साढे पाँच महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४औँ महाधिवेशन पक्षधर कांग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । देउवालाई विमानस्थलमा बाजागाजासहित नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । देउवाको पक्षमा नाराबाजीका साथै बाजागाजा, देउडादेखि लोकभाकासम्म घन्केको थियो । विमानस्थलबाट देउवा सिधै चुनदेवीस्थित १४औँ महाधिवेशन पक्षधरको सम्पर्क कार्यालय पुगेका थिए ।
चुनदेवीमा देउवाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरिएको छ । देउवाको नेमप्लेट राखिएको छ । जहाँ ‘शेरबहादुर देउवा’ सभापति लेखिएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाको बेग्लै कार्यकक्ष छ । सम्पर्क कार्यालय पुगेपछि नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए । ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको उनले दाबी गरे । अदालत जान आफू नडराएको पनि बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनु भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन । किनभने अहिलेसम्म ५० वर्ष काम गर्या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन,’ उनले भने ।
देउवाले अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए । ‘यो देशमा जनता छ । यो देशमा अदालत छ । सबैले जानेबुझेको छ । राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ !’ देउवाले भने । पक्राउ पुर्जी लिएर पक्राउ गर्न खोजेको विषयसमेत उनले निकाले । ‘हाम्रो खिलापमा मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए, तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो । यहीँ पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ,’ देउवाले भने, ‘सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो । तैपनि बदमासी गर्यो ।’
देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले पटक–पटक आफूहरूमाथि अनुसन्धान गरेको पनि बताए । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एकपटक आयो, केही छैन भन्यो । दोस्रोपटक आयो केही छैन भन्यो । उसलाई निकालिदियो । यतिसम्म बदमासीपूर्ण काम गरेको छ । तर, मलाई बदलाको भावना लिनुछैन,’ उनले भने ।
देउवाले गणतन्त्र कसैले उल्ट्याउन नसक्ने बताए । मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए । ‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र । मैले मात्रै चाहेर ल्याएको हो ? संविधानसभाले ल्याएको हो गणतन्त्र । मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन । नेपाली जनता सबैभन्दा ठुलो हो । जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ,’ उनले भने ।
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएँ
देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको दाबी गरेका छन् । ०३३ मा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेको पनि देउवाले स्मरण गरेका छन् । फेरि ४७ वर्षपछि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको उनले औँल्याएका छन् ।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु । ०३३ सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो । मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ,’ देउवाले बिहीबार जारी गरेको अपिलमा छ, ‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ । प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ । यस्तो नेपाल निर्माण गरौँ, जहाँ प्रत्येक बालकले निर्भीक सपनाहरू देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस्, र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस् ।’
कांग्रेस विवादबारे देउवा
देउवाले कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता भएको औँल्याएका छन् । सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण गर्नुपर्ने, संविधानको संरक्षण गर्ने र संशोधन गर्दा राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
‘अंकगणितीय रूपमा संसद्मा नेपाली कांग्रेस सानो–ठुलो भयो होला, तर ००७ देखि नेपाली राजनीतिक परिवर्तनको हरेक खुट्किलोको नेतृत्वकर्ता हो– कांग्रेस,’ देउवाले भनेका छन्, ‘अहिले कांग्रेसमा देखिएको असहमति र निराशा तुरुन्तै समाधान हुनुपर्छ । मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ । तसर्थ आमनेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदातालगायत आमनेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी हो, सोही नीतिअनुसार सबैको त्याग बलिदान र संघर्षलाई स्वीकार गरेर अघि बढ्न म अपिल गर्न चाहन्छु । नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’
संस्थापनले खोज्यो देउवाको अभिभावकीय भूमिका
कांग्रेस संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका खोजेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले देउवा उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
‘कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएकोमा हार्दिक स्वागत गर्दछ । यो बैठक उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ,’ बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा छ, ‘कांग्रेसको गर्विलो इतिहास निर्माणमा उहाँको भूमिका एवं लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गर्दछ । पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ ।’
देउवाले राष्ट्रिय भेलाको उद्घाटन गर्ने
१४औँ महाधिवेशन पक्षधरको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने भएका छन् । भेलाको उद्घाटन देउवाले गर्ने नेता प्रकाशशरण महतले जानकारी दिए । ‘उहाँले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोहीअनुसार हुन्छ,’ महतले भने । सामानान्तर गतिविधि गर्दै विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले शुक्रबार राष्ट्रिय भेला आह्वान गरेको हो । सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुने शुक्रबार उद्घाटन सत्रमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । भेला तीन दिनसम्म चल्नेछ ।
विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको फैसलाविरूद्ध देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरवलोकनको माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि १४औँ महाधिवेशन पक्षधर उत्साहित बनेको छ । देउवालाई स्वागत गर्न विमानस्थल पुगेका भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले सभापति देउवा नै भएको दाबी गरेका छन् । ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो,’ कोइरालाले भनेका छन् । उनले आफूहरू पार्टी एकताको पक्षमा रहेको दाबी पनि गरे । २९–३१ साउनमा भेला आयोजक समितिका संयोजक शशांक कोइरालाको सभापतित्वमा भेला हुँदै छ ।