मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ५ बुधबार
  • Thursday, 21 November, 2024
गुरुराज घिमिरे
२o७७ कार्तिक ५ बुधबार o८:२५:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मार्क्सवादको समाधिमा नेकपाको घर

अग्रलेख

Read Time : > 5 मिनेट
गुरुराज घिमिरे
नयाँ पत्रिका
२o७७ कार्तिक ५ बुधबार o८:२५:oo

मार्क्सवाद बौद्धिक विलास र एकलकाँटे चिन्तन हो, जसले सम्पूर्ण मानव जातिको हित र कल्याणको चिन्ता गर्दैन

अहिले नेपालमा मार्क्सवाद, लेनिनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने नेकपाको स्पष्ट बहुमतको सरकार छ र यो झन्डै दुईतिहाइ निकट छ । गत संसदीय निर्वाचनपश्चात् यो पार्टीले सरकार चलाएको झन्डै अढाई वर्ष नाघेको छ । प्रदेश र स्थानीय सरकारमा समेत नेकपाकै वर्चस्व छ । नयाँ संविधान जारी भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली संस्थागत भएपछि सम्पन्न संसदीय निर्वाचनमा तत्कालीन दुईवटा कम्युनिस्ट पार्टी एमाले र माओवादीबीच भएको गठबन्धनले प्राप्त गरेको स्पष्ट बहुमत र तत्पश्चात् भएको एकीकरणले नेकपाको उदय भएको हो । अलग–अलग पार्टीका रूपमा रहँदासम्म एमालेको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवादीको मार्गदर्शक सिद्धान्त माओ विचारधारा थियो । यी दुवै सिद्धान्तमा तात्विक र मौलिक अन्तर रहेको छ । यस विषयमा चर्चा गर्नु यस आलेखको उद्देश्य होइन । 

मार्गदर्शक विचार फरक हुँदाहुँदै पनि दुवैको सजातीय राजनीति वा एउटै कम्युनिस्ट जन्तर भिरेका कारण दुइटै दल मिलेर चुनाव लड्नु र अन्ततः एकीकरण हुनुलाई नेपाली जनमानसले खासै अनौठो घटनाका रूपमा लिएनन् । राजनीति विचित्रको खेल भने रहेछ । एकताका वर्तमान प्रधानमन्त्री खड्गप्रसाद र पूर्वप्रधानमन्त्री पुष्पकमल एक–अर्काका कटु आलोचक थिए । खड्गप्रसादले पुष्पकमललाई जंगली गुरिल्लाको संज्ञा दिन्थे भने पुष्पकमलले त आफ्नो केन्द्रीय समितिको बैठकबाट खड्गप्रसाद बौलाएको अर्थात् उनको मानसिक सन्तुलन गुमेको किटान नै गरेका थिए । आजको विषय यो पनि होइन । नेकपा मार्क्सवादी दर्शनको आलोकमा चलेको छ त ? र, के साँच्चै मार्क्सवाद वैज्ञानिक चिन्तन हो त ? भन्ने विषयमा थोरै विमर्शको प्रयास गरिनेछ । 

आफ्ना घनिष्ट साथी फ्रेडरिक एंगेल्ससँग मिलेर सन् १८४८ मा कार्ल मार्क्सले कम्युनिस्ट पार्टीको घोषणापत्र लेखे । यतिवेला मार्क्स भर्खरै ३० वर्ष पुगेका थिए । विश्व राजनीतिमा यो एउटा प्रभावशाली झोक्का साबित भयो । एउटा गति र लयमा चलिरहेको विश्व व्यवस्थामा यसले नयाँ हलचल सिर्जना सिर्जना गर्‍यो । मार्क्सले त्यतिन्जेलसम्ममा अनेकौँ दार्शनिक रचनाको प्रकाशन गरिसकेका थिए । उनको विद्यावारिधिको थेसिस दार्शनिक फायरबाखका बारेमा थियो । त्यतिवेला उनी २३ वर्षका मात्र थिए । घोषणापत्रको प्रकाशनपछि युरोपको राजनीतिमा नयाँ बहस सुरु भयो । मार्क्स फ्रान्स र बेल्जियम प्रवासित भए । यो समयसमेत उनले गहन अध्ययन र चिन्तनमा व्यतीत गरे । यसैको पृष्ठभूमिमा सन् १८६७ मा कम्युनिस्टको वेद मानिने ‘पुँजी’को प्रकाशन भयो । 

एडम स्मिथले ‘द वेल्थ अफ नेसन्स’ लेख्नुभन्दा झन्डै दश वर्षअघि पुँजी लेखिएको हो । यो मार्क्सको जीवनकै उच्चतम उपलब्धि थियो । यो सबै कार्ल माक्र्सको मेधा र उच्च प्रतिभाको परिणाम थियो । उनी साँच्चै मेधावी र प्रतिभाशाली थिए भन्ने विषयमा कुनै विवाद गर्नु व्यर्थ छ । यस ग्रन्थले कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नै सम्पोषण प्रदान गरेको छ । साँच्चै भन्ने हो भने यो घोषणापत्रको विस्तृत व्याख्याका रूपमा र यसको औचित्यलाई प्रस्ट्याउने भगीरथ प्रयत्न हो भन्नुपर्छ । यसले झन्डै ५० वर्षको उमेरमा उनलाई विश्वकै अब्बल चिन्तकको रूपमा स्थापित गरायो । यसैगरी, विश्व राजनीतिमा अभिनव चिन्तनको अभ्युदयसमेत भयो । त्यसयता संसारभरिका राजनीतिक, सामाजिक र आर्थिक बहसको कहिले केन्द्रमा त कहिले किनारामा माक्र्सवादको उपस्थिति रह्यो ।

मार्क्सको वर्गवाद उनको स्वैरकल्पनाको मिठो साहित्य मात्र हो । यसको कहीँ पनि सार्थक प्रयोग छैन भन्ने पेरिस कम्युनले प्रमाणित गरेकै छ । २३ वर्षमा विद्यावारिधि गरेर ३० वर्षमा घोषणापत्र लेख्नु मार्क्सको फगत रोमाञ्चकता र उमेरजन्य उन्माद मात्र थियो ।

मार्क्सले हेगेलको आदर्शवादी द्वन्द्ववादलाई भौतिकवादी द्वन्द्ववादमा रूपान्तरण गरे । यद्यपि, यसलाई उनको मौलिक चिन्तन मानिन्छ । मानव जातिको समग्र इतिहास नै वर्गसंघर्षको इतिहास भएको र समाजमा विद्यमान सबै प्रकारका शोषणको अन्त्यको अचुक औषधि पनि वर्गसंघर्ष नै हो भन्ने उनको निष्कर्ष हो । यसका लागि उनले पुँजीवादी क्रान्तिको अपरिहार्यतासमेत औँल्याएका छन् । यसले ठूलो मजदुर वर्गको उदय हुनेछ र यसैलाई सर्वहारा वर्ग भनिनेछ । यो वर्ग संगठित हुने र निकै ताकतवर एवं निर्णायक हुनेसमेत उनको ठम्याइ छ । समाजमा रहेका सबै प्रकारका शोषणको अन्त्य नभएसम्म मानव जाति वास्तविक रूपमा स्वतन्त्र नहुने र वास्तविक स्वतन्त्रताका लागि वर्गसंघर्षको विकल्प नरहेको ठहर कार्ल माक्र्सको हो । कारखानामा उत्पादित वस्तुको मूल कारण मजदुरको सीप र श्रम हो । तर, वस्तुबाट प्राप्त मुनाफाको अधिकांश हिस्सा पुँजीपतिले लिने या खाने भएकाले थोरै ज्यालामा काम गर्ने मजदुरमाथि अकल्पनीय शोषण रहेको कुरा औँल्याउँदै यस मुनाफालाई उनले अतिरिक्त मूल्यको संज्ञा दिएका छन् । यसलाई अतिरिक्त मूल्यको सिद्धान्त भनिन्छ । उनले बेलायत यसको पहिलो प्रयोग भूमि हुनेसमेत भविष्यवाणी गरे । एक हदसम्म पुँजीपतिहरू समाजवादी क्रान्तिको पूर्वाधार निर्माणमा सहायक र एक चरणका ठूला क्रान्तिकारी हुने कुरा माक्र्सले उद्घोष गरे ।

अब प्रश्न उठ्छ, नेकपा मार्क्सवादी बाटोमा छ त ? अनि संसारका कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको विचार र बाटोलाई अनुसरण गरेका छन् त ? यसमा हामी सबै छर्लंग हुनैपर्छ कि संसारका कुनै पनि कम्युनिस्ट पार्टीले मार्क्सको मार्गदर्शनलाई पछ्याएका छैनन् । किटेर भन्न सकिन्छ कि सबैजसो कम्युनिस्ट पार्टीले लेनिनवाद–माओवाद र स्टालिनवादलाई अनुसरण गरेका छन् । क्युवादेखि कम्बोडियासम्म, रसियादेखि चीनसम्म कहीँ कतै कसैले पनि माक्र्सवादको अनुसरण गरेनन् । मार्क्सलाई खोपाको देउता बनाएर तथाकथित कम्युनिस्ट शासनको स्थापना गरेका हुन् । मार्क्सले रसियामा क्रान्ति हुन लामो समय लाग्ने बताएका थिए । तर, लेनिनले लालसेना, रेड गार्डको बलमा तीन सय वर्ष पुरानो रोमानोभ वंशको अन्त्य गरी कम्युनिस्ट पार्टीको शासन स्थापना गरे । 

उनले रसियाको कृषि क्षेत्रमा पुँजीवादी क्रान्ति सम्पन्न भएको भन्दै समाजवादी क्रान्तिको पूर्वाधार तयार भइसकेकाले अब क्रान्ति गर्न ढिलो गर्नु हुँदैन भन्ने तर्क अघि सारेका थिए । उनी ठूला नेता भएकाले अरू धेरै नेताको विचारले कुनै ठाउँ पाएन । चीनमा मार्क्सवादको सिर्जनात्मक प्रयोग भन्दै यसको मौलिक चिन्तनलाई नै फेरबदल गरे । लाखौँ छापामारको दस्ता तयार गरी त्यसैको बलमा तत्कालीन लोकतन्त्रलाई समाप्त गरी कम्युनिस्ट शासन स्थापना गरे । न त्यहाँ पुँजीवादी क्रान्ति सम्पन्न हुनुपर्‍यो, न त सर्वहारा वर्गको उदय आवश्यक भयो । गरिब चिनियाँ माओवादी योजनाका मोहोरा भए । ठूलो संघर्षबाट स्थापना भएको लोकतन्त्रको हत्या भयो । गज्जबको कुरा त के भयो भने कम्युनिस्ट शासन चलिरहेको चीनमा माओत्सेतुङको मृत्युपछि देङस्याओ पिङले राष्ट्रिय नीतिमा ठूलो परिवर्तन गरी बल्ल मार्क्सले भनेजस्तो पुँजीवादी क्रान्ति भयो । कम्युनिस्ट शासन ल्याउन हुनुपर्ने पुँजीवादी क्रान्ति कम्युनिस्ट शासनले किन गर्नुपर्‍यो त ? यो प्रश्न निकै विचारणीय छ, यसको चर्चा समयक्रममा गर्दै गरौँला ।

कार्ल मार्क्सको विचार र दर्शन विश्वव्यापी, प्रख्यात र एक हदसम्म कुख्यात पनि छ, कारण यिनकै नाममा धेरै कृत्य भएका छन् । अब अलिकति चर्चा गरौँ कि माक्र्स आफैँ ठीक थिए त ? एक त संसारमा भएका कम्युनिस्ट क्रान्ति मार्क्सवादसम्मत थिएनन् नै, त्यसका साथै स्वयं माक्र्सको विचार उपयुक्त थियो त ? संसारमा आफ्नो पहिचान स्थापित गरेको यो दर्शन कुनै पनि दृष्टिले मानवतावादी चिन्तन र दर्शन होइन । एक प्रकारले मार्क्सवाद बौद्धिक विलास र एकलकाँटे चिन्तन हो, जसले सम्पूर्ण मानव जातिको हित र कल्याणको चिन्ता गर्दैन । संसारका सबै मानिस उही रूपमा पैदा हुन्छन् । जन्मले कसैलाई विभेद गर्दैन । उसको जीवनमा आपसी प्रतिस्पर्धाले विभेद पैदा हुन्छ । मजदुरको हित मात्रले सम्पूर्ण मानव जातिको कल्याण हुँदैन । सृष्टिको प्रारम्भमा कुनै वर्ग थिएन । त्यसैले मानव जातिको इतिहासलाई वर्गसंघर्षको इतिहास भन्नु आफैँमा गलत निष्कर्ष हो । वर्गको उदय त धेरै पछि भएको हो, राज्यको उत्पत्तिभन्दा पछि । राज्यको उत्पत्ति वर्गको उदयको धेरै कारणमध्ये एक हो । नत्र मानिस त पशुझैँ यायावर थियो । पशुसरह लड्नु उसको प्रारम्भिक स्वभाव थियो । यसका बारेमा राहुल सांङ्कृत्यायनले ‘गंगा से भोल्गा तक’ मा र हरारीले ‘सेपियन्स अ ब्रिफ हिस्ट्री अफ ह्युमन काइन्ड’मा सकेसम्म अथ्र्याएका छन् । 

मार्क्सको वर्गवाद उनको स्वैरकल्पनाको मीठो साहित्य मात्र हो । यसको कहीँ पनि सार्थक प्रयोग छैन भन्ने कुरा सन् १८७१ को ७२ दिने पेरिस कम्युनले प्रमाणित गरेकै छ । एक त उनले सुन्दर साहित्य रचे, जसलाई राजनीतिक रङ दिए । २३ वर्षमा विद्यावारिधि गरेर ३० वर्षमा घोषणापत्र लेख्नु उनको फगत रोमाञ्चकता र उमेरजन्य उन्माद मात्र थियो । एउटा राजनीतिक साहित्यलाई प्रयोगमा ल्याउनु किमार्थ सम्भव थिएन । विडम्बना नै मान्नुपर्छ, उनको चिन्तनलाई लेनिनले साँच्चै दुरुपयोग गरे । त्यसपछि अरू त भेडासरह पछि लागेका हुन् । संसारमा आजसम्म यसले बितेका झन्डै पौने दुई सय वर्षमा किन सफलता हासिल गर्न सकेन त ? लेनिनपछि माओले यसको चलाखीपूर्ण सदुपयोग गरेका हुन् । चीनले त अहिलेसम्म मार्क्सवादलाई शतप्रतिशत मान्दैमानेको छैन । विचित्रको कुरा छ, माओ विचारधारा मान्ने पार्टी माओवादी अहिले आएर माक्र्सवादी–लेनिनवादी भएको छ । माओवादले लेनिनवादलाई समेत कहिल्यै स्वीकार गरेको पाइँदैन । तर, माओवादी पार्टी एकैपटक लेनिनवादी पनि भएको छ ।

गलत सिद्धान्त धारण गरेका संस्थाले जतिसुकै चमकदार प्रस्तुति दिए पनि ती सबै पानीका फोका हुन् भन्ने कुरा वर्तमान नेकपाको सरकार हो । एक त नेकपाको महल कार्ल मार्क्सको समाधिमा खडा भएको छ, सँगसँगै मार्क्सवाद कोरा कल्पना मात्र हो र अर्को योसँग कुनै गन्तव्य र जिम्मेदारीको कार्यसूची छैन । सत्तालोलुप तीव्र महत्वाकांक्षाको भद्दा चित्र नेकपाको असली चिनारी हो भन्दा कुनै अतिशयोक्ति हुनेछैन ।