मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ चैत १८ सोमबार o८:१३:oo
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

‘प्रधानमन्त्रीको दबाब र हेपाइले राजीनामा दिन बाध्य भएँ’

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार o८:१३:oo

सर्वोच्च अदालतको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गर्न दबाब आएपछि त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यकालको १३ महिनामै राजीनामा दिन बाध्य भए । चार वर्षका लागि मेरिटअनुसार नै १० फागुन ०८० मा उपकुलपति नियुक्त बरालले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन् । राजीनामापत्रमा स्वास्थ्य ठिक नभएको कारण देखाएका उनले नयाँ पत्रिकासँग खुलेर भनेका छन्– प्रधानमन्त्री (केपी ओली)को दबाब र हेपाइका कारण राजीनामा दिन बाध्य भएँ । सरकारी पिएसओ र गाडीलगायत सुविधा पनि फिर्ता गरिसकेका उनलाई नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरेले केही प्रश्न गरेका छन् :

चारवर्षे कार्यकालको १३ महिनामै उपकुलपतिबाट अचानक किन राजीनामा दिनुभयो ? 
त्रिविका पछिल्ला घटनाक्रमबारे तपाईंलाई पनि थाहै छ । पछिल्लोपटक (२७ मंसिर) भएको त्रिवि सभामा बबाल नै मच्चिएको थियो । कर्मचारीले मलाई एक घण्टा थुने । प्रहरीले मेरो रेस्क्यु (उद्धार) गरेको थियो । त्यही सभामा प्रधानमन्त्री (केपी ओली)ले सात दिनमा डिन नियुक्त गर्न अल्टिमेटम दिनुभएको थियो । त्यसको सात दिनपछि सिंहदरबारमा सभाको अर्को बैठक बस्यो । उक्त बैठकमा मैले अघिल्लो बैठकको माइन्युट प्रमाणित गर्न प्रधानमन्त्रीकहाँ लगेको थिएँ । तर, उहाँले प्रमाणित गर्नुभएन । खै के कारणले हो मैले धेरैपटक मेसेज पठाउँदा पनि रेस्पोन्स गर्नुभएन । कर्मचारीले थुनेको घटनाले असह्य बनाएको मलाई कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले पनि साथ नदिँदा दिक्क बनायो । त्यसअघि त्रिविको नीति तथा कार्यक्रम वेलैमा पास नगरिदिएरसमेत प्रधानमन्त्रीले हैरान पार्नुभयो । असारमै हुनुपर्नेमा मंसिरमा मात्रै पास भएको थियो । प्रधानमन्त्रीले असहयोग गरेपछि उपकुलपति कतिपटक सिंहदरबार धाउने भन्ने विषयले तनाव गरायो । हेपिएको महसुस भयो । माथिल्लो तहबाटै नराम्रो भएपछि, वास्ता नगरेपछि काम गर्ने मनस्थिति पनि बिग्रियो । यस्तै राजनीतिक खेल रहेसम्म त्रिवि बनाउन सकिन्न भन्ने निष्कर्षमा पुगेपछि पदमा बस्न मन लागेन । 

त्रिविमा उपकुलपतिले अहिले सामना गर्नुपर्ने सबैभन्दा ठुलो समस्या र चुनौती के रहेछ ? 
त्रिविमा सबै दलका भ्रातृ संगठनका मान्छेहरू रहेछन् । करारका प्राध्यापक र कर्मचारीलाई कुनै पनि हालतमा स्थायी नियुक्त गर्नुपर्ने दबाब ममाथि आइलाग्यो । सर्वोच्च अदालतले नै नियुक्ति नगर्नू भनेर फैसला गरिसकेको छ । अदालतको विरुद्धमा गएर २२ सय आंशिक शिक्षक र सयौँ कर्मचारी कसरी व्यवस्थापन गर्ने ? अर्कोतर्फ त्रिविलाई आर्थिक भार पनि पर्ने भएकाले यो निर्णय लिन सम्भव थिएन । कुलपतिबाटै दबाब आयो, तर कानुनी शासन पालना गर्ने मेरो नैतिकताले अदालतको विरुद्धमा जान दिएन । बरु, कुर्सी त्याग्न तयार भएँ । 

नियुक्त हुँदै गर्दा के सोच्नुभएको थियो, काम गर्दै जाँदा अवस्थाबारे के निष्कर्षमा पुग्नुभयो ?
त्रिविमा म जागिर खान आएको थिइनँ । त्रिवि सुधार गर्न सकिने उत्साह बोकेर भित्रिएको थिएँ । तर, राजनीतिक हस्तक्षेप यस्तै रहने हो भने त्रिवि सुधार्न सम्भव रहेनछ । यो अवस्थामा सुधार गर्न सकिन्न भन्ने निचोडमा पुगेपछि नै मैले पद त्याग्ने निर्णय गरेको हुँ । अर्का कोही आएर काम गर्न सक्छ भने ठाउँ खाली गरिदिनुपर्छ । तर, यही अवस्थामा कोही आउँदा पनि त्रिवि सुधार्न सम्भव छैन । मैले सुधार गर्ने ठाउँ देखिनँ । विद्यार्थी, कर्मचारी र प्राध्यापकको दबदबा बढी रहेछ । स्ववियु चुनावसमेत विद्यार्थीको होइन, पार्टीको हुने रहेछ । त्रिविमा राजनीतिक आततायी रहेछ । 

विद्यार्थी र त्रिवि पदाधिकारीहरूको असहयोग पनि राजीनामाको कारण हो ?
विद्यार्थीबाट केही न केही अवरोध त भए, तर काम गर्नै समस्या पर्ने गरी भएन । विद्यार्थीको असहयोग र अवरोधका कारण राजीनामा दिएको होइन । त्यस्तै, रेक्टर र रजिस्ट्रारले पनि सहयोग गरेकै हो । तर, उहाँहरू राजनीतिक रूपमा गाइडेट भएजस्तो लाग्यो । कार्यकारीले पास गरेका विषय पनि उहाँहरूले कार्यान्वयन गर्नुभएन । खासमा त्रिवि दलीय भागबन्डाबाट मुक्त हुन सकेन । 

तपाईंले १३ महिनामा त्रिविमा सुधार गरेका केही उदाहरण दिन सक्नुहुन्छ ? 
मैले त्रिविलाई दलीय भागबन्डामुक्त गराउन खोजेको हो । मेरै कारण त्रिविका नियुक्तिमा अहिले मेरिटोक्रेसी लागू भएको छ । यसअघि पदाधिकारी दल र कसैको गोजीबाट नियुक्त हुन्थे । मैले सुधार्ने कोसिस गरेँ । तैपनि डिन नियुक्तिमा पूर्ण रूपमा लागू हुन सकेन, अरूमा लागू भयो । म उपकुलपति बनेपछि शैक्षिक क्यालेन्डर पनि बन्यो । परीक्षा तालिका र नतिजा ट्र्याकमा आयो । अन्तिम वर्षमा एक–दुई विषयमा फेल भए पनि मौका परीक्षाको व्यवस्था गरेर विद्यार्थीमाथि न्यायको सुरुवात थाल्यौँ । यही एक वर्षमा त्रिविको जग्गासम्बन्धी प्रतिवेदन सार्वजनिक भयो, स्ववियु निर्वाचन अघि बढ्यो, क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालयको अवस्था सुधार भयो । छोटो समयमा यस्ता केही उल्लेखनीय काम गर्‍यौँ ।