मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
शिवहरि घिमिरे काठमाडाैं
२o८३ श्रावण २९ शुक्रबार o७:३५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डिम्ब कारोबारमा जोडिएकी डा. नूतनले लिइन् मेडिकल काउन्सिलकै हुर्मत

स्पष्टीकरण लिन गएको टोलीले साढे तीन घण्टा कुर्दा पनि भेट्न पाएन 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o७:३५:oo

अवैध रूपमा नाबालिगको डिम्ब कारोबारमा जोडिएकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मा ठाकुरले अनुसन्धानका लागि पुगेको नेपाल मेडिकल काउन्सिलको टोलीलाई भेट्न र मौखिक स्पष्टीकरण दिन अस्वीकार गरेकी छिन् । बिहीबार काउन्सिलको टोली ग्वार्कोस्थित बी एन्ड बी अस्पतालको आइभिएफ सेन्टरमा पुगेको थियो । साढे तीन घण्टा कुर्दा पनि डा. नूतनले भट्न अस्वीकार गरेपछि टोली त्यसै फर्किएको हो ।

‘हामी अनुगमन र स्पष्टीकरणका लागि त्यहाँ पुगेका थियौँ, तर डाक्टर नूतनलाई साढे तीन घण्टा कुरे पनि उहाँ आउनुभएन, काउन्सिलजस्तो निकायको टोलीलाई बेवास्ता गर्नु राम्रो होइन, उहाँको आचरणबारे हामीले गम्भीर रूपमा अध्ययन अनुसन्धान गरिरहेका छौँ,’ काउन्सिलका व्यावसायिक आचरण तथा स्वास्थ्य समिति प्रमुख डा. अजयकुमार साहले भने, ‘अनुगमनमा जाँदा खबर गरेर जाने कुरा भएन, सिधै गएर फोन गर्दा उहाँ उपस्थित नै हुनुभएन, न त कुनै जवाफ नै दिनुभयो, उहाँले गरेको लापरबाहीबारे काउन्सिलले गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ ।’ 

अनुगमनका क्रममा डा. नूतनले सञ्चालन गरेको उक्त आइभिएफ स्वास्थ्य मन्त्रालयमा दर्तासमेत नभएको पाइएको छ । ०८१ मा दर्ता प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालयमा केही कागजात पठाए पनि प्रक्रिया पूरा नगरेपछि दर्ता नभएको भेटिएको हो । अनुगमन टोलीले डा. नूतनको कार्यालयमा समेत अनुगमन गरेको छ । आइभिएफसम्बन्धी सबै कागजात उनैले राखेकी छिन् । बिरामीको विवरणलगायत अन्य महत्वपूर्ण डकुमेन्ट कार्यालयमा नभेटिएको काउन्सिलले जनाएको छ । 

अनुगमनमा डा. साहसँगै काउन्सिलका कानुनी सल्लाहकार नारायण खनाल, प्रशासन अधिकृत सुनिता प्रजापति र कर्मचारी प्रदीप रिजालको टोली पुगेको थियो । टोली अस्पतालमा निर्देशक डा. कृष्णजंग कुँवरसँग कुराकानी गरेर फर्किएको थियो । अनुगमन टोलीका अनुसार निर्देशक कुँवरले अबको दुई–तीन महिनामा डा. नूतन र उनले सञ्चालन गरेको आइभिएफ हटाउने तयारी गरेको पनि जानकारी दिएका छन् ।

यसअघि काउन्सिलले १२ साउनमा उनलाई स्पष्टीकरण सोधेर पत्र काटेको थियो । तर, त्यसको चित्तबुझ्दो जवाफ नआएको भन्दै काउन्सिलले बोलाएरै सोध्ने तयारी गरेको थियो । सोहीअनुसार टोली अनुगमन र स्पष्टीकरणका लागि अस्पतालमै पुगे पनि डा. नूतनले भेट्न नमानेपछि अब कसरी मौखिक स्पष्टीकरण सोध्ने भन्नेबारेमा काउन्सिलले थप योजना बनाउँदै छ । यसअघि २१ साउनमा उनले आफूमाथि लागेका आरोप ढाकछोप गर्ने गरी शुक्रबार लिखित जवाफ पठाएकी थिइन् । तर, उक्त जवाफ काउन्सिललाई चित्त बुझेको छैन । 

‘हामी उहाँको विषयमा मौखिक स्पष्टीकरण त सोध्छौँ नै अन्य कागजात र घटनाबारे प्रहरीसँग सहायता लिएर अनुसन्धान पनि गरिरहेका छौँ,’ डा. साहले भने, ‘त्यति गम्भीर विषयमा उम्किन काउन्सिलले दिँदैन ।’ 

डिम्ब कारोबार र बिरामीलाई अन्याय गरेको पाइएपछि काउन्सिलले यसअघि ०७९ मा तीन महिनासम्म डा. शर्माको मेडिकल लाइसेन्स निलम्बनसमेत गरेको थियो । अल्का अस्पताल र नर्भिक अस्पतालमा काम गर्दा पनि उनी यस्तै मुद्दामा मुछिएकी थिइन् । अवैध रूपमा नाबालिगको डिम्ब कारोबारमा संलग्न देखिएपछि उनीमाथि जिल्ला प्रहरी कार्यालय ललितपुरले अनुसन्धान थालेको थियो । २१ साउनमा जिल्ला प्रहरी परिसर ललितपुरमा हाजिर भएकी उनलाई लगत्तै जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याई केहीबेरमै बयान सकाएर हाजिरी जमानीमा छाडिएको थियो । हाजिरी जमानीमा छाडिएकामा आलोचना हुन थालेपछि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रहरीसँग पनि काउन्सिलले सूक्ष्म विवरण मागेको छ । डा. नूतनले अवैध रूपमा नाबालिगको डिम्ब कारोबार गरेको प्रमाण बाहिरिएपछि अनुसन्धान थालिएको थियो । उनले बिचौलियामार्फत बालिकाहरूलाई प्रयोग गरेर डिम्ब कारोबार गरेका प्रमाणहरू प्रहरीले फेला पारिसकेको छ । डा. शर्माले गत १४ असारमा १६ वर्षीया नाबालिकालाई आर्थिक प्रलोभनमा पारी डिम्ब झिक्न इन्जेक्सन लगाइदिएकी थिइन् । इन्जेक्सनले नाबालिकाको स्वास्थ्यमा गम्भीर असर देखिएको थियो । असर देखिएपछि उनले उल्टै नाबालिकालाई झपारेकी थिइन् । इन्जेक्सनका कारण स्वास्थ्यमा समस्या देखिएपछि नाबालिकाले अभिभावकलाई जानकारी गराएपछि उक्त घटना बाहिरिएको थियो । डा. शर्मा बिचौलियामार्फत नाबालिकालाई प्रयोग गर्थिन् । उक्त घटनाका कारण नाबालिका डिप्रेसनमा समेत पुगेकी छिन् । 

नेपाल काउन्सिलका व्यावसायिक आचरण तथा स्वास्थ्य समिति प्रमुख डा. अजयकुमार साह भन्छन्–

हामी उहाँ (डा. नूतन)को विषयमा मौखिक स्पष्टीकरण त सोध्छौँ नै अन्य कागजात र घटनाबारे प्रहरीसँग सहायता लिएर अनुसन्धान पनि गरिरहेका छौँ । त्यति गम्भीर विषयमा उम्किन काउन्सिलले दिँदैन । अनुगमन र स्पष्टीकरणका लागि त्यहाँ पुगेका थियौँ, तर डाक्टर नूतनलाई साढे तीन घण्टा कुरे पनि उहाँ आउनुभएन, काउन्सिलजस्तो निकायको टोलीलाई बेवास्ता गर्नु राम्रो होइन, उहाँको आचरणबारे हामीले गम्भीर रूपमा अध्ययन अनुसन्धान गरिरहेका छौँ ।