जति अनुहार देखाउन पाएकोमा गर्व छ। 

११ वर्षअघि बजारमा आएको ‘यो तिजमा ढल्केरै नाचिन्छ’ पनि रत्याउली पाराको छ। एकनारायण भण्डारीले गीत चलाउन ‘ए मेरा बादुरे’जस्तो रत्याउलीको रहनी तिजमा छिराएका छन्। श्रृंगारिक बनाउन प्रयोग गरिएको बादुरेले तिजको मौलिकतालाई धक्का दिएको छ। 

गायक तथा सर्जक खुमन अधिकारीले पनि दोहोरी र रत्याउलीलाई तिज गीतका रूपमा गाएका छन्। यो प्रमाणित छ कि जसले स्टेजको मोहका लागि गीत रेकर्ड गरेका छन्। उनीहरूले तिजका नाममा मर्मविपरीतका गीत गाएका छन्। 

यसपटक
यसपटक धेरै गीतले तिजको भाव बिर्सेका छन्। त्यति मात्र होइन, उच्छृंखलता बढाएका छन्। ‘बिस्ताराले पोल्यो’ गीत पनि तिजको भनेर बजारमा ल्याइएको थियो। अंग प्रदर्शन गरेर स्थान बनाउन खोजेकी सञ्चिता बोलखेले घर परिवार बिर्सेर अभिनय गरेकी छिन् भने गायिका शान्तिश्री परियारको चर्चाको मात र अज्ञानताको हद यस गीतबाट सजिलै अनुमान गर्न सकिन्छ।

टेक लिएर रेकर्ड गर्दा शब्द, सन्देश प्रभावकोे कुनै महसुस गर्न नसकेकी परियारले चर्को विरोधपछि विज्ञप्ति निकालेर माफी मागिन्। तर, यस गीतका लेखक हरि गिरी बिमर्सी सञ्चले निदाएका छन्। तिजको मेलोडी थेगोको अन्तिम बिसर्जनमा गाइएको छ, तर यसलाई आइटम गीत भनेर उम्किन खोजिएको छ। प्रस्ट यो छ कि यस गीतलाई राम्रो भन्न सर्जक आफैँ नै सकिरहेका छैनन्, आइटम गीत भनेर अश्लीलता स्विकार्न लगाइएको छ।

गायिका प्रीति आलेले तिज गीतमार्फत विदेशमा श्रीमान् हुने श्रीमतीले बिवाहेत्तर सम्बन्ध राखेको र जोगिनलाई तीनमहिने सुई लगाउने गरेको बताएकी छिन्। महिलाप्रति आलेको यो हदसम्मको सोच सामान्य छैन। यदि हुन्थ्यो त त्यसको भावको अंश हटाइँदैनथ्यो। गीतको अंश युट्युबबाट हटाइए पनि त्यसको प्रभाव र सन्देश फैलिसकेको छ। 

अर्को गीत पनि छ तिजको भनिएको ‘बाख्री गयो हल्लाउँदै पुच्छर मनको कुरो कल्ले बुझ्छ र?’ यसलाई तिजको गीत भनेर पनि कसैले बुझ्दैनन्। ध्रुव पुनले यस्तो गीत लेखेका छन् जसलाई दर्शक स्रोताले रंग न ढंगको गीत भनेका छन्। 
‘मायाको पोको चोखो छ चोखो, बिहेअघि दिन्न म लरिलरिलै, बिहेपछि जम्मै फुकाउने धोको’ यो पनि तिजको गीत हो। सेल्फ सेन्सरसिप मात्रै रहेको गीत संगीत यति नराम्रो गरी ओरालो लाग्दै छ कि अब संस्कार र संस्कृति खोज्ने मानिस एक्लो हुने छन्। न लोमसलाई यस्तो गीतमा नाच्दा लाज लागेको छ, न मोडल बिना राउतलाई कुनै पछुतो छ। नेत्र अर्यालले त बिस्तारै यस्तै गीत लेखेर लोकका गीतहरू मासिरहेका छन्। भागीरथ चलाउने र कविता खत्रीले त मन परेर स्वर दिए होलान्, त्यसको प्रतिक्रिया उनकै बाबुआमाले उनीहरूलाई दिइसकेका छन्। 

रहर पूरा गर्नका लागि निकालेका धेरै गीतमध्ये तिजको अर्को गीत छ, तिजका गीतमा र्याप। यो गीतमा तिजका गीतमा नाच्नका लागि झ्याप हुन पर्ने, रक्सी र गाँजा चाहिने भनिएको छ। पुस्कल भट्टराईको यो गीतले न तिजलाई न्याय गरेको छ, न सामाजिक सन्देशको हेक्का राखेको छ। 

दोष निर्देशकहरूको पनि 
सर्जक र गायक त अपराधी हुँदै हुन्। पहिरनकोसमेत अर्थ राख्ने पर्व तिज बिगार्न निर्देशकहरू पनि उद्धृत छन्। दुर्गेश थापाको बिचबिचमा गीतमा मौसम हिमालीले गरेको निर्देशन पनि तिजका लागि घातक छ। सो गीतमा दुर्गेश थापाले सारी लगाएर अस्वाभाविक नृत्य गरेका छन्। जस्तो रत्याउलीमा महिलाहरूले गर्ने गर्दछन्। 

रामजी लामिछाने जसले बिस्ताराले पोल्योको निर्देशन गरे, उनलाई अंग प्रदर्शन उत्तेजक बेड सिन मात्र खिच्नुथियो। नाँच र जेस्चरसँग जोड्ने अर्का निर्देशक शिव विक हुन् । उनले ‘पिठ्यूमा कन्याइ देऊ न बाई’को निर्देशन गरे । 

कुनै समय निर्देशनमा राज गरेका शंकर बिसीले पनि ‘ढाडे बिरालो’ जस्तो तिज गीत निर्देशन गरेका छन्। क्षणिक लोकप्रियताका लागि काम गरेका उनले धेरै तिज गीतलाई संस्कृतिमा आँच आउने गरि निर्देशन गरेका छन्। 

अग्रज के भन्छन्?
तिजको विकृतिका विषयमा अग्रज कलाकार नबोल्दा समस्या बढिरहेको छ। सर्जक बमबहादुर कार्की पैसाको लोभमा कलाकारले आँखा नदेखेको बताउँछन्। ‘तिज नबिगारौँ भन्ने हो भने आफ्ना गीत स्रोता दर्शकले मन नपराएका कारण बोल्यो भन्छन्,’ उनको भनाइ छ।

३७ वर्षअगाडिबाट तिज गीत सिर्जना गर्ने तथा गायनमा सक्रिय हरिदेवी कोइरालाको भनाइमा लोभिएका कलाकार र संस्कृतिका जानकारहरूको मौनताका कारण तिजको सांस्कृतिक मूल्य घटिरहेको हो। तिजको विकृति अराजकताको उत्कर्ष विन्दुमा पुगेको उनको टिप्पणी छ। उनी भन्छिन्, ‘यो पर्वको सांगीतिक पक्ष संकटको अवस्थामा छ, स्रोता दर्शकहरू आफैँ संयम हुने र खराबलाई बहिष्कार नगरे यो पर्व नै हराउने निश्चित छ।’ बुझेका कलाकारले बुझपचाएर र नबुझेकाले त्यसैलाई सिको गर्दा तिज थप बिग्रिएको कोइरालाको पनि तर्क छ।

गायक तथा सञ्चारकर्मी पुरुषोत्तम न्यौपानेले तिज पुरुषले गाउँदा मर्मविपरीत गाउन नहुने तर्क गर्छन्। ‘हामीले बाटो र पाटो छोडेका थिएनौँ। तिजमा बुवाको, दाजुभाइको, ज्वाइँको, जेठानको भूमिका जे हुन्थ्यो। हामीले त्यो गाएका हौँ,’ न्यौपानेको जिकिर छ, अहिले रातो सारी लगाएको र तिजमा निकालिएका कारण तिज गीत भनेर बुझ्नुपर्ने अवस्था छ।’

एक सयभन्दा बढी तिज गीतमा स्वर दिएकी लक्ष्मी न्यौपाने यही अनुपातमा गीत बजारमा आउने हो भने तिजको सांस्कृतिक पक्ष जीवित नरहने बताउँछिन्। ०५८ सालबाट तिज गीत गाउन सुरु गरेकी शर्मिला गुरुङको भनाइमा अनावश्यक विषय समावेश गरेर तिजको गरिमालाई धुलिसात पारिएको छ। ‘हामीलाई संस्कृतिको माया छ, पर्वको माया छ,’ गायिका गुरुङ भन्छिन्, ‘बुढेसकालमा पछुताउने काम गर्नुहुँदैन।’ 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पनि तिजका विषयमा रमिते बनेको छ। प्रतिष्ठानले कुनै पनि गीतलाई रेकर्ड गर्न वा सार्वजनिक गर्नबाट रोक्न नसके पनि आफ्नो संस्थाबाट स्पष्टीकरण सोध्न, निष्कासन गर्न वा चेतावनी दिन सक्छ। तर, उसले पनि सार्वजनिक कार्यक्रममा भूमिका सम्झाउनेबाहेक खास केही गर्न सकेको छैन।

अन्त्यमा
केही गीत बजारमा आएका छन्, जसले तिजको गरिमा कम्तीमा सखाप पार्न दिएका छैनन्। तर, त्यस्ता सिर्जना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापाले भने झैँ टर्च बालेर नै खोज्नुपर्ने अवस्था छ। उनले विष्णु माझीको तिज गीतको उदाहरण दिँदै कलाकारहरू सहभागी एक सार्वजनिक कार्यक्रममा भनेकी थिइन, ‘अलि-अलि पनि सेन्स छैन? तपाईंका घरमा बाउआमा छोराछोरी छैनन्? लाज भन्ने कुरा छैन?’ उनले सर्जक, गायक गायिका र निर्देशकलाई नसच्चिए सकिन तयार हुनुपर्ने चेतावनी पनि दिएकी थिइन्।

अहिले पनि स्रोता दर्शक छन्, जो विष्णु माझीको तिज गीत कहिले आउला भनेर कुरेर बस्छन्। लक्ष्मी न्यौपाने कहाँ होलिन्? वेदनाको पोको किन आएन? वा प्रकाश सपूतले अब के ल्याउलान् भनेर प्रतीक्षा गर्छन्। तर, सायद, त्यो संख्या घट्दो क्रममा छ, त्यसैले तिजको नाममा उच्छृंखलता बेच्नेहरूको मनोबल बढेको छ। दर्शक स्रोता र नियमनकारी निकाय समयमै सचेत नहुने हो भने उच्छृंखलताको बाढी यसरी आउने छ कि त्यसको गढगढाहटका अघि विष्णुमाझ वा लक्ष्मी न्यौपानेहरूका आवाजहरू पनि मधुरो बन्दै जानेछन्।