सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश सभा सदस्यलाई आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार बेलुकी सूचना जारी गरेर संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको हो । मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि शुक्रबार बिहान ११ बजेसम्मको समय तोकिएको छ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार शुक्रबार नै मुख्यमन्त्री नियुक्त गरेर शपथ गराउने तयारी छ । नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् ।
नेकपा र एमालेबिच सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्ने सहमति छ । एमालेले समर्थन फिर्ता लिएपछि शाह गत ३१ असारमा अल्पमतमा परेका थिए । प्रदेश सभाबाट विश्वासको मत पाउने अवस्था नभएपछि उनले बिहीबार पदबाट राजीनामा दिएका हुन्।