मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार ११:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यावसायिक कामले भारतको पटना गएका टंकराज उप्रेतीको अवस्था अज्ञात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार ११:o१:oo

मोबाइल फोनमा आएको शंकास्पद सन्देशले बाराको निजगढ नगरपालिका– ७ काे एक परिवार यतिवेला शोकमा डुबेको छ । व्यावसायिक कामको क्रममा भारतको पटना जान्छु भनेर शनिबार दिउँसो १२:३० बजे घरबाट निस्किएका निजगढ नगरपालिका– ७ नगरपालिका रोड बस्ने टंकराज उप्रेती (दीपक)ले चलाउने भारतीय सिमको मोबाइलबाट श्रीमती कल्पनाको ह्वाट्सअप म्यासेन्जरमा सोही रात ११:४५ बजे आएको शंकास्पद र दुःखद सन्देशले परिवार शोकमा डुबेको हो । 

उप्रेतीकी श्रीमती कल्पनालाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुसवाहाले दिएको जानकारीअनुसार म्यासेजमा उप्रेतीलाई आसामको बोरो आदिवासीको ‘बोरो ब्रदर्स एन्ड मर्डर’ नामको समूहले साइनाइड नामक ग्यास सुँघाएर हत्या गरिएको बताइएको छ । हत्याबापत उनीहरूले २० हजार अमेरिकी डलर लिएको पनि म्यासेजमा उल्लेख छ । म्यासेजमा उप्रेतीको शव हाल जयगाउँस्थित टिष्टा नदीको अगाडि भुटानको बोर्डरछेउको एउटा कोठामा राखिएको र तीन दिनपछि शवसहित, ब्याग र कपडा नेपाल पार्सल गरिदिने पनि उल्लेख छ । 

प्रहरी निरीक्षक कुसवाहाले कल्पनालाई राति आएको म्यासेजको पुष्टि भइनसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको बताएका छन् । उनले भारतीय सिमबाट म्यासेज आएकाले सोको बारेमा भारतीय प्रहरीमार्फत अनुसन्धान कार्य गरिने बताए । निरीक्षक कुसवाहाका अनुसार यसअघि शनिबार साँझ श्रीमती कल्पनाले गरेको फोन रिसिभ नभएपछि सोही सिमबाट ‘मलाई फोन नगर केहीबेरपछि म आफैँ म्यासेज गर्छु’ भनेर उप्रेतीले म्यासेज पठाएका थिए, तर लामो समयसम्म पनि कुनै सन्देश नआएपछि कल्पनाले ह्वाट्सअपमा दोस्रोपटक म्यासेज गर्दा उताबाट अर्कै मान्छेले लेखेको जस्तो लाग्ने गरी ‘उसलाई म्यासेज नगर’ भनेर उत्तर पठाइएको र त्यसपछि हिन्दी भाषामा हत्या गरिएको भन्ने अपुष्ट विवरणसहितको लामो सन्देश आएको पाइएको निरीक्षक कुसवाहाले जानकारी दिए । 

उप्रेतीले पुराना गाडी किनबेच गर्ने व्यवसाय गर्दै आएको पारिवारिक स्रोतबाट खुलेको प्रहरीले जनाएको छ । व्यवसायको क्रममा भारत सिलगुडीका एकजनासँग लिनुपर्ने रकम लिन भनेर उप्रेती शनिबार दिउँसो पटनातर्फ गएका थिए । ती व्यवसायीले नै उप्रेतीलाई पटना बोलाएको बताइएको छ । यसैबिच जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष लामाले उप्रेती परिवारसँग भेट गरेका छन् । उनले भारतीय प्रहरीको सहयोगमा उप्रेतीले प्रयोग गरेको मोबाइल फोनको लोकेसन ट्रेस गर्न नेपाल प्रहरीले आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

यसैबिच सोमबार बिहान ८:१४ बजे पुनः दीपकले प्रयोग गर्ने भारतीय सिमको मोबाइलबाट श्रीमती कल्पनाको मोबाइलमा अर्को शंकास्पद र सन्देहात्मक म्यासेज आएको जनाइएको छ । म्यासेजमा ‘घटना जे भयो सकियो, यसबारेमा थप खोजबिन गरे कसैलाई पनि राम्रो हुँदैन’ भनेर धम्क्याइएको प्रहरीले बताएको छ । 

शनिबार राति ११:४५ बजे आएको शंकास्पद र दुःखद सन्देशले शोकमा डुबेको उप्रेती परिवार पछिल्लो म्यासेजले थप चिन्तामा परेको छ । नेपाल प्रहरीको समन्वयमा उप्रेतीको अवस्थाबारे अनुसन्धान गरिरहेको भारतीय प्रहरीले उनले प्रयोग गर्ने मोबाइलको लोकेसन पत्ता लगाउने प्रयास गरिरहेको छ । भारतीय प्रहरीले बारा प्रहरीमा दिएको जनकारीअनुसार उप्रेतीले प्रयोग गर्ने मोबाइलको लोकेसन आइतबार बिहान मोतीहारी र राति उत्तरप्रदेशमा देखिएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक कुसवाहाले श्रीमती कल्पनालाई आएको म्यासेजको सत्यताबारे पुष्टि भइनसकेको र यसबारे भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।यता जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा उप्रेतीको अवस्था पत्ता लगाउन भनेर भारतको मोतीहारीतर्फ गएका आफन्तहरूले कुनै सूचना दिन नसकेको निजगढ प्रहरीले जनाएको छ । भारतमा सोमबार इद पर्वको बिदा परेकाले प्रहरीमार्फत खोजबिनका लागि मोतीहारीतर्फ गएका आफन्तहरूले थप सूचना प्राप्त गर्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुसवाहाले जानकारी दिए । 

दीपकले प्रयोग गर्ने भारतीय सिमको मोबाइलबाट शनिबार राति शंकास्पद र अपुष्ट म्यासेज आएपछि खोजीका लागि दुईजना आफन्त आइतबार बिहान भारततर्फ गएका हुन् ।