Skip This
उद्यमी बन्न चाहने युवाले सहुलियत ब्याजमा कर्जा पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक १३ बिहीबार o७:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्यमी बन्न चाहने युवाले सहुलियत ब्याजमा कर्जा पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक १३ बिहीबार o७:१o:oo

उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्त रूपमा नवप्रवद्र्धन (स्टार्ट–अप) प्रस्ताव आह्वान गर्ने भएको छ । युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्ने विषयमा तीनै पक्षबीच सम्झौता भएको हो । 

युवाहरूको ज्ञान, सीप र क्षमतालाई नवपरवर्द्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरूलाई उद्यमशीलतासम्बन्धी निःशुल्क तालिम प्रदान गर्ने र सहुलियतपूर्ण कर्जा प्रदान गर्ने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको विशेष उपस्थितिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुंगाना, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । 

यस कार्यक्रममार्फत प्रवाह गरिने कर्जा १ देखि अधिकतम ३ प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैयाँसम्म प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

मन्त्री नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निःशुल्क रूपमा तालिम प्रदान गर्ने बताएका थिए । ज्ञान, सीप र प्रविधिसहित निकै सस्तो ब्याजदरमा विनाधितो युवाहरूले कर्जासमेत प्राप्त गर्ने भएकाले यो आर्थिक वर्षमा एक सयभन्दा बढी नयाँ स्टार्ट–अप कम्पनीहरू स्थापना हुने मन्त्री नेपालको भनाइ थियो । 

विशाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका लागि पूर्ण प्याकेजसहितको कार्यक्रम डिजाइन गरिएको बताए । नयाँ–नयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालिम कसरी लिने भनेर द्विविधामा भएका युवाहरूलाई निःशुल्क रूपमा सरकार, निजी क्षेत्रसहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको गैरेको भनाइ थियो ।

सम्झौताअनुसार मंसिर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने र माघ महिनासम्ममा आइडिया पठाउने, युवालाई तालिम प्रदान गरी चैत महिनाभित्रमा कर्जा दिने जनाइएको छ ।