मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २८ बिहीबार
  • Thursday, 13 August, 2026
२o८३ श्रावण २८ बिहीबार o६:४२:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री बालेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ता

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २८ बिहीबार o६:४२:oo

भारतपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ । द्विपक्षीय भ्रमणका लागि नभएर जलवायु सम्मेलनसम्बन्धी ३१औँ संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१)मा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएको हो ।

प्रधानमन्त्री शाहलाई भ्रमणका लागि आएको यो दोस्रो निमन्त्रणा हो । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत दोस्रो साता नै निमन्त्रणा गरिसकेका छन् । प्रधानमन्त्रीका तर्फबाट भारतलाई उपयुक्त समयमा भ्रमणमा जाने जवाफ परराष्ट्र मन्त्रालयले पठाइसकेको छ । टर्कीका राष्ट्रपतिको निमन्त्रणाको जवाफ नेपालले पठाइसकेको छैन ।

टर्कीले यो वर्ष २३ कात्तिकदेखि ४ मंसिरसम्म कोप ३१ को आयोजना गर्दै छ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बुधबार परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।

‘टर्कीका राष्ट्रपतिज्यूबाट प्राप्त निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेका छौँ, कुन तहको भ्रमण हुन्छ भन्ने जानकारी आइसकेको छैन,’ सहसचिव ढकालले समितिमा भने ।

जलवायु परिवर्तनका हिसाबले संवेदनशील पर्वतीय मुलुकका रूपमा नेपाललाई टर्कीले निमन्त्रणा गरेको हो । नेपालले विशेषतः तीव्र गतिमा हिमाल पग्लिँदै गएका पर्वतीय मुलुकहरूको एजेन्डा उठाउँदै आएको छ । जलवायु परिवर्तनका विषयमा नेपालले सगरमाथा संवादसमेत गर्दै आएको छ ।

सरकारी स्रोतका अनुसार कोप ३१ मा प्रधानमन्त्री शाह सहभागी हुने सम्भावना कम छ । सम्मेलनमा वन तथा वातावरणमन्त्री गीता चौधरीलाई पठाउने सम्भावना छ । प्रधानमन्त्रीले असोजमा हुने संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा पनि परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउन लागेका छन् ।

‘राष्ट्रसंघीय महासभाको महत्वपूर्ण सत्रमा त जान इच्छा नगरेका प्रधानमन्त्री कोप सम्मेलनमा टर्की जाने सम्भावना छैन, उहाँले सम्बन्धित मन्त्रीलाई पठाउनुहुन्छ भन्ने लाग्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

जेठ तेस्रो साता दक्षिणी छिमेकी भारत भ्रमण गरेका सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेलाई उत्तरी छिमेकी चीनबाट पनि भ्रमणको निमन्त्रणा आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) बाट लामिछानेलाई भ्रमणको निमन्त्रणा आए पनि मिति टुंगिन बाँकी छ ।

महामन्त्री विपिन आचार्यले सभापति लामिछानेलाई औपचारिक भ्रमणको निमन्त्रणा आउनु स्वाभाविक भएको र मिति तय भइनसकेको बताए । ‘सभापतिज्यूलाई निमन्त्रणा आउनु स्वाभाविक छ । तर, भ्रमणको मिति तय भइसकेको छैन,’ महामन्त्री आचार्यले नयाँ पत्रिकासँग भने, ‘अहिले नै भ्रमण यकिन हुने तहको तयारी भइसकेको छैन ।’ स्रोतका अनुसार ७ देखि १५ भदौसम्म चीनको भ्रमण गर्ने चर्चा छ ।

सभापति लामिछानेले यसअघि जेठ १८ देखि २२ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली गएका उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायतसँग भेटवार्ता गरेका थिए ।

२३ कात्तिकदेखि ४ मंसिरसम्म कोप ३१ टर्कीमा हुँदै, तर प्रधानमन्त्री जाने सम्भावना कम
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बुधबार परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख  सहसचिव कृष्णप्रसाद ढकालले भने, ‘टर्कीका राष्ट्रपतिज्यूबाट प्राप्त निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेका छौँ, कुन तहको भ्रमण हुन्छ भन्ने जानकारी आइसकेको छैन ।’ सरकारी स्रोतका अनुसार कोप ३१ मा प्रधानमन्त्री शाह सहभागी हुने सम्भावना कम छ । सम्मेलनमा वन तथा वातावरणमन्त्री गीता चौधरीलाई पठाउने सम्भावना छ ।  

सरकार र संसदमा रहेका युवालक्षित रास्वपा सभापति रविको अभिव्यक्ति 

युवा नेतृत्व सामुन्ने देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने चुनौती छ, नसके थप जटिल परिस्थिति आउन सक्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युवा नेतृत्व सामुन्ने देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको अवसरलाई परिणाममा बदल्न नसके थप जटिल परिस्थिति आउन सक्ने चेतावनी पनि दिए ।

युवा नेतृत्व असफल भए भविष्यमा ‘युवाबाट राजनीति सम्भव हुँदैन, अनुभव नभएका मानिसबाट देश चल्दैन’ भन्ने भाष्य निर्माण हुन सक्ने भन्दै ध्यानाकर्षण गराए । ‘यदि कुनै कारणले हामी आफ्नो जिम्मेवारीबाट पन्छियौँ र राम्रोसँग पूरा गर्न सकेनौँ भने केही वर्षभित्रै युवाहरू भनेर रहर गर्न नहुने रहेछ, अनुभव नभएका मानिसबाट राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य बन्न सक्छ,’ लामिछानेले भने, ‘त्यसको सबैभन्दा ठुलो सिकार हामी हुनेछौँ, जसले यो परिवर्तन सम्भव गरायौँ ।’ 

यस्तै, सभापति लामिछानेले युवा सांसद र मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीमा रमाउनेभन्दा गम्भीर भएर काम गर्न आग्रह गरे । ‘तपाईंहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ, त्यसलाई इन्जोय गरेर पदमा रमाउने वेला होइन । यो जिम्मेवार भएर सोच्ने वेला हो,’ उनले भने, ‘यसपटक छुट्यो, बिग्रियो वा हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पुस्ताले हामीले जस्तो अवसर र विश्वास प्राप्त गर्नेछैन ।’

सभापति लामिछानेले युवा नेतृत्व प्राप्त हुनु मात्रै उपलब्धि नभएको भन्दै अब त्यसलाई परिणाममा बदल्नुपर्ने चुनौती रहेको बताए । ‘हामी फ्रेस मात्र हौँ, तगडा हुन बाँकी छौँ ।  हामी नयाँ छौँ, भर्खरै आएका छौँ । फरक देखिएका छौँ । तर, अब काम गरेर प्रमाणित गर्नुपर्ने चुनौती हामीसामु छ,’ उनले भने । 

उनले युवा पुस्तामा तत्काल परिणाम खोज्ने प्रवृत्ति बढ्दै गएको भन्दै धैर्य गर्न आग्रह गरे । ‘हामीमा धैर्यको कमी देखिएको छ । लामो कुरा पढ्ने, सुन्ने र केही समय लिएर व्याख्या गरिएका कुरामा चासो दिने स्वभाव घट्दै गएको छ,’ उनले भने, ‘परिणाम अत्यन्त छिटो चाहिएको छ । हामी छिट्टै निराश हुने समाजमा छौँ ।’ 

सभापति लामिछानेले नेपालको करिब ४० प्रतिशत जनसंख्या युवा रहेको उल्लेख गर्दै यस्तो अवसर विश्वका कमै मुलुकले मात्र पाउने बताए । युवा जनसंख्याको यो ठुलो हिस्सालाई परिवर्तनको परिणाममा बदल्न नसके त्यसको गम्भीर असर भविष्यमा पर्ने उनको चेतावनी थियो । ‘यदि हामीले यो परिवर्तन र युवा नेतृत्वलाई परिणाममा बदल्न सकेनौँ भने हामीमाथि ठुलो आरोप लाग्नेछ,’ उनले भने, ‘अब अल्लारेहरूबाट हुँदैन, युवा–युवा भनेर मात्र हुने रहेनछ, परिपक्व नै चाहिने रहेछ, उमेर र अनुभव नै चाहिने रहेछ भन्ने जबर्जस्त भाष्य सिर्जना हुनेछ । त्यो भविष्यका लागि घातक हुन्छ ।’

उनले युवामा जोससँगै होस पनि रहेको दाबी गर्दै अग्रजको सम्मान, ज्ञान र अनुभवलाई आत्मसात् गर्दै सिप तथा प्रविधिको अधिकतम प्रयोग गर्न सके युवाले देशलाई परिणाम दिन सक्ने बताए । ‘युवामा जोस र होस दुवै हुन्छ । आजका युवाहरू सक्षम छन्, देशलाई माया गर्छन्, परिवर्तनकामी छन्,’ उनले भने, ‘उनीहरूले आफ्नो कर्मबाट यो कुरा प्रमाणित गर्नुपर्छ ।’

सभापति लामिछानेले सरकार गठन भएको चार महिनामै परिणाम खोजेर निराश हुन नहुने पनि बताए । ‘चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ, तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठुलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन थाल्दा कसरी सकिएला ?’ 

उनले सरकारलाई चार महिनामै मूल्यांकन नगर्न आग्रह गर्दै अहिलेको समय जग निर्माणको भएको दोहोर्‍याए । ‘सरकारले जग खन्दै छ । यस्तो बलियो जग खन्दै छ कि कम्तीमा अबको २०–२३ वर्ष त्यो जगमा राम्रो संरचना खडा हुन सकोस्, जहाँ हामी सबै अट्न सकौँ । जग खनिरहेका वेला तपाईंलाई कसैले भ्रममा पारेछन् भने नपर्नुहोला, हामी तयार छौँ,’ उनले भने ।

लामिछानेले रास्वपा वैकल्पिक शक्ति मात्र नभई निर्विकल्प शक्ति बन्नुपर्ने बताए । ‘विकल्प खोज्न आएका होइनौँ, विकल्प बन्न आएका हौँ,’ उनले भने, ‘वैकल्पिक शक्ति होइन, रास्वपा निर्विकल्प शक्ति भन्नुपर्छ ।’ तर, त्यसका लागि निरन्तर काम र परिणाम आवश्यक रहेको उनको भनाइ थियो । ‘सही बाटोमा हिँड्न छोड्यो, आममानिसको कुरा सुन्न छोड्यो र यसबाट केही हुँदैन भन्ने ठाउँमा पुग्यो भने विकल्प सोच्नुपर्छ । तर, विकल्प खोजिरहने चिज विकल्प होइन,’ उनले भने ।

लामिछानेले सरकारको नीति, कार्यक्रम र बजेटलाई आफूहरूले जनतासँग गरेको प्रतिबद्धतासँग जोडिएको दाबी गरे । ‘जनताका घरमा गएर मागेको भोट, त्यही वाचापत्र हेरेर जनताले दिएको भोट, त्यसैका आधारमा बनाएको सरकार, सरकारले बनाएको नीति तथा कार्यक्रम र त्यसैलाई कार्यान्वयन गर्न बनाएको बजेट हेर्नुभयो भने सबै अलाइन भएको देख्नुहुनेछ,’ उनले भने ।