१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २६ शुक्रबार
  • Monday, 09 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ भदौ २६ शुक्रबार २१:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्धार उडान बढाउन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ २६ शुक्रबार २१:५९:oo

विदेशमा रहेका श्रमिकको सहज उद्धारका लागि नेपाल सरकारले उडान संख्या बढाउन खाडी तथा मलेसियाका राजदूत र गैरआवासीय नेपाली संघले माग गरेका छन् । विदेशमा उच्च जोखिममा रहेका नेपली श्रमिक धेरै रहेकोले उनीहरूलाई सहजै फर्कन सक्ने गरी व्यवस्था मिलाउन आग्रह गरेका हुन् । 

हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा साउदी अरबस्थित नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंहले सरकारले तोकेको निश्चित उडानले श्रमिकको उद्धार गर्न महिनौँ लाग्ने बताए । ‘महिला, बिरामी, करार अवधि सकिएका श्रमिकको संख्या धेरै छ । तर, उडान संख्या कम छ । जसका कारण विदेशमा श्रमिकहरू पीडित भइबस्नु परेको छ,’ उनले भने । साउदी अरब सरकारले चार्टर्ड उडानका लागि मात्रै अनुमति दिएको छ । साउदी अरबकै एयरलाइन्सको उडानलाई सरकारले अनुमति दिएको छैन । जसका कारण चाहेर पनि धेरै श्रमिकलाई  फर्काउन नसकिएको उनले बताए । यस्तै, गैरआवासीय नेपाली संघका अध्यक्ष हरि भट्टराईले नियमित र चार्टर्ड उडानका एयरलाइन्स कम्पनीले चर्को भाडा तोकेपछि श्रमिकहरू चाहेर पनि फर्कन नसकेको बताए । 

बेखर्ची श्रमिकको निःशुल्क उद्धार कार्यविधि संशाेधन गर्न सुझाब
विदेशमा बेखर्ची बनेका श्रमिकहरूको निःशुल्क उद्धारका लागि सरकारले निर्माण गरेको कार्यविधि संशोधन गर्न साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंहले आग्रह गरे । कार्यविधिमा भएको हालको व्यवस्थाअनुसार उद्धार गर्ने श्रमिककै पहिचान गर्न लामो समय लाग्ने उनको भनाइ छ । ‘कार्यविधिमा धेरै कठिन व्यवस्था छ । त्यसैले हालसम्म कुनै पनि दूतावासले यसको कार्यान्वयन गर्न सकेका छैनन्,’ उनले भने । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले मन्त्रालयले निःशुल्क उद्धार कार्यविधि संशोधनको तयारी गरेको बताए । संशोधनका लागि मन्त्रालयले सम्बन्धित मुलुकका श्रम सहचारीसँग छलफल गरिसकेको उनले बताए । ‘सहचारीको सुझाबअनुसार कार्यविधि संशोधन गरी मन्त्रिपरिषदमा प्रस्ताव गर्नेछौँ,’ उनले भने । 

नेपाल फर्कन सवा एक लाखको आवेदन 
कोभिड– १९ कारण विदेशमा अलपत्र परेका श्रमिकमध्ये एक लाख २५ हजार तीन सय ५० नागरिक नेपाल फर्कनका लागि आवेदन दिएको श्रम मन्त्रालयका प्रक्ता भरतमणि पाण्डेले बताए । उनका अनुसार नेपाली नागरिकले नियोगमार्फत निवेदन दिएका हुन् । अझै पनि आवेदन आउने क्रम जारी रहेको उनले बताए । 

लकडाउनका कारण खाडी र मलेसियामा रहेका अधिकांश साना तथा मझौला कम्पनी बन्द हुँदा नेपाली श्रमिक अलपत्र परेका छन् । बन्द भएका कम्पनीले श्रमिकलाई न्यूनतम पारिश्रमिक पनि नदिँदा श्रमिकलाई खान र बस्नको समेत समस्या भएको छ । यस्तै, भिजिट भिसामा विदेश गएका, आफन्त भेटघाटका लागि गएका नागरिकसमेत विदेशमा अड्किएका छन् । यसरी अलपत्र परेका नागरिकलाई नेपाल फर्काउन सरकारले गत ३१ जेठदेखि चार्टर्ड उडान सुरु गरेको हो । यस्तै, विश्वका विभिन्न मुलुकमा गत १६ भदौदेखि नियमित उडानसमेत सुरु गरेको छ ।