प्रत्येक वर्ष दसैँअगाडि सञ्चालन हुने सुपथ मूल्य पसल अवदेखि वर्षभर सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट ४४ जिल्लाका एक सय ९३ बिक्री केन्द्रमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
खाद्य कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार बिहीबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित नयाँ बिक्री केन्द्रको शुभारम्भसमेत गरेर सुपथ मूल्य पसलको उद्घाटन गर्ने कार्यक्रम छ । सिंहदरबारभित्र खाद्य कम्पनीले नयाँ बिक्री केन्द्र खोलिसकेको छ । सोही बिक्री केन्द्र उद्घाटन भएपश्चात् सुपथ मूल्यमा खाद्य कम्पनीका उत्पादनहरूको बिक्री पनि थालिने मिश्रले जानकारी दिए । सिंहदरबारभित्र खोलिएको बिक्री केन्द्रबाट निजामती कर्मचारीहरू लाभान्वित हुनेछन् ।
खाद्य कम्पनीले ब्राउन चामल, अरुवा सोना मन्सुली चामल, स्टिम जिरा मसिनो चामल, बासमती चामल, चिनोको चामल, मास दाल, रहर दाल, हुम्लाको फापर, जुम्लाको मार्सी चामल, कर्णालीको सिमी, मुसुरो दाल, डिडिसी घिउ, आयोनुनलगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ । कुल कारोबारमा सबैभन्दा ठुलो हिस्सा चामलको छ ।
सूचना अधिकारी मिश्रले खाद्य कम्पनीका सबै उत्पादनमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएर सुपथ पसलबाट बिक्री हुने जानकारी दिए । ‘सरकारले बिहीबारबाट सुपथ पसल सञ्चालन गर्न निर्देशन दिएकाले सोहीअनुसार सबै उत्पादनमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएर बिक्री थाल्दै छौँ’ उनले भने । विगतमा दसैँ नजिकिँदै गर्दा घटना स्थापनाको केही दिनअघि खाद्य कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले निश्चित खाद्यवस्तुमा छुटसहित सुपथ पसल सञ्चालन गर्दै आएका थिए । तर, यसपटकदेखि भने दसैँ नकुरेर सरकारको निर्देशनमा खाद्य कम्पनीले वर्षैभर सबै उत्पादनमा छुट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागेको हो ।
खाद्य कम्पनीले सुपथ पसलमा बिक्री गर्न १० हजार टन चिनी आयातको प्रक्रिया थालेको छ । त्यस्तै, दसैँअगाडि बिक्री गर्ने गरी खासीबोका र च्यांग्राको समेत व्यवस्थापन हुने कम्पनीले जनाएको छ ।
अहिले खाद्य कम्पनीले मात्रै सुपथ पसल सुरु गरेको र दसैँको समयमा साल्ट ट्रेडिङले समेत सुपथ पसल सञ्चालन गर्ने तयारी गरेको छ । साल्ट ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विगतमा जस्तै दसैँअगाडि छुट मूल्यमा सुपथ मूल्य पसल सञ्चालनको गृहकार्य भइरहेको बताइन् । ‘हामीले दसैँको १०–१५ दिनअगाडिदेखि छठसम्म सुपथ पसल सञ्चालन गर्दै आएका छौँ । यसपालि सोही कार्यलाई निरन्तरता दिनेछौँ,’ उनले भने । दसैँअगाडि दुग्ध विकास संस्थानले समेत निश्चित वस्तुमा छुट उपलब्ध गराएर दुध तथा दुग्ध पदार्थ बिक्री गर्ने योजना बनाएको छ ।
४४ जिल्लामा आजबाट सुपथ पसल : माधव मिश्र, सूचना अधिकारी, खाद्य कम्पनी
४४ जिल्लाका एक सय ९३ बिक्री केन्द्रमार्फत आजबाटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छौँ । सबै उत्पादनमा प्रतिकिलो पाँच रुपैयाँ छुट उपलब्ध गराएका छौँ । सरकारको निर्देशनअनुसार वर्षैभर सुपथ पसल सञ्चालनको निर्णय लागू गरेका हौँ । सिंहदरबारमा नयाँ बिक्री केन्द्र तयार गरिएको छ । उक्त बिक्री केन्द्रको बिहीबार नै शुभारम्भ पनि हुँदै छ ।