मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ कार्तिक २ आइतबार ०५:०८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बन्द फ्ल्याटबाट २३ किलो सुन बरामद : नेपालबाट सुन तस्करीमा बिजेपी नेताका भाइ संलग्न ! (भिडियो रिपोर्टसहित)

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २ आइतबार ०५:०८:००

नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो । तर, तस्करीमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । बरामद सुनको मूल्य करिब १८ करोड रुपैयाँ छ । 

सुन बरामद भएको फ्ल्याट भारत रक्सौल पूर्वीचम्पारणका अशोक सिन्हाको भएकाले उनकै सुन भएको हुन सक्ने पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन् । सिन्हा कहिलेकाहीँ मात्र नेपाल आउने गरेको उनको भनाइ छ । सुन दराजभित्र राखिएको अवस्थामा बरामद भएको हो । 

सिन्हाको समूहले लामो समयदेखि नेपालबाट भारतमा सुन तस्करी गर्दै आएको प्रहरी आशंका छ । सिन्हा बिहारका भारतीय जनता पार्टीका नेता प्रमोदकुमार सिन्हाका भाइ हुन् । वीरगन्जमा सुन बरामद भएपछि बिहारमा हुन लागेको चुनाव र सुन तस्करीलाई जोडेर भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । मान्छे पक्राउ नपरेकाले सुनको स्रोतबारे केही भन्न नसकिने एसपी पन्त बताउँछिन् । ‘केही सुन चीनबाट आएजस्तो देखिन्छ,’ उनले भनिन्, ‘मान्छे पक्राउ परेपछि यसबारे थप पत्ता लाग्नेछ ।’ 

कुन सुन कति ?
शनिबार दिउँसो १ बजेको समयमा एसपी पन्तको कमान्डको टोलीले विशेष सुराकीको आधारमा फ्ल्याटमा ताला तोडेर सुन बरामद गरेको हो । बरामद भएको सुनमा एक किलोको १३ वटा टुक्रा छन् । त्यस्तै, मझौला आकारको ४६ वटा टुक्रा छन् जुन ८ केजी पाँच सय ७६ ग्राम छ । एक सय ग्रामको १० वटा टुक्रा तथा ६ सय ८१ ग्रामको सुनका गहना पनि बरामद भएको छ । 

चाँदीको गरगहना तथा थाललगायतका भाँडाकुँडा दुई किलो दुई सय ६२ ग्राम बरामद भएको प्रहरी उपरीक्षक पन्तले बताइन् । उनका अनुसार सुन बरामद भएको फ्ल्याटमा बस्दै आएका सिन्हा केही समयदेखि नआएको जानकारी प्राप्त भएको छ । ‘सिन्हाको फ्ल्याटबाट केही कागजातहरू पनि बरामद भएको छ,’ पन्त भन्छिन् । यस विषयमा अहिले अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने उनको भनाइ छ । बरामद भएको समयदेखि फ्ल्याटधनी हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । 

ठूलो मात्रामा कहाँबाट भित्रिएको थियो वीरगन्जमा सुन

पर्सा प्रहरीको तथ्यांकअनुसार पर्सामा अहिलेसम्मको इतिहासमा २३ किलो सुन पहिलोचोटि बरामद भएको छ । ठूलो मात्रामा बरामद भएको सुन भारतमा तस्करीका लागि वीरगन्जमा भित्र्याइएको स्रोतले जनाएको छ । नेपालमा भन्दा भारतमा सुन महँगो भएकाले यसरी तस्करी हुने गरेको छ । ठूलो मात्रामा अवैध सुन ओसारपसारमा नेपाली पनि संलग्न हुन सक्ने आशंका भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोरोना महामारीमा नेपाल सरकारले कात्तिक मसान्तसम्मका लागि सिमानाका सिल गरेको छ । सीमा बन्द हुँदा नै सो सुन लामो समयसम्म सो फ्ल्याटमा राखिएको स्रोत बताउँछ । 

भिडियो हेर्नुहोस्>>>