१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज १५ बिहीबार १०:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लमजुङमा २० वर्ष नपुग्दै १६ प्रतिशत किशोरी आमा बने

Read Time : > 1 मिनेट
२०७७ असोज १५ बिहीबार १०:१५:००

जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको संख्या  पनि बढेको छ । कानुनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये  १६ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला सामुदायिक अस्पतालको अनुमान छ ।

जिल्लामा बालविवाह गर्नेहरूको यकिन तथ्यांक भने छैन । अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ बताउँछन् ।  सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने श्रेष्ठकाे भनाइ छ । उनले भनिन्, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ०७६/७७ मा  एक हजार एक सय २३ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ७१ जना किशोरी अर्थात् १६ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ । 

त्यस्तै आ.व ०७५/७६ मा एक हजार ११ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ८३ जना अर्थात् १९ प्रतिशत महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ । त्यस्तै आ.व ०७४/७५  मा एक हजार तीन सय २२ जना आमा बनेका छन् । जसमध्ये २० वर्षमुनिका तीन सय ६३ जना अर्थात् २८ प्रतिशत रहेको अस्पतालको तथ्यांकमा छ ।  

जिल्ला स्वास्थ्य कार्यालय र लमजुङ जिल्ला सामुदायिक अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझै उमेर नपुगी विवाह गर्ने चलन नरोकिनु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ । 

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकीलगायतका कारणले बालविवाह कम हुन नसकेको लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख श्रेष्ठले बताए । लमजुङ, मनाङ, तनहुँ र गोरखा क्षेत्रमा पायक पर्ने अधिकांश महिला लमजुङ जिल्ला सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ ।