प्रतिपक्षी राजनीतिक दलका नेताहरूले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा बुधबार भएको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषय र कानुन निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वानको माग गरेको हो।
‘जनप्रतिनिधिको संस्थालाई छलेर सरकारले यसरी नै काम अघि बढाइरह्यो भने संसद्को विशेष अधिवेशनसमेत बोलाउन प्रयास गर्ने हाम्रो समझदारी बनेको छ,’ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बैठकपछि भने।
संविधानअनुसार संसद् अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले बैठक आह्वान गर्न सक्ने व्यवस्था छ। विशेष अधिवेशन आह्वानको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गर्न कम्तीमा ६९ सदस्यको हस्ताक्षर आवश्यक हुन्छ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल आम आदमी पार्टीलगायत पार्टीका नेताहरू सहभागी थिए। रासस