
स्ववियु निर्वाचनको मुखमा आफू हार्ने डरले कलेजहरूमा तालाबन्दी गरी निर्वाचनमा अवरोध गर्नुलाई कसरी हेर्नुभएको छ ?
विद्यार्थी संगठनहरू चुनावअघिसम्म कहाँ हुन्छन्, कसो गर्छन्, कसैलाई थाहा हुँदैन । तिनका संस्थागत गतिविधि शून्यबराबर हुन्छन् । निर्वाचन आएपछि ससाना झुन्ड बनाएर संगठनभित्र पौँठेजोरी खेल्नेहरूले उम्मेदवारी पाउँछन्, नपाउनेले विद्रोह गर्छन् । विद्रोह नगर्नेहरूले अन्तर्घात गर्छन् । यसैको कडी हो तालाबन्दी वा तोडफोड । कतै निर्वाचन समितिको पक्षपात र भेदभावका कारण पनि अस्वाभाविक घटना भएका छन् भने कतै पार्टी नेताको गुटगत संरक्षण र अनुचित प्रभावका कारण पनि त्यस्तो भएको छ ।
संस्कारयुक्त राजनीतिको आधार बन्नुपर्ने स्ववियुमा विद्यार्थीले किन संस्कारहीन राजनीतिलाई मलजल गरिरहेका होलान् ?
यसमा राजनीतिक दलहरू पनि जिम्मेवार छन् । विद्यार्थी संगठन देशको राजनीतिक नेतृत्व उत्पादन गर्ने कारखाना हुन् । दलहरू भविष्यका लागि कस्ता नेता उत्पादन गर्दै छन् ? विद्यार्थीलाई के सिकाउँदै छन् ? दलका नेता आफैँ के गर्दै छन् ? त्यसैको सोझो प्रभाव विद्यार्थी संगठनमा छ । कलिला विद्यार्थीले दलको पाठशालामा जे पढ्छन्, त्यसैलाई व्यवहारमा उतार्छन् । नेता र समाजले जे सिकाउँछन्, त्यसैको प्रतिविम्ब हो यो ।
यस्तो अराजकतामा ‘ब्याक सपोर्ट’ दिएर विद्यार्थी संगठन र दलहरूले कस्ता ‘क्याडर’ उत्पादन गर्न खोजिरहेका छन् ?
अराजकताले समकालीन राजनीतिकर्मीलाई मात्र फाइदा पु¥याउने हो । राम्रो थिति र विधिले गतिलो नेता जन्माउँछ । राम्रो नेता पैदा हुँदा वर्तमान नेताको भातभान्सा उठ्छ । त्यसैले अराजकता र विधिविहीनता बढाएर आफ्नो राजनीतिक आयु लम्ब्याउन र शक्ति कायम राख्न दल तथा तिनका नेताले मौजुदा परिस्थितिलाई अक्षुण्य राखेका हुन् । विद्यार्थीले पनि आफ्नो सुदूर भविष्यप्रति बेखबर भई विनाशको खाल्डो आफैँ खनिरहेका छन् । यसका लागि विद्यार्थी संगठनहरूको नियमित अधिवेशन नहुनु पनि जिम्मेवार छ ।