१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Saturday, 12 October, 2024
गुरुराज घिमिरे
२o८१ भदौ २४ सोमबार o७:२२:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कसरी सुधार्ने कांग्रेस ?

कांग्रेसलाई साँच्चै सुधार्ने हो भने सर्वप्रथम नेता सुध्रिनुपर्छ, नेता सुध्रेपछि कार्यकर्तामा आफैँ सुधार आउँछ

Read Time : > 5 मिनेट
गुरुराज घिमिरे
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार o७:२२:oo

विश्वविख्यात कूटनीतिज्ञ, राजनीतिज्ञ, अर्थशास्त्री र प्रखर विचारक विष्णु गुप्त ‘कौटिल्य’अर्थात् चाणक्यले भनेका छन्, ‘मान्छे वा व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति उसको शरीर हो । शारीरिक तन्दुरुस्ती वा स्वस्थ शरीरको अभावमा मानिसले कुनै पनि उल्लेखनीय कार्य गर्न सक्दैन, शारीरिक स्वास्थ्यसँग मानसिक स्वास्थ्यसमेत जोडिएको हुन्छ ।’ यो भनाइ शाश्वत र कालजयी छ । यस सत्यलाई ध्यान नदिने हो भने व्यक्तिले आफ्नो जीवनलाई सफल र सार्थक बनाउन सक्तैन । किनभने, मानिस अरू पशुपक्षीसरहको जीवात्मा होइन । यसले सोच्ने, विचार गर्ने र विवेकशील कार्य गर्ने क्षमता राख्छ । र, अन्य जीवात्माभन्दा उच्च चेतना र विवेक राख्छ । तसर्थ, आफ्नो जीवनमा अपेक्षित सफलता हासिल गर्न व्यक्ति, संस्था वा राष्ट्रको शरीर स्वस्थ र तन्दुरुस्त हुनुपर्छ ।

उपर्युक्त प्रसंग यहाँ किन उद्धृत गरिएको हो भने आजको चर्चा संस्था सुधारसँग सम्बन्धित छ । यस चर्चामा संस्था भन्नाले नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई बुझ्नु उपयुक्त हुनेछ । जसलाई यस आलेखको शीर्षकले समेत दर्साएको छ । यस दलका आमसदस्यको आजको चिन्ता नै आफ्नो पार्टीको वर्तमान अवस्था र सुधारको आवश्यकतामा केन्द्रित छ । अब सुधार्नेचाहिँ कसरी त ? बिग्रिएको के–के छ त ? यस दलका सदस्यले कस्तो पार्टी चाहेका हुन् ?

स्थापनाकालको उद्देश्य, लक्ष्य र हालको क्रियाकलापमा के–के अन्तर आएका छन् ? पार्टीलाई सिद्धान्तनिष्ठ, लोकप्रिय र आमजनताको विश्वासिलो कसरी बनाउन सकिन्छ त ? किनभने पार्टी हरतरहले ठिक हुनु नै पार्टीको स्वास्थ्य राम्रो हुनु हो र यो नै संस्थाको सबैभन्दा ठूलो सम्पत्ति हो । अब यस आवश्यकतालाई कसरी सम्भव तुल्याउने ? यसलाई सूत्रबद्ध रूपमा प्रस्तुत गर्नु उपयुक्त हुनेछ ।

आन्तरिक जीवन : व्यक्तिको जस्तै संस्था वा पार्टीको स्वास्थ्य ठिक हुन आन्तरिक जीवन ठिकठाक हुनुपर्छ । एकप्रकारले पार्टीका आन्तरिक गतिविधि विधिसम्मत, स्वस्थ र नियमित हुने हो भने हिजोआज देखिएका आधाजति समस्या स्वतः ठिक भइहाल्छन् । यसलाई पूर्णता दिन पार्टीको न्यायप्रणाली विवेकसम्मत र वस्तुनिष्ठ हुनुपर्छ । मूलतः यसलाई मूल्यांकन पद्धति र अवसरको न्यायोचित वितरणले सुनिश्चित गर्छ । यसलाई न्यायोचित बनाउने कसरी भन्ने मूल प्रश्न हो । आजसम्म यसलाई सदस्यको निष्ठा, योगदान, क्षमता र संस्थाको आवश्यकताबमोजिम अवलम्बन गरिएन ।

कांग्रेसमा देखिएका ‘वन्दना समूह’हरू अनिवार्य रूपले विघटित वा खारेज हुनुपर्छ । खासगरी राजनीतिक नेतृत्व र दलहरूलाई वन्दना समूहले पथभ्रष्ट बनाएर आ–आफ्नो जिम्मेवारीबाट च्यूत तुल्याएको छ । कांग्रेस सुधारका निम्ति वन्दना समूहको खारेजी प्रमुख सर्त हो ।
 

लामो संघर्षबाट खारिएका निष्ठावान् र योग्य सदस्य चरम उपेक्षामा परे । जसले संकटको समयमा संस्थाको व्यक्तित्वलाई जोगाएर मलजल गरी ठूलो उद्देश्यका निम्ति तयार गरे, उसैले सहज परिस्थितिमा चरम विभेद र तिरस्कार झेल्नुपर्ने अवस्था आयो । सांगठनिक जीवनमा यसको बहुआयामिक दुष्प्रभाव पर्‍यो । यसले पार्टीको छवि धुमिल हुँदै गयो र जनमत खस्किँदै गयो । यसबारे पार्टीभित्र कहिल्यै बहस भएन ।

सिंगो संस्था तत्कालीन लाभमा केन्द्रित भयो । लाभको राजनीतिले पार्टी र लोकतन्त्रप्रति गहिरो निष्ठा नभएका मौकापरस्त व्यक्तिको हालिमुहाली सुरु भयो । अवसर छोप्न आएका व्यक्ति नै संस्थाको निर्णय प्रक्रियामा हाबी हुन थाले । यसबाट इमानदार सदस्य आहत हुनपुगे । विस्तारै पार्टीको जिम्मेवारी सम्हाल्ने इमानदार व्यक्तिको कमी हुनथाल्यो । भ्रातृ र शुभेच्छुक संस्थामा यही प्रवृत्ति स्थानान्तरण भयो । झन्डै चार दर्जनको संख्यामा रहेका भ्रातृ र शुभेच्छुक संस्था तदर्थवादमा चलाइयो । पार्टीको सांगठनिक शक्तिलाई अभिवृद्धि गराउने मेरुदण्डका रूपमा रहेका यी संस्थामा अवैधानिक तवरले सक्षम व्यक्तिको सट्टा आसेपासे व्यक्ति नियुक्त गर्न थालियो । यी संस्थाले आफ्नो सांगठनिक अवस्था सुदृढ बनाउने र महाधिवेशन गर्ने कार्यलाई प्राथमिकता नै दिएनन् । कतिपय भ्रातृ संगठन त संरचनागत रूपमै पूर्ण गरिएनन् ।

०४६ यता अपवादबाहेक यही क्रम दोहोरियो । भ्रातृ संगठनहरू पार्टी र देशका लागि असल र सक्षम नेता पैदा गर्ने कारखानाभन्दा नेताका भजन–वन्दना समूहमा परिणत भए । देशमा हुने हरेक तहका निर्वाचनमा उम्मेदवार छान्ने प्रणाली परम्परागत र मनोगत देखियो । यसमा व्यक्तिको क्षमता, छवि, योगदान, लोकप्रियतालाई पटक्कै महत्व दिइएन । अवसरको स्वाभाविक र न्यायोचित वितरण भएन । हरेकपटक वन्दना समूहका सदस्य पुरस्कृत भए । तसर्थ, यसबाट पार्टीलाई मुक्त गर्नु आजको आवश्यकता हो । हरेकपटक कामलाई होइन, वन्दनालाई मूल्यांकनको आधार बनाइयो ।

को सुध्रिने, नेता कि कार्यकर्ता ? :  सुधारको चर्चा गर्दा प्रश्न उठ्छ, को सुध्रिने, नेता कि कार्यकर्ता ? एकमतले जवाफ आउँछ, नेता ! हामीलाई थाहा छ, संस्थालाई नेतृत्वको विवेक, क्षमता र तर्जुमा गरिएका नीतिले चलाउने र अघि बढाउने हो । नीति पनि नेताको सुझबुझले बनाउने हो, समयको आहट, पदचाप र राष्ट्रिय आवश्यकताका आधारमा तर्जुमा हुने हो । यसमा नेतृत्वको बुद्धिमत्ताले प्रमुख भूमिका खेल्छ । पार्टीमा नेताकै खटनपटन चल्छ, निर्णय प्रक्रियामा नेतृत्वकै प्रभाव रहन्छ, अवसरको वितरणमा नेताकै हात हुन्छ ।

चुनाव नेताकै विचार र व्यवहारबाट प्रभावित हुन्छ र नतिजा आउँछ । पार्टीप्रति नेताकै चालचलन, चरित्र र अभिव्यक्तिका आधारमा आस्था र अनास्था पैदा हुन्छ । पार्टीका कार्यक्रम नेताकै अभिरुचि र अग्रसरतामा तय गरिन्छन् । यी सबैमा पार्टी सदस्यको भूमिका गौण हुन्छ । अझ कांग्रेसमा त कतिपय सन्दर्भमा समकक्षी वा प्रतिस्पर्धी नेतासमेत रमिते वा साक्षी मात्र बन्ने अवस्था छ । यो अवस्था एउटा लोकतान्त्रिक पार्टीका लागि शोभनीय होइन । साँच्चै भन्ने हो भने कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा पूर्ण लोकतान्त्रिक अभ्यासको कमी छ । पार्टीका सबै तहको चुनाव र अभिव्यक्ति स्वतन्त्रता मात्र लोकतान्त्रिक चरित्रको मानक होइन । यो पार्टी सदस्यका कारण होइन, नेताकै कारणले हो । 

पार्टीका नेताहरू विधि पालनाका विषयमा उदासीन छन् । मुख्य नेता मात्र होइन, अर्को तहका नेता पनि पद्धतिको रक्षा र देशको उन्नतिमा भन्दा आफूले के पाउने भन्नेमा ज्यादा चिन्तित देखिन्छन् । यसले विधिविहीनतालाई प्रोत्साहित गरेको छ र पार्टीमा भद्रगोल बढेको छ । यसबाट के स्पष्ट हुन्छ भने पार्टीको मौजुदा स्थितिका लागि नेता जिम्मेवार छन्, कार्यकर्ता होइन । पार्टीभित्रको बेथिति र स्वेच्छाचारीबारे सशक्त आवाज नउठाउनु कार्यकर्ताको कमजोरी हो ।

उनीहरूमा राजनीतिक असुरक्षाको मनोवैज्ञानिक त्रासदी छ । पार्टीभित्र मनपरी बढेकोतर्फ कार्यकर्ताले मनन गर्न आवश्यक छ । र, देखेको र लागेको बोल्ने वेला आएको छ । गलतको विरोध र सहीलाई प्रोत्साहन गर्ने परिपाटी नबसेसम्म पार्टीमा सुधार हुँदैन । तसर्थ, कांग्रेसलाई साँच्चै सुधार्ने हो भने सर्वप्रथम नेता सुध्रिनुपर्छ । नेता सुध्रेपछि कार्यकर्तामा आफैँ सुधार आउँछ । सबै गतिविधि देखेर पनि चुपचाप बस्ने हो भने नेता बिग्रने कारण कार्यकर्ता नै हुन् भन्ने निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।

कहाँ पुग्यो रूपान्तरण अभियान ? :  हिजोआज साथीहरू सोध्छन्– रूपान्तरण अभियान कहाँ पुग्यो ? आजकाल के हुँदै छ ? नयाँ कार्यक्रम के छ ? प्रश्न जायज र स्वाभाविक छ । १५ महिनाअघि पार्टीका जिम्मेवार तथा होनहार साथीहरूको अगुवाइमा रूपान्तरण अभियान सञ्चालन गरियो । यसले देशभित्र र बाहिर पनि ठूलै जागरण र हलचल पैदा भयो । देशभर र डायस्पोरासमेत गरेर कांग्रेसका झन्डै बीस हजार सदस्य यस अभियानमा सक्रिय सहभागी भए । पार्टीको तत्कालीन र वर्तमान अवस्थाबारे गम्भीर चासो राखे र आफ्ना बहुमूल्य सुझाव दिए ।

अभियानले गत चुनावपश्चात् पार्टी सदस्यमाझ फैलिएको घोर निराशा कम गर्दै थोरै भए पनि आशा जगायो र पार्टीको भविष्य सुरक्षित राख्न चाल्नुपर्ने कदमबारे पार्टीलाई महत्वपूर्ण सुझावसमेत दियो । त्यसले कांग्रेस र लोकतन्त्रको भविष्यबारे आमसदस्यमा भरोसा जगायो । तत्कालीन समयमा यो ठूलो राजनीतिक उपलब्धि थियोे । त्यसले पार्टीप्रति वितृष्णा बढेर लाखापाखा लाग्न थालेका सदस्यलाई सान्त्वनासमेत प्रदान गर्‍यो । कांग्रेसबाट अब केही हुँदैन भनेर निच मारेर बसेका, पार्टी छाड्ने तरखरमा रहेका र कांग्रेससँग मुर्मुरिएका सदस्यलाई थोरै भरोसा दिने र सम्भावनाको क्षितिज देखाउने काम भयो । तर, यसलाई कांग्रेसको उच्च तहले कसरी बुझ्यो ? सबैलाई थाहा छ । इतिहासले यसको गम्भीर समीक्षा गर्नेछ ।

पार्टीका जोकोही सदस्यले पनि संस्थाको हित सोचेर गरेको काम जायज हुन्छ । रूपान्तरण अभियान कुनै गुटगत अभियान थिएन । यसले नेताविशेषको वन्दना र अन्य नेताको भत्र्सना गरेको थिएन । पार्टीका मौजुदा काम कारबाहीमाथि प्रश्न उठाएको थियो, यसको जवाफ नेतृत्वसित माग्नु पूर्वाग्रह होइन । अभियानले विधिको रक्षा र विधान परिपालनाको वकालत गरेको थियो । रचनात्मक र पवित्र उद्देश्य बोकेको यस अभियानको मर्म कसैले बुझ्नै चाहेन । पार्टीका निष्ठावान् सदस्यको इमानदार सत्प्रयासलाई नेतृत्वले सराहना गर्नै चाहेन । यसलाई परम्परागत गुटबन्दीको चस्माले हेरियो, जसले संस्थालाई नै क्षति पुग्यो । कांग्रेसभित्र पूनर्जागरण र पुनर्निर्माणको युग सुरु हुनै सकेन । आजसम्म त्यसको कुनै लक्षण छैन ।

वन्दना समूहको खारेजी :  भक्ति परम्पराका अभिन्न अंग हुन्, पूजा, आराधना, वन्दना, उपासना र प्रार्थना । पूर्वीय संस्कृतिमा यसले गहिरो जरा गाडेको छ । सामान्यतया शक्तिको उपासना, ज्ञानको वन्दना, आदर्शको पूजा, प्रेमको आराधना र सुखको प्रार्थनालाई स्वाभाविक मानिन्छ । तर, हाम्रोजस्तो समाजले हरेक पक्षको मर्यादा, सीमा र बारबन्देजलाई तोडेर अस्वाभाविक रूपले वन्दना प्रवृत्ति हुर्काएको छ र निरन्तर मलजल गरिरहेको छ । यो एकप्रकारले संस्कृतिका नाममा अपसंस्कृति बन्दै गएको छ । यहाँ ज्ञानको वन्दना होइन, शक्तिको वन्दना चलिरहेको छ ।

शक्तिको उपासना संसारभर चल्छ, तर वन्दना चल्दैन । नेपाली समाजमा ज्ञानको सर्वोपरिता उपेक्षित छ र शक्ति सर्वोपरी भएको छ । यसले सबै तहको कार्यकारिणीमा अहंकार पैदा गराएको छ । अहंकाण्र संस्था र व्यक्ति विनाशको प्रमुख कारक हो । यसको कारण वन्दना प्रवृत्ति हो । यो संस्था र लोकतन्त्रको भविष्यका निम्ति खतरनाक रोग हो ।

यो बहुआयामिक हुन्छ र यसले द्रव्यको चाँजोपाँजो मिलाउने सामथ्र्यसमेत राख्छ । त्यसैले यहाँ देखिएका ‘वन्दना समूह’हरू अनिवार्य रूपले विघटित वा खारेज हुनुपर्छ । खासगरी राजनीतिक नेतृत्व र दलहरूलाई वन्दना समूहले पथभ्रष्ट बनाएर आ–आफ्नो जिम्मेवारीबाट च्यूत तुल्याएको छ । कांग्रेस सुधारका निम्ति बन्दना समूहको खारेजी प्रमुख सर्त हो ।
(घिमिरे कांग्रेस युवा नेता हुन्)