मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण २९ शुक्रबार o५:४७:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बुद्ध, लुटेरा र चारवटा पात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o५:४७:oo

एकपटक महात्मा बुद्ध एउटा गाउँबाट अर्को गाउँ जाने क्रममा एउटा घना जंगल पार गर्दै थिए । संयोगवश सो दिन उनी एक्लै थिए । उनका शिष्यहरू कामविशेषले गाउँमै रोकिएका थिए । उनले सोही दिन अर्को गाउँमा पुगेर त्यहाँका आफ्ना भक्तजनलाई प्रवचन दिनु थियो । त्यसैले उनी अलि हतार–हतार हिँडिरहेका थिए । 

त्यत्तिकैमा त्यहाँ एउटा लुटेरा कतैबाट प्रकट भयो र उसले महात्मा बुद्धलाई रोकिन आदेश दियो । उसले भन्यो, ‘तिमी जहाँ छौ, त्यहीँ बस, अन्यथा म तिम्रो ज्यान लिनेछु ।’ उसको धम्की सुनेपछि महात्मा बुद्ध त्यहीँ रोकिए । उनले मुहारमा मन्दमुस्कान ल्याएर भने, ‘ठिक छ बालक, अहिले म तिमीले भनेबमोजिम रोकिएको छु । यदि मबाट कुनै गल्ती भयो भने तिमी मेरो ज्यान लिन पनि सक्छौ । तर, के तिमी मलाई एउटा सानो सहयोग गर्न सक्छौ ?’ बुद्धको कुरा सुनिसकेपछि सो लुटेराले भन्यो, ‘त्यस्तो के काम हो ? छिटो भनिहाल, मसित कुनै फाल्तु समय छैन ।’ लुटेराको कुरा सुनेपछि बुद्धले मन्दमुस्कानसाथ भने, ‘बालक, के तिमी मलाई ऊ त्यो रुखबाट चारवटा पात टिपेर ल्याइदिन सक्छौ ?’ सो लुटेराले बुद्धले भनेअनुसारकै रुखबाट चारवटा पात टिपेर ल्याइदियो । उसले पात टिपेर ल्याइसकेपछि बुद्धले भने, ‘भइगो बालक, तिमी यी पात जहाँबाट ल्याएको हो, त्यहीँ लगेर जोडिदेऊ । मलाई अहिले यसको आवश्यकता परेन ।’ 

बुद्धका कुरा सुनेपछि झनक्क रिसाएर गर्जिँदै लुटेराले भन्यो, ‘मगज खुस्क्यो कि क्या हो ? रुखबाट टिपेको पात फेरि त्यहीँ कसरी जोडेर राख्न सकिन्छ । यस्ता हावादारी कुरा गरेर मलाई अलमल्याउन नखोज ।’ उसका कुरा सुनिसकेपछि मन्दमुस्कानसाथ बुद्धले भने, ‘रुखबाट टिपेको यो पात जोड्न नसकेजस्तै मान्छेको जीवन पनि लिइसकेपछि जोड्न या ब्युँताउन सकिन्न । अनि, आफूले गर्न नसक्ने वा लिइसकेपछि फिर्ता दिन नसकिने ज्यान लिन तिमी किन खोज्दै छौ ? तिमीले यस्तो अधिकार कसरी पायौ ?’ बुद्धका यस्तो भनाइ सुनेपछि लुटेराका आँखा खुले । ऊ तत्कालै बुद्धको शरणमा पर्‍यो र लुटपाट र हिंसा त्यागेर बुद्धसितै हिँड्न थाल्यो ।