
‘कमब्याक’का कारण
सत्तापक्षको लगातार आक्रमण र घेराबन्दीमा परेका रवि लामिछाने रणनीतिक उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिकै भूमिकामा फर्केका छन् । साढे पाँच महिनापछि सोमबार पार्टी सभापतिकै औपचारिक जिम्मेवारीमा फर्किएका लामिछानेले पार्टीप्रति उठाइएका राजनीतिकसहितका प्रश्न र चुनौतीको सामना गर्ने, विकल्पको राजनीति कमजोर भएको छैन भन्ने सन्देश दिने र पार्टी संगठनमा हुन सक्ने क्षति रोक्ने रणनीति राखेका छन् । यसैअनुसार उनले केन्द्रीय समिति बैठकबाट निर्णय गराउन थालिसकेका छन् ।
सहकारी अपचलन अभियोगमा २ कातिकमा पक्राउ परेपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डिपी अर्याललाई दिएका थिए । लामिछाने कार्यकारी जिम्मेवारीमा फर्किएकै दिन रास्वपाले संगठन संरचनामा व्यापक फेरबदल गर्ने निर्णय गरेको छ । लामिछानेले सभापतित्व गरेको केन्द्रीय समिति बैठकले पार्टी संरचना अझै सबल र सशक्त बनाउन ‘म्यासिभ रिफर्म’ गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
केन्द्रीय समितिमा आफूमाथि राज्यले राखेको राजनीतिक प्रतिशोध र यातना दिएको पीडादायक अनुभूति सुनाउँदै लामिछाने अझै पनि सरकारले सबै शक्ति रास्वपामा केन्द्रित गरिरहेकाले सशक्त हुन जरुरी रहेको धारणा राखेका थिए । ‘आजको दिनमा राज्यसत्ताद्वारा लादिएको पीडा र सबै संघर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने स्थापित भइसकेको छ,’ उनले भने, ‘सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ । यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ । त्यसैले हामीले अहिलेको पार्टी संरचना अझै सबल र सशक्त बनाउनुपर्छ ।’
सभापति लामिछानेले गणतन्त्र ठुला नेताको पेवा नभएको बताए । ‘गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र होइन । जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौँ,’ उनले भने, ‘यसका लागि हामी पार्टी संगठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जानुपर्छ । हामी सबै तयार हुनुपर्छ ।’पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पार्टीका संगठनलाई अझै चलायमान बनाउन जिम्मेवारी हेरफेर गर्न लागिएको हो । ‘रास्वपामाथि चुनौती बढिरहेका छन् । प्रतिद्वन्द्वी दलहरूले रास्वपाविरुद्ध निषेधको राजनीति गरेका छन् । जुन चुनौती आइरहेको छ, लडाइँको प्रारूप बदलिराखेको छ, हाम्रो क्षमता बदल्नुपर्छ, बढाउनुपर्छ । मिसन ०८४ लाई जनहितका पक्षमा निर्णायक अवसर बनाउन प्रेरित गर्दै एकदमै ऊर्जाका साथ काम गर्न जरुरी छ भनेर रिफर्मको कुरा आएको हो,’ झाले भने ।
लामिछानेले रास्वपा देश बनाउनका लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी भन्दै जिम्मेवारी पाएका नेतालाई समीक्षा गर्न आह्वान गरे । ‘मैले के गर्नुपर्छ भन्नुस् । १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीका लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु,’ उनले भने । लामिछानेले पार्टी फुटाउने षड्यन्त्रहरू भइरहेको दाबी गर्दै सबै एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताए ।
बैठकपछि पार्टी कार्यालयमा रविले सरकारले टाउकोमाथि तरबार झुन्ड्याएकै कारण प्रतिवाद आवश्यक रहेको बताए । ‘मैले सोचेको थिएँ, अझै केही समय शान्त बसौँ । तर, सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा मुद्दासमेत नबुझाएर राखेको छ,’ उनले भने, ‘यिनलाई लागेको छ– यसको टाउकोमाथि एउटा तरबार राख्यो भने चुपचाप बस्छ, यो डराउँछ । कुनै पनि वेला शिरमाथि लागेको तरबार खसाल, म थाप्न तयार छु ।’
अहिलेकै कार्ययोजना, कार्यविधि, कार्यशैली र क्षमताले आगामी लक्ष्यसम्म नपुर्याउने भएकाले समीक्षा गर्न भनिएको कार्यवाहक प्रवक्ता झाले बताए । ‘अमेरिकन लेखक मार्सल गोल्डस्मिथको ‘ह्वाट गट यु हियर, वन्ट गेट यु दियर’ अर्थात् जुन कुराले मलाई यहाँ पुर्यायो, त्यही कुराले आगामी लक्ष्यमा पुर्याउँदैन भन्ने भनाइ सभापतिले स्मरण गराउनुभएको हो । सबैले आ–आफ्नो कार्यप्रगति रिभ्यु गर्नुस् भन्नुभएको छ । अब पार्टी संगठन र संसदीय दल सबैमा व्यापक हेरफेर हुन्छ ।’
देशव्यापी जनयात्रा गर्ने
रास्वपाले जनताको कुरा सुन्ने यात्रा अर्थात् जनयात्रा गर्ने भएको छ । २३ चैतमा चितवनबाट जनयात्राको शुभारम्भ गरिने कार्यवाहक प्रवक्ता झाले बताए । उनका अनुसार यो यात्राका क्रममा देशव्यापी रूपमा जनतासँग अन्तर्क्रिया गरिनेछ । जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजनको जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छ ।
केन्द्रीय समिति बैठकमा रविले भने– अब हामी परिवर्तनको नेतृत्व गर्छौँ
मीले राणा शासन देखेनौँँ, पञ्चायत झेल्न परेन । तर, अहिलेको समयमा राज्यले गर्ने राजनीतिक प्रतिशोध र यातनाको पीडादायक अनुभूति गर्नुप¥यो । यो कालखण्ड कति कष्टकर थियो भन्ने सम्झँदा मात्र पनि दुःख लाग्छ । आजको दिनमा यो सम्पूर्ण यातना केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने कुरा स्थापित भइसकेको छ ।
चितवनबाट मध्यरातमा त्रिशूली किनारतिर लगिँदा मेरो ज्यानको खतरा छ भन्ने लागेको थियो । मेरो डायरी खोसियो, कहाँ जलाइयो थाहा छैन । नक्खुमा बाढीपहिरोपीडित चार नागरिकलाई उद्धार गर्न नसकेको गृह मन्त्रालय र तीनकुनेमा हजारौँको भिड सम्हाल्न असफल सरकारले आफ्नो सम्पूर्ण शक्ति हामीमाथि प्रहार गर्नमा केन्द्रित गरिरहेको छ ।
यो गठबन्धनले अर्को प्रहार गर्न सक्छ । त्यसैले अहिलेको पार्टी संरचना अझ सबल र सशक्त बनाउन आवश्यक छ । अब समय आएको छ– हामीले पार्टीको संरचनामा सुधार र सशक्तीकरणको दिशामा अघि बढ्नुपर्छ । म पार्टीमा म्यासिभ रिफर्म (व्यापक सुधार)मा काम गर्न चाहन्छु । गणतन्त्र भनेको कुनै व्यक्तिविशेषको शासन होइन, न त ओलीतन्त्र हो, न देउवातन्त्र । गणतन्त्र भनेको जनताको शासन हो र यो झन्डा हामीले उठाउनुपर्छ । गणतन्त्रको उत्कृष्टता प्रमाणित गर्न आवश्यक छ । केही अभ्यास सफल भएका छन्, केही असफल छन् । हालको संविधान र व्यवस्थामा सुधार आवश्यक छ र त्यसको नेतृत्व अब हामी लिनेछौँ ।
यसै सन्दर्भमा संगठनको ठुलो पुनर्संरचनाका लागि हामीले काम गर्न आवश्यक छ । सबैलाई यसका लागि तयार रहन आग्रह गर्छु । राष्ट्रिय स्वतन्त्र पार्टी कुनै अन्य दलमा अवसर नपाएका व्यक्तिहरूको थलो मात्र होइन, यो देश बनाउन इच्छुकहरूको अभियान हो । अब हामी समग्र परिवर्तनको नेतृत्व गर्छौँ ।
मिसन ब्लुप्रिन्ट कार्यदल गठन
केन्द्रीय समितिले राष्ट्रनिर्माणसम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरेको छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सदस्य छन् । त्यस्तै, लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ ।