१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २४ सोमबार २o:३o:oo
Read Time : < 1 मिनेट
प्रवास

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी तीव्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार २o:३o:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आयोजनामा १४ सेप्टेम्बरमा पर्थमा नेपाल महोत्सव हुने भएको छ। महोत्सव प्रचारप्रसारका लागि आयोजकहरूले तयारी तीव्र पारेका छन्।

आयोजकले स्थानीय बसहरूमा पोस्टर टाँस्ने, स्थानीय पत्रिकामा विज्ञापन गर्नेदेखि यागन स्क्वायरमा नेपाली कलाकारहरूको तस्बिर सजाएका छन्। नेपाल महोत्सवले अस्ट्रेलियामा हुर्किँदै गरेका नेपाली किशोरकिशोरी र बालबालिकालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी दिने आयोजकको विश्वास छ। साथै, नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान दिने एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा पश्चिम अस्ट्रेलियाका संयोजक शेखर घिमिरेले बताए। साथै, एउटै ठाउँमा बसोबास गर्दै आएका नेपालीबिच भाइचारा अभिवृद्धि गर्न महोत्सवले महत्त्वपूर्ण योगदान खेल्ने उनको भनाइ छ। 

पर्थमा नेपाली समुदायको वृद्धिसँगै राज्य सरकार र स्थानीय सरकारले पनि नेपालीले आयोजना गरेका कार्यक्रमहरूलाई महत्त्व दिन थालेका छन्। यसैक्रममा महोत्सवलाई पश्चिम अस्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ। 

संयोजक घिमिरेका अनुसार यसपटकको महोत्सवमा पश्चिम अस्ट्रेलिया राज्य सरकारका उपप्रिमियर तथा अर्थमन्त्री रिटा साफियोटीसहितका उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् । 

संयोजक घिमिरेले भने, ‘यसपटकको नेपाल महोत्सव तपाईंहरूले नमुना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमुना धरहरासमेत हेर्न पाउनुहुनेछ। हामीले बालबालिकाहरूलाई समय बिताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दै छौँ। नेपालको गीत-संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यसपटक बहुसांस्कृतिक समुदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को छ।'

एनआरएनए पश्चिम अस्ट्रेलियाका उपाध्यक्ष महेश लामाले महोत्सवमा विभिन्न ४५ स्टल रहने बताए। १२ हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ।