मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १६ आइतबार ०२:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महामारीको भुमरीमा जान उर्लियो भिड (भिडियो रिपोर्टसहित)

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १६ आइतबार ०२:०९:००

अहिलेसम्म ८१ लाख संक्रमित भएको भारत विश्वको दोस्रो प्रभावित देश हो, तर दु:खसुख दसैँ मनाएका नेपाली आर्थिक दसा टार्न भारत पस्दै छन् । एकैपटक ठूलो भिड नाकामा पुगेपछि व्यवस्थित गर्न प्रहरीलाई पनि सकस परेको छ ।

गाउँमा छाक टार्नै मुस्किल हुन थालेपछि पश्चिम पहाडका बासिन्दा कोरोना महामारीकै बीच रोजगारीको खोजीमा हुलका हुल भारत जान थालेका छन् । अवस्था कतिसम्म भयावह छ भने भारत जानेहरूलाई व्यवस्थापन गर्न बाँकेको जमुनाह नाकामा खटिएको प्रहरीलाई हम्मे परेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीका अनुसार शनिबार मात्रै एक हजार तीन सय ६० नेपाली भारततर्फ लागेका छन् । शुक्रबार सात सयभन्दा बढी गएको उनले बताए । ‘दसैँको टीका छाडेर फूलपाती, महाअष्टमी र नवमीका दिन पनि धेरै नेपाली भारततर्फ गए । दसैँ सकिएको भोलिपल्टदेखि त नाकामा थामिनसक्नु भिड लाग्न थालेको छ । भिड नियन्त्रणका लागि थप बल मगाउनुपर्ने अवस्था आइसक्यो,’ सइ गिरीले भने ।

खास गरेर लुम्बिनी प्रदेशका पूर्वी रुकुम, दाङ, प्युठान, रोल्पा, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सर्वसाधारण जमुनाह नाका भएर भारत जाने गरेका छन् । लामो समयदेखि बेरोजगार बस्दा परिवारको हातमुख जोड्नै गाह्रो भएपछि बाध्य भएर भारत जानुपरेको गुनासो उनीहरूले सुनाउने गरेको गिरीले बताए ।

दसैँअघि भारतले आधार कार्ड भएकालाई मात्र नाकाबाट प्रवेश दिएको थियो । तर, अहिले भने आधार कार्ड नभएकालाई समेत प्रवेश गर्न दिइरहेको छ । जसले गर्दा नाकामा थामिनसक्नु भिड लागेको छ । ‘भारतीय पक्षले अनौपचारिक रूपमा नाका खुला गरिसक्यो । त्यसको असर हामीलाई परिरहेको छ,’ सइ गिरीले भने । 

भारतमा कोरोेना महामारीले भयावह रूप लिइरहेकाले त्यसतर्फ नजान सम्झाउँदा उल्टै झर्किने गरेको गिरीले बताए । ‘कामका लागि भारत जानेहरू एकसाथ ठूलो संख्यामा आउँछन् । कतिलाई सम्झाउनु र बुझाउनु ? बाध्य भएर भारत गइरहेकालाई सम्झाउन खोज्दा झर्किन्छन््, गाली गर्छन्,’ उनले भने, ‘भारत जानेलाई रोक्न खोज्यो, भारतबाट फर्किनेहरू जबर्जस्ती प्रवेश गर्न खोज्छन् । नाकामा पुगिसकेकालाई रोक्न सम्भव छैन ।’

उपचार, औषधि खरिद, बिरामी भेटघाट र मलामी जान भने दुवै देशका नागरिकलाई सीमामा आउजाउ गर्न सहुलियत दिएको प्रहरीले जनाएको छ । यसरी दैनिक सरदर पाँच सय नेपाली र भारतीयले ओहोरदोहोर गर्ने गरेको सई गिरीले बताए । ‘बिरामीको पर्चा र वडा कार्यालयको सिफारिसको आधारमा दिनभरका लागि नेपाल–भारत आउजाउ गर्न दिइएको छ,’ उनले भने । 

भारत कोरोना संक्रमणबाट धेरै प्रभावित हुने दोस्रो देश हो । आइतबारसम्म यहाँ संक्रमितको संख्या ८१ लाख ७९ दुई सय ५० पुगेको छ । एक लाख २२ हजार ९९ को मृत्यु भइसकेको छ । पाँच लाख ७२ हजार आठ सय १४ सक्रिय संक्रमित छन् । सर्वसाधारण नेपाली ज्यानको बाजी लगाएर रोजगारीका लागि महामारीको यस्तो भुमरीमा जान बाध्य छन् ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत अनुसन्धाता डा. रत्नमणि नेपालका अनुसार कोरोना महामारीका कारण नेपाल आएका मात्र होइन, अहिलेसम्म भारत नगएका पनि अब भारत जान सक्छन् । ‘बृहत् ढंगले हेर्ने हो भने स्वदेशी श्रम बजार कमजोर भएका कारण यो परिदृश्य देखियो । नेपाली न त खेतीपातीमा नै अडिन सक्ने आधार भो, न रोजगारीका अन्य विकल्प । मेरो विचारमा त कोरोनाकालअघिका वर्षहरूमा भन्दा अबचाहिँ भारत जाने कामदारको संख्या बढी हुन सक्छ । किनभने नेपालका साना तथा मझौला उद्योग र अनौपचारिक क्षेत्रमा जसरी रोजगारी गुमेको छ त्यो हामीले तत्काल पूर्ति गर्न सकिने देखिँदैन,’ उनले भने ।

भिडियो हेर्नुहोस्>>>

यो पनि पढ्नुहोस्