बिबिसी भेट्रानले दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । जावलाखेल मैदानमा भएको फाइनलमा बिबिसीले आयोजक कुसुन्ती ‘बी’लाई २–० ले पराजित गर्यो ।
बिबिसीले दुवै गोल पहिलो हाफमा गरेको थियो । बिबिसीलाई च्याम्पियन बनाउन दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोस्रो गोल गरेका थिए । उपाधिसँगै विजेताले दुई लाख र उपविजेता कुसुन्ती ‘बी’ले एक लाख रुपैयाँ पाएका छन् । कुसुन्ती ‘बी’का सविनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी भए ।
कुसुन्ती ‘बी’ कै प्रदीप तण्डुकार उत्कृष्ट गोलरक्षक र बिबिसीका दीपक लामा उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्ट खेलाडीहरूले जनही पाँच हजार रुपैयाँ पाएका छन् ।
विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतले पुरस्कृत गरेका छन् । २२ पुसदेखि सुरु प्रतियोगितामा ३० टोलीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि कुपण्डोल ४० प्लस भेट्रानले जितेको थियो ।