मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०२:०५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरी नेतृत्वसँग जवान–हवल्दारका ८ गुनासा : बिदा नपाउने मात्र होइन, हाकिमको दुर्व्यवहार पनि   

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०२:०५:००

यस्ता छन् गुनासा 
- नियमअनुसारको बिदा पाइएन 
- ड्युटी समय धेरै भयो 
- सरुवा–बढुवा समयमा हुँदैन, पारदर्शी पनि भएन
- हाकिमद्वारा राम्रो व्यवहार हुँदैन 
- स्केलका सामान पर्याप्त पाइँदैनन्
- खान पुग्ने रासन भत्ता पाएको छैन
- घरपायक सरुवा हुँदैन
- विदेश तालिम र शान्ति मिसनमा अवसर पाइएन

......

नेपाल प्रहरीका जवान र हवल्दारहरूले बिदा नपाएकोदेखि हाकिमहरूले दुव्र्यवहार गर्नेसम्मका गुनासो गरेका छन् । प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरूले मुख्यगरी आठवटा समस्या झेल्नुपरेको बताएका छन् । 

तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम अत्यधिक बढेपछि उनीहरूको समस्या बुझ्न प्रहरीले नौ महिना लगाएर स्थलगत रूपमै अध्ययन गरेको थियो । बिहीबार महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गरेका छन् । 

प्रतिवेदनमा प्रहरी जवान र हवल्दारले मुख्यगरी आठवटा समस्या बताएका छन् । जसको पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदासमेत नपाएको उनीहरूको गुनासो छ । बिदा नपाउँदा परिवार भेट्नसमेत नपाएको उनीहरूको दुःखेसो छ । प्रहरीले ३० दिन घर बिदा तथा १२ दिन भैपरी आउने बिदा पाउने व्यवस्था छ । तर, थोरै प्रहरीले मात्र यो बिदाको सदुपयोग गर्न पाउने गर्छन् । 

कामको अत्यधिक चाप हुने, तर जनशक्ति कम हुने भएकाले अत्यावश्यक अवस्थाबाहेक प्रहरीले विरलै बिदा पाउने गरेका छन् । यो समस्या समाधानका लागि काम सुरु भइसकेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए । ‘अब सबै प्रहरीले नियमअनुसारको बिदा पाउनेछन्,’ उनले भने, ‘यसका लागि सफ्टवेयरमार्फत निगरानी गरिन्छ, कसले कति दिन बिदा पाए भन्ने प्रस्ट हुन्छ ।’ 

त्यस्तै, ड्युटीको समय धेरै भएको जवान तथा हवल्दारले बताएका छन् । दिनमा १८ घन्टासम्म ड्युटी गर्नुपरेको भन्दै उनीहरूले ड्युटी अवधि ८–१० घन्टा बनाउन माग गरेका छन् । खासगरी उपत्यका र तराईका जिल्लामा कार्यरत प्रहरीबाट ‘ओभरड्युटी’को गुनासो आएको प्रहरी प्रवक्ता कडायतले बताए । ढिलो बढुवा हुने र बढुवा पारदर्शीसमेत नहुने गुनासो पनि तल्ला तहका कर्मचारीको छ । 

हाकिमहरूबाट राम्रो व्यवहार नहुने गरेको प्रहरी–हवल्दारको साझा गुनासो छ । हेप्ने गरेको तथा बोल्दा नराम्रा शब्दसमेत प्रयोग गर्ने गरेको उनीहरूले बताएका छन् । यस्तो समस्या समाधान गर्न हालै आचारसंहिता जारी गरिएको र तल्लो तहका प्रहरीलाई राम्रो व्यवहार नगर्ने हाकिमलाई कारबाही गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

युनिफर्मलगायत स्केलका सामान पर्याप्त नभएको, लामो समयसम्म रासनभत्ता वृद्धि नभएको, घरपायक सरुवा नपाएको तथा विदेश तालिम तथा राष्ट्रसंघीय मिसनमा अवसर नपाएको गुनासो पनि उनीहरूले गरेका छन् । विदेश तालिममा अधिकृत तहका प्रहरीलाई मात्र पठाउने गरिएको छ । आफूहरूलाई पनि समानुपातिक रूपमा विदेश तालिममा पठाउनुपर्ने माग उनीहरूले गरेका छन् । त्यस्तै कतिपय प्रहरीले तलबले नपुगेर ऋण लागेको तथा कल्याणकारी योजना बढाउनुपर्ने माग गरेका छन् । सोही सुझाबका आधारमा हालै प्रहरी प्रधान कार्यालयले जवान र सिपाहीका लागि कल्याणकोषमार्फत सहुलियत घर कर्जाको कार्यक्रम ल्याएको छ ।

‘कतिपय समस्या प्रहरीले आन्तरिक रूपमै समाधान गर्न सक्ने किसिमका छन्, त्यसमा सुधारको काम सुरु भइसकेको छ,’ प्रवक्ता कडायतले भने, ‘कतिपय समस्या सरकारले नै हेर्नुपर्ने किसिमका छन् ।’ यो सर्वेक्षणमा जागिर छाडेका प्रहरीको भनाइसमेत समेटिएको प्रवक्ता कडायतले बताए । त्यस्तै, अन्य देशको प्रहरीबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘सिपाही–हवल्दारको मनोबल बढाउन सकियो भयो प्रहरीका लागि मात्र होइन, राज्यकै लागि ठूलो उपलब्धि हुनेछ,’ प्रवक्ता कडायतले भने, ‘यसले अहिलेसम्म जागिर छाड्ने क्रम पनि रोकिने हाम्रो अपेक्षा छ ।’ अध्ययनबाट आएका निष्कर्षहरूले आउने दिनमा मातहतका कर्मचारीलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको महानिरीक्षक क्षेत्रीले बताए । आन्तरिक व्यवस्थापनले मातहतका कर्मचारीको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन–प्रतिवेदनबाट देखिएको बताउँदै उनले प्रतिवेदनले दिएका सुझाबबाट कार्ययोजना तयार पारी कार्यान्वयन गरिने बताए । प्रहरीको योजना तथा विकास निर्देशनालयले सातवटै प्रदेशका विभिन्न १५ जिल्लामा कार्यरत करिब चार हजार तीन सय प्रहरीमाझ सर्वेक्षण गरिएको थियो । 

पछिल्लो तीन वर्षमा सात हजार सात सय १४ प्रहरीले राजीनामा दिएका छन् । सुविधा थोरै र ड्युटी धेरै तथा समयमा बढुवासमेत नहुने गरेकाले राजीनामा दिनुपरेको धेरै प्रहरीको गुनासो छ । ७९ हजार पाँच सय ४३ जनशक्ति रहेको नेपाल प्रहरीमा ७६.८२ प्रतिशत जवान–हवल्दारको दरबन्दी छ । जवानको ४६ हजार दुई सय १९ तथा हवल्दारको १४ हजार आठ सय ८९ जनशक्ति छ । 

जवानबाट हवल्दार हुन १५ वर्ष 

प्रहरीको तल्लो तहमा नैराश्यता छाउनुको एउटा कारण बढुवामा लाग्ने लामो समय पनि हो । प्रहरी जवानबाट हवल्दारमा बढुवा हुन करिब १५ वर्ष लाग्ने गरेको छ । ०६३ मा जवानमा भर्ना भएकाहरू केही महिनाअघि बल्ल हवल्दारमा बढुवा भएका थिए । एक तह बढुवा हुनै लामो समय लाग्दा जागिरप्रति वितृष्णा हुने गरेको प्रहरी जवान तथा हवल्दारको गुनासो छ । यस्ता समस्या समाधानका लागि विगतदेखि छलफल पनि हुँदै आएको छ । वरिष्ठ हवल्दार पद सिर्जना गर्नुपर्ने माग विगतमा पनि उठेको थियो । तर, प्रहरी नेतृत्वले त्यसमा चासो दिएको थिएन ।

त्यस्तै सइबाट इन्स्पेक्टरमा बढुवा हुन पनि करिब १५ वर्ष नै लाग्ने गरेको छ । सइ र इन्स्पेक्टरको बीचमा वरिष्ठ सइको पद राख्नुपर्ने माग उठ्दै आएपछि नेतृत्वले चासो दिएको छैन । बढुवामा लामो समय लाग्ने समस्या समाधानका लागि प्रहरीले नयाँ योजना बनाउने प्रवक्ता कडायतले बताए ।