
होटेल पौवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ। ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिने गरी स्थापना भएको होटेल पौवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर ‘स्वाद उत्सव’ कार्यक्रम गर्न लागेको होटेल पौवाका अध्यक्ष दुर्गा भण्डारीले बताए।
चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद उत्सवमा नेपाली स्वाद झल्किने मौलिक खानाको प्रस्तुति हुने अध्यक्ष भण्डारीको भनाइ छ। यो उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको बताइएको छ। उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पुर्याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको भण्डारीले बताए।
पौवाका सेफहरूबिच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्ने लक्ष्यसमेत रहेको बताइएको छ। स्वाद उत्सवमा पाहुनाहरूले दिने प्रतिक्रियाले सेफहरूको अनुभवमा निखारता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको पौवाले जनाएको छ। यो उत्सवको अर्को महत्त्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहनसमेत गर्नु रहेको उनले बताए।
‘स्वाद उत्सव’मा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाहुनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको छ। ती सबै अतिथिलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ।
नौलो प्रस्तुतिका रूपमा ९ वर्षअघि उदाएको पौवाले आफ्नो नामको भावलाई प्रतिबिम्बित गर्ने गरी आतिथ्य सेवा प्रदान गर्दै आएको छ। पाहुनाहरूले गरेको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भैरहेको भण्डारीले बताए।
९ वर्षअघि लुम्बिनीबाट यात्रा सुरु गरेको होटेल पौवाको शाखा अहिले १८ वटा पुगिसकेको छ। जहाँ ७०० भन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। नेपालगन्जमा पाँचतारे होटेल ‘पौवा वेस्टर्न’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भैरहेको छ। अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भइसकेको छ। सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना गर्न लागेको पौवाले छिट्टै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट खोल्ने तयारी गरेको छ।