१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Saturday, 07 September, 2024
२o८१ श्रावण १२ शनिबार o६:o१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धनगढीका दुई युवामा हैजा पुष्टि, दुई बालकमा आरडिटी पजिटिभ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o६:o१:oo

खानेपानीको नमुना संकलन

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत दुई युवामा हैजा भएको पुष्टि भएको छ । झाडापखाला लागेका पशुपति टोलका २३ र २६ वर्षीय युवाको नमुना ल्याबमा परीक्षण गर्दा हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । यसअघि उनीहरूमा आरडिटी परीक्षण गर्दा हैजा पजिटिभ देखिएको थियो ।

हैजा देखिएका एउटै घरमा बस्ने दुई परिवारका रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार हैजा देखिएका एकजना उपचारपछि घर फर्केका र एक उपचाररत छन् । प्रदूषित पानीका कारण हैजा भएको देखिएको अस्पतालले जनाएको छ । 

पखाला लागेर सेतीमा भर्ना भएका पशुपति टोलकै दुई बालकमा आरडिटी परीक्षण गर्दा हैजा ‘पजिटिभ’ देखिएको छ । हैजाको लक्षण देखिएपछि आरडिटी जाँच गर्दा ६ वर्षीय र आठ वर्षीय दुई बालकमा हैजा पजिटिभ देखिएको सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए । ‘आरडिटी पजिटिभ देखिँदैमा हैजा हो भन्न मिल्दैन, कल्चर जाँचका लागि नमुना ल्याबमा पठाएका छौँ,’ उनले भने, ‘आइतबार रिपोर्ट आएपछि थाहा हुन्छ ।’

हैजा पुष्टि भएका दुईजना र आरडिटी पजिटिभ भएका दुई बालक एउटै घरमा बस्ने फरक–फरक परिवारका रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताए । हैजा देखिएपछि उक्त घरमा बस्ने सबैको आरडिटी परीक्षण गरिने उनको भनाइ छ । स्वास्थ्य कार्यालयले शुक्रबार पशुपति टोलबाट खानेपानीको नमुना संकलन गरेर खानेपानी शुद्धीकरण गरेर पठाउन खानेपानी संस्थान, खानेपानी डिभिजन र खानेपानी कार्यालयलाई शुक्रबार नै पत्राचारसमेत गरिएको छ । धनगढी मुख्य बजारमा सडक निर्माणका क्रममा रहेकाले खानेपानीको पाइप फुटेका ठाउँबाट ढल मिसिएको हुन सक्ने अनुमान गरिएको छ । सेतीमा गत जेठमा पनि भारतको दिल्लीबाट आएकी एक महिलामा हैजा देखिएको थियो । 

कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेपछि सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले सम्बन्धित ठाउँमा द्रुत प्रतिकार्य टोलीसहित जनशक्ति परिचालन गर्न मातहतका स्वास्थ्य निकायलाई निर्देशन दिएको छ । सचिवस्तरीय बैठकको निर्णयअनुसार हैजा, दादुरालगायत महामारीजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्न सतर्कता अपनाई पूर्वतयारीमा रहन मन्त्रालयअन्तर्गत स्वास्थ्य निकायहरूलाई निर्देशन गरिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले जानकारी दिएका छन् ।