मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २ बुधबार o९:२२:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार o९:२२:oo

०७२ को भूकम्पयता हामीले कति सिक्यौँ ?
०७२ को भूकम्पपछि हामीले क्षति हुने स्थानबारे पहिचान गर्‍यौँ । जोखिमको अवस्था र क्षतिको पूर्वानुमानसँगै तयारीको स्तरबारे अनुमान पनि भयो । तर, त्यसयताका जाजरकोट, बझाङलगायत क्षेत्रमा गएका भूकम्पले हाम्रो तयारी पुगेको रहेनछ भन्ने देखाइदिएका छन् । साना क्षमताका भूकम्पले नै ठुलो क्षति गराए भने ठुलो भूकम्प आएको अवस्थामा हाम्रो अवस्था कस्तो होला ? यसबिच हामीले आवश्यक ऐन, नियममा संशोधन गरेका छौँ । भवन निर्माण संहितामा सुधार गरेका छौँ । सम्भावित क्षति न्यूनीकरणका लागि धेरै काम भएका छन् । तर, त्यस्ता काम पनि सहर या सीमित गाउँकेन्द्रित मात्र छन्, दूरदराजका गाउँबस्तीसम्म पुग्न सकेका छैनन् । 

हाम्रो पूर्वतयारीको अवस्था कस्तो छ ?
केही काम पक्कै भएका छन् । तर, हुनुपर्ने स्केलमा भएका छैनन् । जाजरकोट, बझाङलगायत क्षेत्रका भूकम्पपछि इमर्जेन्सीमा परिचालन गर्न सकिने सबै निकायलाई एकसाथ सशक्त रूपमा परिचालन गर्न सकिएन । भएका राहत सामग्री पनि समयमै पीडितसम्म पुर्‍याउन सकिएन । व्यवस्थापनमा कमजोरी देखियो । सम्भावित जोखिम या क्षतिको आकलन गरी यथेष्ट सामग्रीको संग्रह गर्न सकिएको छैन । लक्षित सम्पूर्ण समुदायसम्म सचेतना कार्यक्रम पुर्‍याउन सकिएको छैन । कुनै घटनाको सेरोफेरो या कुनै दिवसको सन्दर्भमा कर्मकाण्डी रूपमा सचेतना कार्यक्रम चलाउने र बाँकी समय मौन बसेर हुँदैन । भएका निकायलाई स्रोत, साधनले सम्पन्न बनाउनु आवश्यक छ ।

विपत्पछिको उद्धार, राहत तथा पुनर्स्थापनाको तयारी कस्तो छ ?
हामीले विपत्पछिको व्यवस्थापनमा केही फड्को मारेका छौँ । उद्धार, राहत र पुनर्स्थापनामा राम्रै तयारी भएको छ । तर, क्षति रोक्ने या जोखिम घटाउने पूर्वतयारीमा चाहिँ अझै धेरै गर्न बाँकी छ । विपत्सम्बन्धी अध्ययन, अनुसन्धानको पक्ष कमजोर छ ।