१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : राेयटर्स
रासस जेनेभा
२o८१ जेठ २ बुधबार १५:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गाजाको अल–सिफा अस्पतालमा ‘रगतको खोलो’ : डब्लुएचओ

Read Time : > 1 मिनेट
रासस, जेनेभा
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:३१:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इजरायली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–सिफा अस्पतालको आपतकालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ।

डब्लुएचओ र अन्य संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूको एउटा टोली शनिबार प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो अस्पतालमा चिकित्सा आपूर्ति पुर्‍याउन सक्षम भएको बताइएकाे छ।

‘हजारौँ विस्थापितले आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेका छन्, पिउने पानी र भोजनको चरम अभाव छ,’ डब्लुएचओले विज्ञप्तिमा भनेको छ, ‘टोलीले आपतकालीन विभागलाई रगतको खोलोका रूपमा वर्णन गरेको छ। उक्त विभागमा सयौँ घाइते बिरामी थिए र प्रत्येक मिनेटमा नयाँ बिरामी आइरहेका थिए। आघातबाट घाइते बिरामीहरूलाई जमिनमा टाँका लगाइरहेको थियो र दुखाइ कम गर्ने कुनै व्यवस्था थिएन।’

अस्पतालले अत्यन्त कम कर्मचारीका साथ न्यूनतमस्तरमा काम गरिरहेको भन्दै डब्लुएचओले गम्भीर बिरामीहरूको शल्यक्रियाका लागि अल–अहली अरब अस्पतालमा सार्ने काम भइरहेको बताएको छ। 

अक्सिजन र आपूर्तिको कमीका कारण अपरेटिङ थिएटरले काम नगरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ। डब्लुएचओले भनेको छ, ‘यो पुनरुत्थानको आवश्यकता रहेको अस्पताल हो।’ अस्पतालमा दैनिक ३० बिरामीले मात्र डायलाइसिस गर्न पाउँछन्।

अक्टोबर ७ मा इजरायली क्षेत्रमा हमासले गरेको अभूतपूर्व हमलापछि इजरायली सेनाले गरेको बमबारी र स्थल कारबाहीबाट गाजापट्टीमा सबै स्वास्थ्य पूर्वाधारमा व्यापक क्षति भएको छ।

इजरायली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो। हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो। हमासका अनुसार गाजामा इजरायलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ।

इजरायलले हमासमाथि अस्पतालमुनि कमान्ड सेन्टर सञ्चालन गरेको आरोप लगाएको छ। उक्त अस्पताललाई युद्धको कानुनअन्तर्गत विशेष सुरक्षा प्राप्त छ। अस्पतालका अधिकारी र प्यालेस्टिनी लडाकु समूह हमासले बारम्बार उक्त आरोपलाई खारेज गरेका छन्।

पूर्वाधार सेवाहरू पुनः सुरु गर्न ‘आगामी साताहरूमा’ अल–सिफा अस्पताललाई सुदृढ गरिने डब्लुएचओले बताएको छ। ‘आवश्यक कर्मचारीका साथ इन्धन, अक्सिजन, औषधि, भोजन र पानीको नियमित आपूर्ति प्रदान गरिने हो भने अस्पतालमा २० अपरेटिङ थिएटरका साथै पोस्ट–अपरेटिभ हेरचाह सेवाहरू पनि सक्रिय बनाउन सकिन्छ,’ डब्लुएचओले भनेको छ।

हाल अल–अहली अरब गाजापट्टीको सम्पूर्ण उत्तरमा ‘आंशिक रूपमा काम गर्ने’ एउटा मात्र अस्पताल हो। अल–सिफा, अल अवदा र अल सहबा मेडिकल कम्प्लेक्सले न्यूनतमस्तरमा काम गरिरहेका छन्। युद्ध सुरु हुनुअघि त्यहाँ २४ परिचालन सुविधा थिए।

ad
ad