१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ८ बिहीबार ०५:५८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डब्लुएचओको ग्लोबल भ्याक्सिन  योजनाबाट पछि हट्यो चीन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ८ बिहीबार ०५:५८:००

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभिड भ्याक्सिन विश्वस्तरमा वितरण गर्ने योजनाबाट चीन पछाडि हटेको छ । डब्लुएचओले संसारभर कोभिड भ्याक्सिन समान रूपमा वितरण गर्ने बनाएको योजनामा सामेल हुने समय सकिँदा चीनले छुट्टै प्रस्ताव ल्याउने भन्दै सहभागिता नजनाएको हो । यसअघि चीनले कम र मध्यम आय भएका देशमा भ्याक्सिनको सहज पहुँचमा सहयोग गर्ने विषयमा सहमति जनाएको थियो । डब्लुएचओको कोभेक्स नामक योजनामा चीनसँगै अमेरिका र रसियाले पनि उपस्थिति जनाएका छैनन् । सुरुमा यो योजनामा १६५ देशले सहमति जनाएका थिए ।

डब्लुएचओले योजनामा सहभागिता जनाउन १८ सेप्टेम्बरसम्मको समय दिइएको थियो । कोभेक्समा विश्वका बढी आय भएका करिब ६४ देशले सहमति जनाएका छन् । कोभेक्सले २०२१ को अन्तिमसम्म करिब दुई अर्ब खोप निर्माण गर्ने लक्ष्य राखेको थियो, जुन न्यून आय भएका मुलुकका लागि समान रूपमा वितरण गर्न सकिन्थ्यो । तर पनि डब्लुएचओले चीन कोभेक्समा सहभागी हुने आशा गरेको बताइएको छ । यो योजनामा चीन सहभागी भएमा कोभेक्स योजना सफल हुने बलियो सम्भावना देखिन्छ । किनकि, पछिल्लो समय परीक्षणको तेस्रो चरणमा रहेका नौमध्ये चारवटा खोप चीनले निर्माण गरिरहेको छ । 

डब्लुएचओका प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले चीनसँग बहस भइरहेको र कोभेक्समा सहभागी हुन अझै समय थपिएको बताएका छन् । चीनले भने विश्वभर खोप वितरण गर्न तयार रहेको तर आफ्नै योजनाअनुसार अगाडि बढ्ने जनाउँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियोङले सेप्टेम्बरको सुरुवातमै विकासोन्मुख देशका लागि भ्याक्सिन उत्पादनमा चीन आफैँले छुट्टै योजना बनाएको, जुन कोभेक्सजस्तै निम्न आय भएका देशका लागि उपलब्ध गराउने बताएका थिए । 

सिंगापुर युनिभर्सिटीका वैज्ञानिक ड्र्यु थम्पसनले चीनले कोभेक्समा सहभागिता नजनाउनुलाई दुईपक्षीय दृष्टिकोण भएको प्रतिक्रिया दिएका छन् । ‘खोपका माध्यमबाट चीनले सहुलियत र सद्भावनाको आशा गरेको छ । चीनले खोप उत्पादनमा निकै मिहिनेत गरिरहेकाले यसको ठोस परिणामको पनि लाभ उठाउन पाउनुपर्छ । यदि चीनले कोेभेक्सलाई सहयोग गर्ने हो भने कोभेक्सले फिलिपिन्सलाई सहयोग गर्छ, यसबाट चीनलाई के फाइदा हुन्छ,’ उनी भन्छन् ।
विभिन्न देशका वैज्ञानिकले चीनले आफ्नै देशको अर्थतन्त्र बलियो बनाइराख्न र छिमेकी देशलाई पनि सहयोग गर्न कोभेक्स योजना उपयुक्त हुन सक्ने बताएका छन् । तर, फरक–फरक खालका भौगोलिक वातावरणका कारण सबै देशमा खोपहरू उपयुक्त हुन्छन् भन्ने अझैसम्म कुनै आधार पाइँदैन । त्यसैले खोप सहज उपलब्ध गराउन अझै धेरै अध्ययन अनुसन्धान आवश्यक रहेको बताइएको छ । 

एजेन्सीको सहयोगमा