
चीनबाट नेपाल हुँदै भारत तस्करी गर्न लागिएको सुनसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाबुछोरासमेत छन् । दार्चुलाको महाकाली नगरपालिका– ३ टाटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र उनका २१ वर्षीय छोरा आयुषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । बडू सात वर्षअघि पनि सुन तस्करीमा पक्राउ परी छुटेका व्यक्ति हुन् । त्यतिवेला उनी ८८ केजी सुन तस्करी मुद्दामा पक्राउ परेका थिए ।
बडू बाबुछोरासहित झापा बिर्तामोड नगरपालिका– ३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल पनि पक्राउ परेका छन् । उनीहरू पनि बडूकै आफन्त हुन् । त्यस्तै, सुन किन्न पैसा लिएर गएका भारतीयहरू ३७ वर्षीय अमोल विभुते र १८ वर्षीय दुईजना किशोर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनीहरूसँग एक किलो ७६८.२९ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँँ फेला परेको छ ।
हालसम्मको अनुसन्धानमा सो सुन चीनबाट ल्याइएको खुलेको छ । नेपालतर्फ बडू नै यसका प्रमुख व्यक्ति देखिएका हुन् । यसमा चिनियाँ गिरोहसँग सम्पर्क देखिएको छ । पक्राउ परेका भारतीयहरू लामो समयदेखि नेपाल बस्दै आएका थिए ।
हाल थप अनुसन्धानका लागि पक्राउ परेकालाई प्रहरीले राजस्व अनुसन्धान विभाग पठाएको छ । थप प्रमाण संकलन गरेर पछि संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीन महिनादेखि निगरानी गरेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।