१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ११ शुक्रबार
  • Saturday, 07 September, 2024
२o८१ श्रावण ११ शुक्रबार ११:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किए 

पहलमान थापा अझै युएईको सारजाह जेलमै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ११ शुक्रबार ११:३४:oo

संयुक्त अरब इमिरेट्स युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किएका छन् । बिरामी साथीलाई अस्पताल लैजाने क्रममा निधन भएको घटनामा मृत्युदण्डको सजाय पाएका ओखलढुंगाको चिसंखुगढी गाउँपालिका– ३ का श्रेष्ठ ५० लाख ब्लडमनी बुझाएर स्वदेश फर्किएका हुन् । 

श्रेष्ठलाई ३ जुन २०१९ मा नवलपरासीको मध्यविन्दु नगरपालिका– ११ का बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो । सोही घटनामा धादिङको नेत्रवती गाउँपालिका– ४ का पहलमान थापा पनि संलग्न भएको भन्दै युएईको उपल्लो अदालतले आजीवन कारावास हुँदै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो । पहलमान अहिले पनि युएईको सारजाह जेलमा छन् । 

हत्या आरोप लागेका भुवन र पहलमानलाई प्रतिव्यक्ति एक लाख ५० हजार युएई दिराम (जम्मा तीन लाख) दिराम पीडित परिवारलाई नेपालमा दिने तथा पाँच वर्षको जेल सजाय सारजाहको उपल्लो अदालतले फैसला सुनाएको थियो ।

जेल सजाय भुक्तान गरिरहेका उनीहरूको उद्धारका लागि नेपालमा अभियान सञ्चालन गरी आर्थिक संकलन गरी पीडित परिवारलाई बुझाएपछि भुवन बुधबार साँझ सारजाहबाट रिहाइ भई राति एयर अरबियामार्फत नेपाल फर्किएका हुन् । 

पाँच वर्षदेखि युएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ र थापालाई बचाउन नेपालमा रकम संकलन अभियान चलाइएको थियो । भुवनका बुबा यमनारायण श्रेष्ठको याचनामा ओखलढुंगा जिल्लावासीले सुरु गरेको सहयोग संकलन अभियानमा देश–विदेशबाट रकम जम्मा भएको थियो । 

अदालतले फैसलामा तोकेअनुसारको रकम पीडित परिवारलाई बुझाएपछि मृत्युदण्डको सजाय तोकिएका श्रेष्ठ र थापाको उद्धारको पहल सुरु भएको थियो । भुवन नेपाल फर्किए पनि पहलमान अझै जेलमै छन् । कानुनी प्रक्रिया पूरा गरेर उनलाई पनि नेपाल फर्काउने पहल भइरहेको छ । 

आफ्नो श्रीमान् बाबुरामको हत्या हुँदा उनकी श्रीमती नरिमा आलेमगर पनि वैदेशिक रोजगारीकै क्रममा युएईमा भएको र उनैले किटानी जाहेरीसहित अनुसन्धानका लागि निवेदन दिएकी थिइन् । सोही उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरी अनुसन्धान गरी अदालतमा सुनुवाइ भएको थियो । 

नेपाली दूतावास आबुधाबीले पीडितका तर्फबाट बहस पैरवी गर्न दूतावासका स्थानीय जनसम्पर्क अधिकृत इरफान आलमलाई खटाएको थियो । नेपाल फर्किएका भुवनलाई आफन्त र जिल्लावासीले स्वागत गरेका छन् । नेपाल फर्किएपछि भुवनले आफूहरूलाई उद्धारका लागि पहल गर्ने रकम संकलन गर्ने सबैलाई धन्यवाद दिए।