तेस्रो एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम रोयल वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ । लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका टोलीका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने आयोजकले जनाएको छ ।
लिगमा कर्णाली यसविससँगै ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जासँगै सुदूरपश्चिम पनि थप भएको छ । नयाँ टोलीले सुदूरपश्चिमका दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडीलाई व्यावसायिक मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । सुदूरपश्चिमको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारी रहेको छ ।
स्वामित्व लिएका सञ्जीप शाहीले ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडी पहिचान र विकास गर्दै अग्रसर हुने जनाएका छन् । खेलाडीहरूलार्ई राष्ट्रियस्तरसम्म पुर्याउने उनले बताए । ‘हाम्रो लक्ष्य सुदूरपश्चिमको ग्रामीण र दुर्गम क्षेत्रका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरसम्म पुर्याउने हो,’ शाहीले भने ।
यसैगरी लिगकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्नेभी चापागाईंले तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताइन् । ‘इडब्लुभीको सुरुवातदेखि नै सुदूरपश्चिमका उत्साही भलिबलप्रेमी दर्शकमाझ पुग्ने योजना थियो । यस क्षेत्रमा भलिबल खेलको विकासमा रहेको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै लिगसँग जोड्ने हाम्रो परिकल्पना रहँदै आएको छ,’ उनले भनिन् ।
आगामी असोजमा लिग
नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल प्रतियोगिता इडब्लुभिएलको तेस्रो संस्करण आगामी ८ देखि १७ असोजसम्म काठमाडौंमा आयोजना हुनेछ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिका अनुसार लिग राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । कभर्डहलमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका प्रतियोगिता सफलतापूर्वक आयोजना भएकाले तेस्रो संस्करण काठमाडौंमा गर्न लागेको आयोजकले जनाएको छ ।
एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित इडब्लुभिएलले नेपाली महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ । पहिलो संस्करण काठमाडौंमा र दोस्रो संस्करण पोखरामा भएको थियो । दोस्रो संस्करणका केही खेल तथा फाइनल भने प्राविधिक कारणले काठमाडौंमा सम्पन्न गरिएको थियो । साबिक विजेता कर्णाली यसविसले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो ।
प्रतिभाशाली खेलाडी पहिलो प्राथमिकतामा
नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिमले लिगमा सहभागिता जनाउँदा स्थानीय प्रतिभाशाली खेलाडीलाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । ‘सुदूरपश्चिमको पहिचान र क्षमतालाई प्रतिनिधित्व गर्ने टोली निर्माण हुनेछ,’ शाहीले भने, ‘युवा महिलाका लागि भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्ने उद्देश्य रहेको छ ।’
नयाँ स्वामित्व समूहको आगमनसँगै लिगको राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउँदै सुदूरपश्चिमलाई महिला भलिबलको व्यावसायिक संरचनासँग अझ नजिकबाट जोड्ने सिइओ स्नेभीले बताइन् ।