के उद्देश्यले महाधिवेशनकेन्द्रित दबाब अभियान थालनी गर्नुभएको हो ?
१५औँ महाधिवेशनलाई समयमै सम्पन्न गराउनु दबाब अभियानको प्रमुख उद्देश्य हो । हामीले सम्पर्क कार्यालय खोलेर सबैलाई जोड्नेगरी अभियान थालेका छौँ । कांग्रेस केन्द्रीय समितिको कार्यकाल चार वर्ष हो । त्यसमा हामी प्रवेश गरिसकेका छौँ । अहिले म्याद थपका लागि कुनै विशेष परिस्थिति पनि नभएकाले चारवर्षे अवधिभित्रै महाधिवेशनका लागि राजनीतिक र सांगठनिक पूर्वाधार तयार गर्नुपर्छ । त्यसका लागि केन्द्रीय समिति अग्रसर भएको र पार्टीले पनि पहलकदमी लिएको देखिएन । यो आमपार्टी कार्यकर्ताको चासो र चिन्ताको विषय भएकाले हामीले दबाब अभियान सुरु गरेका हौँ ।
सभापतिले समयमै महाधिवेशन हुन्छ भनिरहँदा पनि ०८२ मा महाधिवेशन नहुने संशय किन ?
महाधिवशेनमा ढिलाइ हुन्छ कि भन्ने हामीलाई आशंका छ । महाधिवेशन गर्न त तयारी हुनुपर्यो । व्यावहारिक तदारुकताविना महाधिवेशन हुँदैन । विधानको व्यवस्थाअनुसार ०८२ मंसिरमा महाधिवेशन हुनुपर्छ । सदस्यता वितरणदेखि अन्य प्रारम्भिक गतिविधि कहिलेदेखि सुरु गर्ने भन्ने कार्यतालिका बनेर काम सुरु हुनुपर्ने हो । कुनै तयारी नै नभई कसरी विश्वास गर्न सकिन्छ ? यसका लागि हामीले केन्द्रीय समितिमार्फत दबाब बढाउन लागेका छौँ । हामी पार्टीलाई सुझाव र दबाब दुवै दिन्छौँ ।
आफ्नो अभियानका गतिविधि कसरी अघि बढाउनुहुन्छ त ?
हामी यसबारे आवाज उठाउन सबैलाई आह्वान गर्छौं । आवश्यकता पर्दा हामी जिल्ला जिल्लामा पुगेर अन्तरक्रिया गर्छौं । यथोचित सबै प्रयास गर्छौं । हामी पार्टीको निर्वाचन प्रणालीबारे पनि बहस चलाउँछौँ । अभियानमा सबैका लागि ढोका खुला छ । हामी गुटगत बहस गर्दैनौँ । यसले संस्थागत कुरा गर्छ र सबैलाई जोड्ने कोसिस गर्छ ।