मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १० आइतबार
  • Tuesday, 25 March, 2025
गुरुराज घिमिरे
२o८१ चैत १० आइतबार o७:२१:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाली राजनीतिमा राजा कि ‘मार्क कार्नी’ ?

Read Time : > 5 मिनेट
गुरुराज घिमिरे
नयाँ पत्रिका
२o८१ चैत १० आइतबार o७:२१:oo

नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली विश्वको उन्नत र सर्वस्वीकृत राजनीतिक प्रणाली हो । यसको विकल्पमा नेपाल जान सक्दैन ।

हिजोआज नेपाली राजनीतिमा राजाको चर्चा छ । एउटा त्यस्तो राजा, जो आफ्नो जीवनकालमा परिबन्द वा परिस्थितिले दुईपटक राजा भए । उनी राजा बन्न जन्मेका थिएनन् । शाहवंशीय राजपरिवारको सदस्य भए पनि उनको देशको राजा बन्ने जन्मसिद्ध योग्यता र अधिकार थिएन । तर, उनको प्रारब्धले उनलाई राजा बनायो । त्यो पनि एकपटक होइन, दुई–दुईपटक । यद्यपि, त्यो गद्दी टिकाउ भएन, अन्ततः गयो । उनको गद्दी मात्र गएन, नेपालबाट राजतन्त्र नै बिदा भयो । यसमा उनी स्वयं जिम्मेवार र कारक छन्, त्यसको परिणाम मात्र गणतन्त्र हो । यता आएर उनी फर्कने या उनलाई फर्काउनुपर्ने बहस सुरु भएको छ । यसको अग्रपंक्तिमा पूर्वपञ्च र केही नयाँ पात्र छन्, जसलाई नेपाली जनताले राम्रोसँग चिन्छन् । अब प्रश्न उठ्छ, के यो देशको आवश्यकता भइसक्यो त ? के हाम्रो मौजुदा शासन प्रणालीले काम गरेन त ? हामीले परित्याग गरेको राजासहितको शासन प्रणाली अहिलेको शासन प्रणालीभन्दा गतिलो र उत्तम थियो त ? राजाको सक्रिय नेतृत्वमा रहेको पञ्चायती शासन भोगेका धेरै नेपाली जीवितै छन् । पञ्चहरूको शासकीय प्रवृत्ति व्यहोरेका बहुसंख्यक जनता बाँचेकै छन् । त्यसको वर्णन गर्नुपर्दैन । अहिलेको अवस्थालाई निरपेक्ष रूपमा हेरेर मात्र हुँदैन, विगतको सापेक्षतामा पनि हेर्नुपर्छ । आजभन्दा हिजो कदापि ठिक थिएन । तर, प्रश्न उठ्छ, के आजचाहिँ चित्तबुझ्दो अवस्था छ त ? खुलस्त भन्नुपर्छ, छैन । अनि यसको ओखती के हो त ? यस विषयमा थोरै चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

‘न खाता न बही, नेता जो कहे वही सही’– प्राडा आनन्द कुमार । भारतको जेएनयुका प्राडा आनन्द कुमारले विराटनगरको प्रतिष्ठित र पुरानो एलिट क्लबमा दिएको अभिव्यक्तिको अंश हो यो । उनले त्यहाँ धेरै कुरा भने । तर, उनको सम्पूर्ण अभिव्यक्तिको सार यही थियो । नेपालको राजनीतिमा अहिलेको कटु यथार्थ पनि यही हो । यतिवेला कायम रहेको नेपालको शासन व्यवस्थालाई केही राजनीतिक दलका सीमित नेताले आफ्नो मनोकांक्षा पूरा गर्ने साधन बनाएका छन् । यो राजनीतिकर्मीको गलत प्रवृत्ति हो । यसको दोष राजनीतिक प्रणालीको थाप्लोमा बोकाउनुहुँदैन । उनीहरू जे चाहन्छन्, त्यसलाई पूरा गर्न जे पनि गर्छन् । विधिविधानले उनीहरूलाई छुँदैन र त्यसलाई उनीहरूले मान्नु पनि पर्दैन । उनीहरू जे सोच्छन् र बोल्छन्, त्यही प्रजातन्त्र हो । राजनीतिमा पहुँच भएका नेता त्यस्ता अवतारजस्ता छन्, जसलाई धर्म, कानुन, नैतिकता केहीले पनि छुँदैन । उनिहरूका लागि जनताको प्रयोजन भोट पाउनसम्मका लागि मात्र हो, उनीहरूप्रति कुनै जवाफदेहिता देखिँदैन ।

प्राडा आनन्द कुमार विश्व राजनीतिको ठोस र वस्तुनिष्ठ विवेचना गर्ने हैसियत र क्षमता राख्छन् । नेपालको राजनीतिको वर्तमान चित्र र चरित्र उनलाई राम्रोसँग थाहा छ । विश्वका गरिब देशका लोकतान्त्रिक शासन प्रणालीको साझा संकट हो यो । अधिनायकवादले मात्र अहंकारी शासक जन्माउँछ । सबै प्रकारका तानाशाहीको आधारभूत चरित्र हो अहंकार र दम्भ । उनले थप भने– लोकतन्त्रमा अहंकार वर्जित छ । तर, यता नेपाली राजनीतिमा अहंकारको बोलावाला छ । सत्तामा पुगेका व्यक्तिले विनम्रता गुमाएका छन् । यसको अर्थ उनीहरूमा लोकतान्त्रिक चरित्र र संस्कार छैन । यो कसरी सम्भव भयो त ? जीवनभर प्रजातन्त्रका लागि संघर्ष गरेका व्यक्तिमा अहंकार कसरी पैदा भयो ? यसको सीधा उत्तर छ– जनताले बारम्बार चुनाव जिताएर नेता–मन्त्री बनाइदिएपछि आफू देशका लागि अपरिहार्य भएको भ्रम पैदा भयो । सत्तामा पुगेपछि राज्य दोहनबाट अकुत सम्पत्ति जम्मा भयो । पार्टीको समेत उच्च पद प्राप्त भएपछि त के चाहियो र ? अब जे गरे पनि हुन्छ भन्ने दम्भ पैदा भयो । यसको सोझो असर प्रजातान्त्रिक संस्था र प्रणालीमा पर्न गयो । आज नेपालले यही नियति भोग्नुपरेको छ । देश र जनताका लागि राम्रो गर्ने नेतालाई या त सत्तामा पुग्न दिइँदैन, या अनेक अवरोध सिर्जना गरिन्छ ।

क्यानडाका तत्कालीन प्रधानमन्त्री जस्टनि ट्रुडोले लिबरल पार्टीको नेता पद छाडेपछि केही दिनअघि सम्पन्न पार्टीको नेता पदको निर्वाचनमा बैंक अफ इंग्ल्यान्डका गभर्नर रहिसकेका बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोन्सनका पूर्वप्रमुख आर्थिक सल्लाहकार मार्क कार्नीले पार्टीका झन्डै डेढ लाख सक्रिय सदस्यमध्येबाट ८६ प्रतिशत मत प्राप्त गरी नेता पदमा निर्वाचित भए । झन्डै दुई महिनाअघि मात्र लिबरल पार्टीको सदस्यता लिएका उनले बैंक अफ क्यानडाको गभर्नर हुँदा देशलाई तत्कालको आर्थिक संकटबाट जोगाएका थिए । यसैलाई देखेर बेलायतले आफ्नो देशलाई आर्थिक संकटबाट मुक्त गर्न उनलाई गभर्नर नियुक्त गरेको थियो । तत्पश्चात् प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार पनि । अहिले आएर उनको क्षमतालाई दृष्टिगत गरेर क्यानडाका प्रधानमन्त्री बनाइएको छ । यसले के दर्साउँछ ? कुनै पनि देशलाई उँभो लगाउन क्षमतावान् नेतृत्व चाहिन्छ । कसैले स्विकारे पनि नस्विकारे पनि यतिवेला हामी गम्भीर संकटसामु छौँ । देश कता जाला भन्ने त्रास सर्वत्र छ । देश यान्त्रिक बहुमतले मात्र चलिरहेको छ । सरकारसँग जनताको भावनात्मक सम्बन्ध जोडिएको छैन । किन ? हिजो बहुदलकालमा दलहरूले राम्रो काम गर्न नसकेका कारण पुनः प्रजातन्त्रमाथि संकट आएको प्रस्ट छ । त्यसैले तत्कालीन राजालाई खेल्ने ठाउँ भयो । त्यस परिस्थितिसँग खेलेर तत्कालीन राजा निरंकुश बन्न खोज्दा अन्ततः राजसंस्था नै गएको हो । नत्र, त्यति चाँडै नेपालबाट राजसंस्था जाने थिएन । अब भविष्यको बाटो के त भन्ने प्रश्न जनमानसमा उठेको छ । यसमा हामी छर्लंग हुनुपर्छ । नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली विश्वको उन्नत र सर्वस्वीकृत राजनीतिक प्रणाली हो । यसको विकल्पमा नेपाल जान सक्दैन । हामी त्यस्तो परिकल्पना गर्न पनि सक्दैनौँ । यो हामी सबैको निष्कर्ष हो । 

अब अलिकति अहिले सडकमा देखिएको गतिविधिबारे चर्चासँगै नेपालको राजनीतिक इतिहासलाई स्मरण गरौँ । नेपालमा लोकतान्त्रिक शासन प्रणाली स्थापना भएपछि केही व्यक्तिको निदहराम भयो । उनीहरूले परिवर्तनलाई आत्मसात् गर्न सकेनन् । २००७ मा जे भयो, ०४६ र ०६३ मा त्यही भयो । उनीहरूलाई देश विकासको चिन्ता थिएन, सत्ताको ताबेदारी गरेर आफ्नो दुनो सोझ्याउनुबाहेक । केही व्यक्ति गतिला भए पनि उनीहरूका हातमा सत्ता थिएन । नेपाल एकीकरणको झन्डै २६० वर्ष भयो । त्यसयता आन्तरिक सत्ता संघर्ष कति चल्यो, इतिहासमा अंकित नै छ । सत्ता संघर्षमा रमाउनबाहेक नेपालका राजनीतिकर्मीले केही जानेनन् र देश विकासको कर्तव्य कसैले पूरा गरेनन् । जनताको दुःखको हेक्का कसैलाई भएन । 

नेपालभन्दा नयाँ राष्ट्रहरूले कति प्रगति गरे, प्रस्ट छ । राजा भएकै देशहरू पनि समुन्नत भए । वर्षमा ६ महिना हिउँ पर्ने देशहरू र तातो बालुवा मात्र भएका खाडी राष्ट्रहरूले समेत व्यापक उन्नति गरे । तर, नेपाल अघि बढेन । न राजा न राजनीतिज्ञ, कसैले पनि देश र जनताको चिन्ता गरेनन् । त्यसैले वाद, सिद्धान्त, प्रणाली, राजा र राजनीतिज्ञ कसैले पनि नेपालप्रति न्याय गरेनन् र उन्नति सोचेनन्, फगत आफ्नो हित र स्वार्थबाहेक । यसमा राष्ट्रको बागडोर सबैभन्दा बढी समय राजाकै हातमा थियोे । गर्न सकेको भए प्रशस्त समय र मौका पनि थियो । राणा त अझ निरंकुश बने । जनताविनाको देश हुँदैन भन्ने यथार्थ उनीहरूले बुझेनन् र राज्यका निर्माता नै जनता हुन् भन्ने हेक्का राखेनन् । त्यसको परिणाम नेपाल सधैँभरि पछौटे नै रह्यो । यसलाई विस्मृतिमा राख्न मिल्दैन । सडकमा उत्रिएका अधिकांश निर्दोष र प्रताडित नेपाली हुन् । उनीहरू कसैले केही गर्छ कि वा गरिदिएहुन्थ्यो भन्ने आसमा छन् । उनीहरू कहिले नयाँ दललाई हेर्छन्, कहिले स्वतन्त्र व्यक्ति वा कहिले राजालाई । यो आमनेपालीको पीडा हो । आफ्नो दुःख कसले हरिदेला भन्ने चिन्ता पनि । यतिवेला नेपाली जनता तारणहार खोजिरहेका छन् । हामीलाई थाहा छ, डुब्न लागेको व्यक्तिले अगाडि जे भेट्यो, त्यही समाउँछ, बुटो, ठुटो वा त्यान्द्रो । बचाउन गएको साथीको टाउको थिचेर भए पनि आफूलाई बचाउन खोज्छ । नेपाली जनताको नियति यही हो । 

राजपरिवारको नेपाली माटोसँग गहिरो सम्बन्ध छ । निसंकोच भन्न सकिन्छ, शाहवंश नेपाल एकीकरणको महानायक हो । यस विषयमा हामीले विवाद गर्न मिल्दैन र गर्न पनि हुँदैन । तर, नेपाललाई यस संस्थाले कुशलतापूर्वक नेतृत्व दिन नसकेरै बिदा भएको हो । तसर्थ, अहिले आएर वर्तमान शासन प्रणालीलाई शतप्रतिशत खराब देखाएर तत्कालीन राजासहितको व्यवस्था उत्तम थियो भन्नु युक्तिसंगत देखिँदैन । तथापि, एउटा सत्यचाहिँ के हो भने त्यसवेला पनि दलहरूकै अकर्मण्यताका कारण राजाले खेल्न पाएका थिए ।

अहिले आएर नेपाली राजनीतिमा पुनः एउटा प्रश्न खडा भएको छ । के हिजोजस्तै राजनीतिक दलहरूले वर्तमान शासन प्रणाली सञ्चालनमा कुशलता देखाउन नसकेका हुन् त ? निसंकोच भन्न सकिन्छ, दलहरू गम्भीर र जिम्मेवार देखिएनन् । फगत शासन प्रणाली स्थापना गरेर मात्र पुग्दैन भन्ने सत्यलाई नबुझ्दा बिस्तारै राजनीतिक परिस्थिति अनियन्त्रित हुन थालेको हो । यसले एउटा नयाँ बहसलाई आमन्त्रण गरेको छ । धेरै अघिदेखि हामीले उठाउँदै आएको प्रश्न र मुद्दा जीवन्त भएको छ । ‘दलहरू सुध्रिने कि प्रणाली फेर्नुपर्ने ?’ यसैमा राजासहितको प्रजातन्त्रको बहस सुरु भएको हो ।

अब प्रणाली फेर्ने कि पात्र ? राजाको स्थानसहितको लोकतन्त्र कि मौजुदा प्रणालीमै मार्क कार्नीजस्ता गतिला पात्रको खोजी ? कार्नीको नेतृत्वमा क्यानडा कसरी अगाडि बढ्ला, हेर्न बाँकी नै छ । नेपालको पहिलो विकल्प यही हुन सक्छ पात्र परिवर्तन । हरेकपटक प्रणाली बदलेर केही गर्न नसकेको अवगाल कति सहने ? के ग्यारेन्टी छ, राजतन्त्रको पुनरागमनले नेपालको भविष्यलाई समुज्ज्वल गराउने ? राजा ल्याउन हिँडेका पात्रहरूको राजनीतिक र सामाजिक छवि हामी सबैले देखेभोगेकै होइन र ? तसर्थ, आजको आवश्यकता र अन्तिम प्रयत्न पात्रको परिवर्तन नै हो । हामीलाई यतिवेला मौजुदा प्रणालीअन्तर्गत राजनीतिभित्र या आवश्यक परे बाहिरबाट भए पनि मार्क कार्नी चाहिएको छ । यो काम जतिसक्दो चाँडो गर्नुपर्ने हुन्छ । अन्यथा, वर्तमान शासन प्रणालीका अगुवाहरू नै राजतन्त्रको ‘फरिस्ता’ बन्न बेर लाग्नेछैन ।