भारतीय नवनियुक्त सेनाध्यक्ष धीरज सेठ नेपालको औपचारिक भ्रमणका क्रममा आइतबार आउने भएका छन् । गत १६ असारमा सेनाध्यक्षको कार्यभार सम्हालेपछि उनी पहिलो विदेश भ्रमणका रूपमा नेपाल आउन लागेका हुन् ।
उनको साथमा श्रीमती कोमल सेठ तथा भारतीय सेनाका अधिकारीहरू आउन लागेका छन् । नेपाल र भारतका सेनाध्यक्ष एक अर्को सेनाको मानार्थ प्रमुख हुने परम्पराअनुसार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी लगाउन र द्विपक्षीय वार्ताका लागि उनी आउन लागेका छन् । उनको पहिलो विदेश भ्रमण नेपालबाट सुरु हुनुलाई जानकारहरूले यो भ्रमण अर्थपूर्ण रहेको टिप्पणी गरेका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको जंगी अड्डाले बिहीबार पुष्टि गरेको छ । ‘प्रधानसेनापतिज्यूको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्षज्यू आइतबार चारदिने भ्रमणका क्रममा आउने तय भएको छ,’ सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले भने ।