विभिन्न जिल्लामा भएका १० दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन्। धेरै दुर्घटना तराईका जिल्लामा भएका छन्। मंगलबार बेलुका तथा बुधबार भएका यी दुर्घटनामा मृत्यु हुनेहरूमा १० जना मोटरसाइकलचालक र एकजना मोटरसाइकलमा सवार यात्रु हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार बारामा मात्र तीनवटा दुर्घटना भएका छन्।
फेटा गाउँपालिका– ३ फेटा बजारस्थित सडकमा प्र.२–०३–००१ त २७७६ नम्बरको ट्याक्टरले बिआर ०५ एएफ ०६४३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलचालक भारत बिहार राज्य मोतिहारी बस्ने ३० वर्षीय मिन्टु रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टरचालक फरार भएका छन् ।
बाराकै जितपुर सिमरा उपमहानगरपालिका– २ स्थित सडकमा जितपुरबाट सिमरातर्फ आउँदै गरेको ना.२८प ९३४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक पर्सा वीरगन्ज महानगरपालिका– ३१ बस्ने २२ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको एभरग्रिन तराई अस्पताल सिमरामा उपचार भइरहेको छ ।
बाराको महागढीमाई नगरपालिका– ७ तेलकुवास्थित सडकमा बिआर ०५ एक्स ७९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक भारत बिहार मोतिहारी आन्द्रा बस्ने ३८ वर्षीय रामबाबु पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिराहाको नरहा गाउँपालिका– ३ चौहर्वास्थित सडकमा स.१ प ९४६३ नम्बरको मोटरसाइकल र प्र.१–०२–०५५ प ६१२३ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स.१प ९४६३ नम्बरको मोटरसाइकलचालक मिर्चैया नगरपालिका– १० बस्ने ४५ वर्षीय रघुवीर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.१ ०२–०५५ प ६१२३ नम्बरको मोटरसाइकलचालकलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ भने सोही मोटरसाइकलमा सवार एकजनाको लाइफ लङ अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका– ७ सर्रास्थित सडकमा भे.१ ख ३७७४ नम्बरको बस र भे.६ प ८८३६ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलचालक सोही ठाउँ बस्ने २६ वर्षीय दिलबहादुर थारू र मोटरसाइकलमा सवार २५ वर्षीय राजन थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नुवाकोट, बेलकोटगढी नगरपालिका– ७ महादेवफाँटस्थित सडकमा प्र.३–०६–०१ प ४६४१ नम्बरको मोटरसाइकल र बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका– ७ रातोमाटे बस्ने १८ वर्षीय आयुष अर्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल–भारत मैत्री अस्पताल चाबहिल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्र.३–०६–०१प ४६४१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका– ७ भलबारीस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.९६ प १० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सियारी गाउँपालिका– १ कैलाशनगर बस्ने ३० वर्षीय भरत केसीको मंगलबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका– ५ बर्दियागाउँस्थित सडकमा भे. १२प ५४४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिक– ८ औरी बस्ने २२ वर्षीय विनोद थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ, बुढीगंगा गाउँपालिका– २ सक्मास्थित सडकमा प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका– ४ बस्ने २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ कर्वोलास्थित सडकमा ना.२८ प ३८१९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
१० मध्ये नौ दुर्घटना तराईका जिल्लामा भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकलका चालक तथा यात्रु रहेको प्रहरीले जनाएको छ।